२४ घण्टापछि बालिकाको शव उठाइयो

२४ घण्टापछि बालिकाको शव उठाइयो

खोलाले बगाएर मृत्यु भएकी मकवानपुरको राक्सिराङ गाउँपालिका ६ दौडीडाँडाकी निशा थिङको शव २४ घण्टापछि खोलाबाट उठाइएको छ ।राक्सिराङ ८ देविटारस्थित श्री आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिङसहितका विद्यार्थीलाई मंगलबार दिउँसो १ः३० बजे खोलाले बगाएको हो ।

उनको शव बुधवार दिउँसो मात्रै जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले सर्जमिन मुचुल्का बनाएर उठाएको छ ।  थिङको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको ८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले जानकारी दिनुभयो ।

विद्यालय नजिकैको जिर्खी खोला तरेका चार जनामध्ये थिङको शव विद्यालयभन्दा ७ सय मीटर तल बगरमा फेला परेको थियो । सबैलाई खोलाले बगाए पनि थिङबाहेकका विद्यार्थीहरु सकुशल फर्केका थिए ।

विद्यालय प्रशासनको कमजोर निगरानीका कारण विद्यालय समयमै घटना भएको भन्दै मृतकका आफन्त र स्थानीयले विरोध जनाएपछि शव नउठेको हो । आफन्तजनले स्थानीय शिक्षकलाई कुटपिटसमेत गरेको बताइएको छ ।

यसैबीच स्थानीयवासी, आफन्तजनसँग मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत उपलब्ध गराउने र गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि शव उठेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेसलगायत राजनीतिक पार्टीहरुले विद्यालय प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै सत्यतथ्य छानबीनको माग गरेका छन् ।

टिप्पणीहरू