​हँसाउने अभियान

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केही समयअघि भन्नुभएको थियो, कम्युनिष्टको शासन आयो भने नेपाली जनताले रुन पनि पाउने छैन । उहाँले यो कुरा कसरी भन्नुभएको हो थाहा छैन । किनभने कम्युनिष्टको शासनमा रुन नपाएको देश कुन हो कसैलाई थाहा छैन । अझ साँच्चै भनुँ भने कट्टर कम्युनिष्ट शासन भएको देशमा जनता झन् मज्जाले रुन पाइरहेका छन् । अझ रोइ नै रहेका छन् भन्दा पनि फरक नहोला । 

सायद कम्युनिष्ट शासन आए जनताले रुन नपाउला भनेरै होला, अहिले कांग्रेस जनतालाई हँसाउने काममा लागिरहेको छ । जसरी हुन्छ जनतालाई हँसाउनु नै अहिले कांग्रेसको प्रमुख काम भएको छ । कांग्रेसका नेता जता पुग्छन् त्यतै जनता हँसाउने काम गर्छन् । अहिले चुनावको मौसम छ, कांग्रेसका नेताहरूले जहाँ भाषण दिए पनि जनता हाँसिरहेका हुन्छन् । जनता हँसाउने यो अभियानको नेतृत्वचाहिँ कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिनुभएको देखिन्छ । उहाँ निर्वाचन आचारसंहिता तोड्दै हेलिकोप्टर चढेर जिल्लातिर पुग्नुहुन्छ, अनि भन्नुहुन्छ– कानुन कडा रूपमा कार्यान्वयन गर्छु । उहाँले यसो भन्नुभएपछि हाँस्नुपरेन त ?

६४ सदस्यको सरकार छ । तर, प्रधानमन्त्री भन्नुहुन्छ – राष्ट्रिय ढुकुटी बलियो पार्नुपर्छ । अब नहाँसेर भो ? राजधानी काठमाडौंको सडक धुलाम्ये भएर हिँड्न गाह्रो भइरहेको छ तर प्रधानमन्त्रीले लुक्ला गएर भन्नुभयो – सोलुदेखि सुर्केसम्मको सडक दुई वर्षमा कालोपत्रे बनाइदिन्छु । अब नहाँसेर भो ? 

भाषण सुन्ने फुर्सद नभएका मानिस घरमै बसी बसी हाँसिरहुन् भनेर कांग्रेसले घोषणापत्र पनि जारी गरेको छ । अब कांग्रेसको घोषणापत्र पढेर घरमै बसीबसी हाँस्न पाउने वातावरण जनतालाई प्राप्त भएको छ । कम्युनिष्टले भए रुनसम्म पनि दिने थिएन । कांग्रेसले घोषणापत्रैदेखि हँसाउन थालेको छ । धन्यवाद कांग्रेस !  

टिप्पणीहरू