क्यानाडामा नजरबन्द हाकिमको चीनमा भव्य स्वागत

क्यानाडामा नजरबन्द हाकिमको चीनमा भव्य स्वागत

क्यानाडामा झण्डै तीन वर्षको नजरबन्द जीवन बिताएकी हुवावेइ कम्पनीकी प्रमुख वित्त नियन्त्रक तथा हाकिम मङ वानचौलाई चीनमा भव्य स्वागत गरिएको छ । अदालतको आदेशपछि नजरबन्द मुक्त भएर स्वदेश फर्किएकी मङको सेन्जन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

हुवावेइ कम्पनीको संस्थापककी छोरीसमेत रहेकी मङ शनिबार साँझ चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइनाको विशेष विमान चढेर हुवावेइको प्रधान कार्यालय रहेको सेन्जन पुगेकी हुन् । उनको भव्य स्वागतको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

शक्ति र विजेताको प्रतिक रातो रंगको पोशाक लगाएकी मङले आफूलाई एक हजारभन्दा बढी दिनको कष्टपूर्ण नजरबन्दीको जीवनबाट मुक्त गराएकोमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी जिन पिङ्गप्रति विशेष आभार व्यक्त गरेकी छन् ।

४९ वर्षीया मङलाई सन् २०१८ को डिसेम्बरमा अमेरिकाले लगाएको आरोप र वारेन्टमा भान्कुबर विमानस्थलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई क्यानाडाको भान्कुवरस्थित उनको निवासमा झण्डै तीन वर्ष नजरबन्दमा राखिएको हो ।

अमेरिकाले हुवावेइको पछिल्ला दूरसञ्चारसम्बन्धी प्रविधिमा अमेरिका र पश्चिमा राष्ट्रहरुको जासुसी गर्ने विशेष उपकरण प्रयोग गरेको समेत आरोप लगाउने गरेको छ ।

त्यसैगरी मङले सन् २०१३ मा इरानमा दूरसञ्चार उपकरणको कारोबारमा एचएसबीसी बैंकलाई झुठो व्यहोरा उपलब्ध गराएर बैंक ठगी गरेको गम्भीर आरोपसमेत लगाएको छ ।

टिप्पणीहरू