जातेजाते सेनापतिद्वारा अचम्मको ज्यादती

जातेजाते सेनापतिद्वारा अचम्मको ज्यादती

भदौ २५ गतेदेखि अवकास लिनुभएका प्रधान सेनापति पूर्णचन्द्र थापाले आगामी एक वर्षसम्मका लागि विभिन्न महत्वपूर्ण निर्णय लिएको खुलासा भएको छ । घर फर्किंदै गर्दा थापाले आफूनिकट जर्नेलहरुको बढुवा सिफारिसदेखि शान्तिसेनामा जानेको नाम टुंगो लगाउनेसम्मका निर्णय गरेको पाइएको हो ।

गणपतिको सरुवा,बढुवामा पनि थापाले हालका प्रधानसेनापति प्रभुराम शर्माको अधिकार कुण्ठित हुनेगरी पहिले नै निर्णय गरेको सैनिक स्रोतले बताएको छ । नेपाली सेनाको ऐतिहासिक परम्परा मिचेर बन्दोबस्ती कार्यदल गणमा लोकबहादुर कटुवाललाई गणपति बनाउन थापाले यसअघि नै सिफारिस गर्नुभएको छ ।

यसअघि पिपा गोश्वारा नामले चिनिने डिल्लीबजार उकालोस्थित उक्त गण अहिले बन्दोबस्ती कार्यदल गणका रुपमा रहेको छ । उक्त गणमा तामाङ जातिबाट मात्रै गणपति बनाउने सेनाको ऐतिहासिक परम्परा मिचेर थापाले कटवालसँगको विशेष सम्बन्ध भएकाले उनलाई गणपति बनाएको दाबी गरिएको छ ।

त्यसो त,सैनिक वृत्तमा कटवालको उति राम्रो छवि बनेको छैन । उनी आर्थिक अनियमितताका घटनामा बारम्बार जोडिएर आउने सैनिक अफिसर हुन् । सिपाहीबाट सेनामा प्रवेश गरेका उनको बदलिँदो आर्थिक हैसियतलाई लिएर सेनाकै मान्छेहरुले प्रश्न उठाउने गरेका छन् । विवादित छविका कटवाललाई तामाङ जातिको छुट्टै परम्परा भएको कार्यदल गणमा सिफारिस गरेपछि आर्थिक अनियमिततामा थप चर्चा गर्न थालिएको हो ।

बन्दोबस्ती गण सेनाको महत्वपूर्ण जिम्मेवारी भएको ठाउँका रुपमा चिनिन्छ । सेनामा कुनै कार्यक्रम हुँदा सामान सप्लाई गर्ने, व्यवस्थापन मिलाउने काम बन्दोबस्ती गणले गर्ने गर्छ । आर्थिक चलखेल गर्न मिल्ने भएकाले नै कटुवाललाई त्यहाँ पठाईएको आरोप थापामाथि लागेको छ ।

इश्वरकान्त मैनालीलाई दुई तारे जर्नेलमा बढुवा हुनबाट छेक्ने निर्णय पनि थापाले गराइसक्नु भएको छ । मैनाली दिल्ली बसेर हालसालै नेपाल फर्किएका जर्नेल हुन् । यता एमाले नेता महेश बस्नेतसँग निकट सम्बन्ध रहेको भनिएका उपरथी अनन्त कार्कीको पदावधि थप गर्नका लागि पनि थापाले सिफारिस गरेको पाइएको छ । उनलाई दुई तारे जर्नेलमा म्याद थप्न थापाले अवकासअघि नै सिफारिस गर्नुभएको हो ।

तत्कालीन प्रधानसेनापति थापाले समयाअवधिअघि नै महत्वपूर्ण निर्णय गरेपछि प्रधानसेनापति प्रभुराम शर्मा एक वर्ष हस्ताक्षर गरेर कुर्सीमा बस्ने मात्रै भूमिकामा सीमित बनेको सैनिक वृत्तमा चर्चा चल्न थालेको छ ।

यता,छाउनी हस्पिटलबाट बिरामी डिस्चार्ज गरेर अर्को हस्पिटलमा रिफर गर्ने अनि बालाजुको ट्रान्जिट क्याम्पमा राखेर रासनको पैसा खाने कटवाललाई बन्दोबस्तीको हाकिम बनाएर पठाउनुको रहस्य बुझ्न सकिएको छैन ।

काठमाडौँमा ठकुरी,राणाहरुको बिहेमा बँदेलको मासु सप्लाई गर्ने थापाका ससुरा तथा कम्प्युटर सप्लाइको काम गर्ने साला अहिले करोडौंको गाडी र भव्य महलको मालिक बनेका छन् । उनै राजन रायमाझीले बूढानिलकण्ठस्थित स्विमिङ्ग पुलसहितको भव्य बंगला भर्खर १८ करोडमा बेच्न लागेका छन् ।

टिप्पणीहरू