विधान महाधिवेशनको अघिल्लो दिन बादलले दिएको विवरण

विधान महाधिवेशनको अघिल्लो दिन बादलले दिएको विवरण

भोलिदेखि शुरु हुने नेकपा एमालेको विधान महाधिवेशनसम्बन्धी तयारीबारे जानकारी दिन पूर्वमाओवादी नेता तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले विज्ञप्ती जारी गर्नुभएको छ । विधान महाधिवेशनमा व्यवस्थापनको कमाण्ड सम्हाल्नुभएका बादलले विज्ञप्तीमार्फत तयारीका सबै काम पूरा भएको जानकारी पनि दिनुभएको छ ।

विज्ञप्तीमा प्रतिनिधि बस्ने सीट व्यवस्थापनदेखि खानपानसम्मका तयारी मिलाइएको जनाइएको छ । महाधिवेशनमा पदाधिकारी र स्थायी कमिटीका नेताहरुलाई मञ्चमा र प्रतिनिधिका लागि हलमा बस्ने गरी कुर्सी मिलाइएको छ ।

महाधिवेशनका लागि सात हजार क्षमताको हल निर्माण गरिएको भन्दै विज्ञप्तीमा मूल सभाहलमा ३ हजार र दायाँ-बायाँ खाली हलहरुमा एक-एक हजार प्रतिनिधिका लागि बस्ने व्यवस्था मिलाइएको पनि उल्लेख गरिएको छ । त्यस्तै,हलको दुवैतर्फका प्यासेजको माथिल्लो खालि भागमा टेन्ट टाँगेर थप एक-एक हजार क्षमताका हल निर्माण गरिएको पनि बताइएको छ ।

विज्ञप्तीमा महाधिवेशनका सहभागीलाई खाना र खाजाको सेड्युल पनि सार्वजनिक गरिएको छ । जसअनुसार बिहानको खाजा र खानाको व्यवस्था महाधिवेशन हलमै गरिएको छ । सस्तो, हाइजेनिक र समयमै खुवाउन सक्ने क्याटरिङलाई खाजा र खानाको जिम्मा दिइएको बताइएको छ ।

बिहान ९ देखि ११ बजेसम्म प्रतिनिधिहरुले खाना खाइसक्नुपर्ने छ । दिउँसो खाजा भने प्याकेटको उपलब्ध गराउने बादलको विज्ञप्तीमा उल्लेख छ । साँझको खाना प्रतिनिधिहरुले आफू बसेकै ठाउँमा आफैंले व्यवस्था गर्नुपर्ने छ । बासस्थानका लागि सम्पर्क मन्चको समन्वयमा प्रदेश कमिटीलाई मिलाउने जिम्मा लगाइएको छ ।

त्यस्तै,निजी साधन नहुने प्रतिनिधिलाई सातदोबाटोबाट झण्डासहितका बस मिलाइएको विज्ञप्तीमा भनिएको छ । अनेरास्ववियु,युवा संघ,जिफन्ट, खेलकुद महासंघका दुई सय कार्यकर्तालाई स्वयंसेवकका रुपमा खटाउने व्यवस्था पनि मिलाइएको छ ।

एमालेको विधान महाधिवेशन शुक्रवा र शनिवार ललितपुरको गोदावरीमा सम्पन्न हुँदैछ । माओवादीमा लामो समय संगठन विभाग प्रमुखको जिम्मेवारी निभाउनुभएका बादलको संयोजकत्वमा एमालेले मूल व्यवस्थापन समिति गठन गरेको छ ।

बादलको विज्ञप्तीमा एमाले नेतृत्वको सरकारले निर्माण गरेको सनराइज सम्मेलन केन्द्रमा महाधिवेशन हुन लागेकोमा गौरव महसुस भएको पनि भनिएको छ ।

टिप्पणीहरू