मर्ने त मरिगए,बाँचेकैले तिनको नाममा भत्ता खाए

मर्ने त मरिगए,बाँचेकैले तिनको नाममा भत्ता खाए

स्वर्गवास भइसकेका बृध्दबृध्दाको नामको भत्ता रकम बुझेको आरोपमा चार जना बहालवाला र एक जना अवकाशप्राप्त कर्मचारीविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निधन भएकाको सामाजिक सुरक्षा भत्ता किर्ते गरेर बुझेको आरोपमा उदयपुरका चार र एक जना अवकाशप्राप्त कर्मचारीलाई मुद्दा लागेको हो । मुद्दा दायरलगत्तै निलम्बित भएकाहरुमा मालपोत कार्यालय,उदयपुरका नायव सुव्बा केशवप्रसाद आचार्य,रौतामाई गाउँपालिका ७ को वडा सचिवमा कार्यरत खरिदार लोकेन्द्र कार्की, रौतामाई गाउँपालिका कार्यालयका अधिकृत माधवप्रसाद खतिवडा र तथ्याङ्क कार्यालय,उदयपुरका खरिदार विशाल सुन्दास छन् ।

त्यसैगरी अवकाशप्राप्त अधिकृत पुष्पराज सिग्देलविरुध्द पनि मुद्दा दायर गरिएको छ । आरोपित सबै उदयपुरको साबिक रामपुर ठोक्सिला गाउँ विकास समितिमा विभिन्न समयमा कार्यरत थिए । उनीहरुले एक दशकदेखि मृत्यु भइसकेका व्यक्तिको नाममा किर्ते गरेर सामाजिक सुरक्षा भत्तावापतको रकम निकासा गरी दुरुपयोग गरेका हुन् ।

आयोगले आरोपितहरुले रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. २०६३/०६४ देखि आ.व. २०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्तापश्चात् निजहरुको नामावली,सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईसँग मिलाएर नियमित रुपमा अनियमितता गरेको आरोप लगाएको छ ।

उनीहरुले मृतकको कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो नगरी मृतक लाभग्राहीहरु र दोहोरो नामको कोभरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६ लाख ४० हजार पाँच सय रुपैयाँ हिमामिना गरेको देखिन आएको बताइन्छ । आरोपितहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम कसुर गरेको आयोगको ठहर छ ।

आरोपितमध्ये आचार्यले मात्रै ९ लाख ९० हजार पाँँच सय रुपैया हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजांय माग गरिएको छ ।

त्यसैगरी कार्कीले ७८ हजार रुपैयाँ हिनामिना गरेकाले उनीविरुद्ध सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।

अर्का आरोपित खतिवडाले ३ लाख १४ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ ।

आरोपित सुन्दासविरुध्द ८२ हजार रुपैयाँ हिनामिना गरेको देखिन आएकाले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय माग गरिएको छ ।

आरोपित सबैविरुद्ध उक्त ऐनको दफा १७ बमोजिम बिगो असुलउपर गराउने मागदाबीसमेत छ । अवकाशप्राप्त सिग्देलविरुद्ध १ लाख ७६ हजार हिनामिना गरेको ठहरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायँ माग गरिएको हो ।

आयोगले निजहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवम् दफा ३५ बमोजिम विशेष अदालतमा अस्ति आरोपपत्र दायर गरेको थियो ।

टिप्पणीहरू