मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

‘मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ अभियान’ मा व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

मुख्यमन्त्री कार्यालयबाट सोझै सञ्चालित उक्त अभियानमा साइकल खरिद गर्दा अनियमितता भएको आशंकामा अख्तियारले छानबिनका लागि कागजात नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

‘मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित कार्यक्रममा साइकल खरिद गर्दा अनियमितता भएको भन्ने उजुरीका आधारमा आयोगको बर्दिबास टोलीले कागजात नियन्त्रणमा लिएको हो । अहिले अनुसन्धानकै क्रममा भएकाले थप जानकारी दिन सकिएन’, भण्डारीले भन्नुभयो । बर्दिबासबाट कागजात काठमाडौँ झिकाएर तत्काल अनुसन्धान अघि बढाइने पनि उहाँले बताउनुभयो ।

यसअघि विभिन्न सञ्चार माध्यममा अभियानमा चरम आर्थिक अनियमितता भएको समाचार सार्वजनिक भएको थियो । त्यसैलाई आधार मानेर आयोगले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । समाचारमा आइसकेकाले आयोगले त्यसैलाई उजुरीका रुपमा ग्रहण गरेर अनुसन्धान थालेको भण्डारीको भनाइ छ ।

प्रदेश सरकारले २०७६ असार १६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २ सय ६२ वटा विद्यालयलाई उपलब्ध गराएको थियो । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा समेत उक्त साइकल खरिदमा अनियमितताको आशंका गरिएको छ ।

टिप्पणीहरू