गोदावरीमा यसरी जुट्दैछन् एमालेजन

गोदावरीमा यसरी जुट्दैछन् एमालेजन

शव्द: पुष्पलाल पाण्डे, तस्विर: पुष्प केसी

वरिपरी चिलाउने र उत्तिसका हरिया रुखहरु,बादलले छपक्क छोपिएको फूलचोकी डाँडो अनि चराहरुको चिरिबिरी ! यहि मनोरम वातावरणका वीच गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको प्रथम विधान महाधिवेशन भोलि बिहानदेखि शुरु हुँदैछ । आम नागरिकको घर घरमा दशैँले छपक्कै छोपेको बेला एमाले कार्यकर्ताहरु विधान महाधिवेशनको उत्सव मनाउन काठमाण्डौ ओइरिइरहेका छन् ।

भोलि शुक्रवार मध्यान्ह अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजार प्रतिनिधिले भाग लिनेछन् । यसका लागि सनराइज हललाई सजाउने काम द्रुत गतिमा भइरहेको छ । सनराइज हल एमाले सरकारको पहलमा निर्माण सम्पन्न भएको र उक्त हलमा पहिलो पटक एमालेले नै कार्यक्रम गर्न थालेको सँयोगसमेत जुरेको छ । हलको मुख्य कक्षमा तीन हजार मानिस बस्ने क्षमता रहेको छ भने दायाँ बायाँका दुई हलमा बाँकी प्रतिनिधिहरुले बसेर एमालेको विधान,नीति र विधिमा बहस गर्ने छन् ।

 

बाटो कि खाल्टो ?
गोदावरी पुगेपछि त्यहाँको वातावरणले जति आनन्दको अनुभूति गराउँछ, त्यति नै त्राहित्राहि पार्छ सातदोबाटोदेखि गोदावरीसम्मको यात्राले । काठमाण्डौको मुख्य शहरबाट ८ किलोमिटर टाढा रहेको गोदावरी पुग्ने सडक खाल्टा खुल्टीमा बनेको हो कि खाल्टा खुल्टीले सडक पुरेको हो पत्तो नै लगाउन नसकिने खालको छ । सातदोबाटोबाट सडकमा उडेको धुलोका वीच सभास्थलसम्म पुग्दा एमाले कार्यकर्ताहरुले मनमनै भन्नेछन्- सुखी नेपाली,सम्बृध्द नेपाल ! अनि सडक सन्जालले नछोएका जिल्लाबाट आउने नेताहरुले यो सडकमा यात्रा गरेपछि आफ्नो जिल्लामा सडक नै नपुगोस् भन्ने कामना नगरुन्-एमालेजनलाई शुभकामना ।

बसुँबसुँ लाग्ने हल
यसै त गोदावरी, शहरको मन बहलाउने ठाउँ, त्यसमाथि अत्याधुनिक सेवासहितको सनराइज हल,साँच्चिकै बसुँ बसुँ लाग्ने खालको छ । हलभित्रको सजावट हेर्दा सबै प्रतिनिधिहरुका आँखा पर्नेगरी राखिएको जनताको बहुदलीय जनवाद भन्ने व्यानर साँच्चै सुन्दर देखिन्छ । हलमा राखिएका कुर्सी, भित्र प्रकाशको व्यवस्था अनि हलको भित्री कक्ष वरिपरी राखिएका राउटर अर्थात एमालेले प्रथम विधान महाधिवेशन गर्ने सभाहल सुविधासम्पन्न छ ।

सकिएको छैन सबै काम
हाम्रो सँस्कारको रुपमा रहेको रात परेपछि तात्ने नानीदेखिको बानी सभाहलमा पनि यत्रतत्र देखिन्छ । जनआस्थाको क्यामरा हलसम्म पुग्दा तीन वटामध्ये दुईवटा हलमा मात्र कुर्ची व्यवस्थापन गरिएको छ । एउटा हल त एमालेका नेता कार्यकर्ता होइन भेडा बाख्रा थुन्ने खोरजस्तै देखिन्छ । हल श्रृङगार गर्ने सामानहरु यत्रतत्र छरिएका छन् । मार्क्स र लेनिनको फोटो भुइँमा लडेको छ । हँसिया र हथौडाको आकारमा काटिएका कैयौं आकृति भुइँभरि यत्रतत्र छरिएका छन् ।


के भन्छन् व्यवस्थापक ?
एमाले नेताहरु भने व्यवस्थापनको काम सम्पन्न भएको बताउँछन् । एमाले नेता खिमलाल भट्टराईले व्यवस्थापनको काम करिव करिव सम्पन्न भएको र बाँकी काम रातभरिमा सकाएर भाेलि बिहानसम्म सनराइज हललाई बेहुलीजस्तै सिँगार्ने बताउँछन् । भट्टराईका अनुसार सबै प्रतिनिधिहरुका लागि कुर्सीको व्यवस्थापन भइसकेको छ । प्रतिनिधि, स्वयंसेवकसहित सबैका लागि खाना खाने व्यवस्था हलमै रहेको छ ।

टिप्पणीहरू