हटाइने सूचीमा ९२९ पदाधिकारी

हटाइने सूचीमा ९२९ पदाधिकारी

पुस ५ को संसद विघटनपछि ओली सरकारद्वारा नियुक्त ९२९ को पद क्रमशः जाँदै छ । अघिल्लो साता मात्र ओली कार्यकालमा नियुक्त १२ राजदूत एकैपटक फिर्ता बोलाइँदा अहिले २३ राजदूतावास रिक्त छ ।

परराष्ट्र सेवाका करियर डिप्लोम्याट कृष्णप्रसाद ढकाल युएई, अमृतबहादुर राई राष्ट्रसंघीय स्थायी नियोग न्यूयोर्क, गणेशप्रसाद ढकाल थाइल्याण्ड, तापस अधिकारी पाकिस्तान, मणिप्रसाद भट्टराई स्वीट्जरल्याण्ड, भृगु ढुंगाना क्यानाडा, दीपक अधिकारी फ्रान्स, रामकाजी खड्का जर्मनी, दुर्गाप्रसाद भण्डारी कुवेत र गेहेन्द्र राजभण्डारी बेल्जियमसहित २३ वटा दूतावास रिक्त छन् । क्याबिनेट विस्तारमा विलम्ब हुँदा त्यहाँ तत्काल कसलाई पठाउने टुंगो लागिसकेको छैन ।

यसबीच, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मातहतको समाजकल्याण परिषद्बाट सात जनाले सामूहिक राजीनामा दिएका छन् । गत वर्ष साउन १३ गते ओलीको कार्यकालमा नियुक्त सातै जनाले १४ महिना नबित्दै सचिव यामकुमारी खतिवडामार्फत बुझाएको राजीनामा सोमबारको क्याबिनेटले स्वीकृत गरेको छ ।

नेपाल स्काउटमा नियुक्ति पाएका जेभियर कलेजका साहुजी लोकबहादुर भण्डारी स्पष्टिकरण सोधिनेमा परेका छन् । सोमबार मात्र युवा तथा खेलकुद मन्त्रालयले मातहतका नियुक्ति उल्टाउने प्रक्रिया प्रारम्भ गरेको छ । स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषद्,राष्ट्रिय युवा परिषद र युवा तथा स्वरोजगार कोषमा नियुक्ति पाएकालाई हटाउने प्रक्रियाअन्तर्गत मन्त्रालयले क्याबिनेटमा प्रस्ताव पठाएको छ ।

कानुनी प्रक्रिया पूरा नगरी हटाइँदा हितेन्द्रदेव शाक्य,देवी ज्ञवाली झैं अदालतको ढोका ढक्ढकाउन जाने हुँदा प्राकृतिक न्यायको सिद्धान्तबमोजिम सफाइको मौका दिन लागिएको हो । खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र स्वरोजगार कोषका कल्याण रोकाले जिम्मेवारी पूरा नगरेको, सरकारको नीति निर्देशन नमानेको कारण देखाउँदै मन्त्रालयले लिखित स्पष्टिकरण मागे पनि तीनै जनाले जवाफ नदिएकोले मन्त्रिपरिषदबाटै स्पष्टिकरण सोध्न भनिएको छ ।

मन्त्रालय स्रोतका अनुसार,मन्त्रिपरिषद्बाट नियुक्त भएका तीनै जनालाई मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधेर हटाउने प्रक्रिया अघि बढेको छ । यसअघि यसै गरी स्पष्टीकरणको पत्र काट्दा रेलका हाकिम गुरु भट्टराई राजीनामा दिएर बाटो लागिसकेका छन् । यता, गोरखापत्र संस्थानबाट (मोही माग्ने ढुंग्रो लुकाउने) कृष्णमुरारी भण्डारी राजीनामा दिएर हिँडेसँगै त्यहाँ कार्यकारी अध्यक्ष बनाएर विष्णु सुवेदीलाई खटाइएको छ ।

कृषिमा काण्डवाला

सामान्यतया घर जान दुई तीन महिना अवधि बाँकी रहेका कर्मचारी चलाइँदैनन् तर कृषिमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले अबको दुई महिनापछि अनिवार्य अवकाश पाउन लागेका सहसचिव उपेन्द्र रायलाई मन्त्रालयमा तानेर त्यहाँ मतिना वैद्यलाई खटाएका छन् ।

वैद्य सोही विभागमा हुँदा चिनी काण्डमा परेकी थिइन् । भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो । सोही अखाद्य अर्थात् खानै नमिल्ने चिनीलाई खान योग्य भन्दै प्रमाणित गरिदिन खाद्य प्रविधि तथा गुण नियन्त्रणको साँचो सुम्पिएको हो । उनी यो काण्डमा डामिएर कर्णाली प्रदेशतिर सरुवा भए पनि खटाएको ठाउँमा नगई बसेकी थिइन् ।

टिप्पणीहरू