एसिड प्रहारका फरार अभियुक्त पक्राउ

एसिड प्रहारका फरार अभियुक्त पक्राउ

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि वीरगञ्जमा समातिएका छन् । वीरगञ्ज महानगरपालिका २, छपकैया बस्ने रौतहट परोहा गाउँपालिका ७, घर भएका १९ वर्षीय समशाद मियाँ पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा त्यतिबेलाका १७ वर्षीय मियाँलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृहमा पठाएको थियो । कोभिड १९ प्रकोपका कारण २०७६ चैत ११ गते सोही अदालतको आदेशले संरक्षकको जिम्मा लगाइएको थियो ।

जिल्ला अदालत पर्साको २०७७ फागुन २६ गतेको अर्को फैसलाले बाँकी कैद पाँच महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी एक वर्ष कैद सजाय भएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले स्थानीय इदगाहमा फेला पारेको हो ।

मियाँले २०७६ भदौ २० गते बिहान वीरगञ्ज महानगरपालिका ४ स्थित गणेशमान चोकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा मियाँको संलग्नता रहेको थियो ।

टिप्पणीहरू