‘मिलेर पैसा उठाएको होइन,बरु मलाई नै सिध्याउन लागेका छन्’

‘पत्रकारसँग मिल्दै पैसा उठाउने यी प्रहरी’ शीर्षकमा जनआस्था अनलाइनमा हिजो आएको समाचारप्रति हेल्लो सरकारमा उजुर हाल्दाहाल्दै आजित भएर माल्टा जान कस्सिएका चितवने “पत्रकार” भनिएका प्रनेश थापाले प्रतिक्रिया जनाएका छन् । उनले समाचारमा आफूलाई अनावश्यक रुपले जोडिएको भन्दै चित्तसमेत दुखाएका छन् ।

समाचारमा नेपाल-भारत सिमाना कपिलवस्तुमा कार्यरत नेपाल प्रहरीका सई गगन शाहीले प्रनेशलाई संगठनको आन्तरिक सूचना दिने गरेको उल्लेख छ । समाचारमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका थापाले ती प्रहरीमाथि भने आशंका गरेका छन् ।

“म केही समयअगाडि कपिलवस्तु गएको हो,जिल्ला प्रहरी कार्यालयमा डिएसपी धर्म भण्डारीलाई भेटेर आएको पनि हो तर सई गगन शाहीसँग भने पछिल्लो समय मेरो कुनै सम्बन्ध छैन,’ उनले भनेका छन् ।

प्रनेश भन्छन्-“पहिला चितवन बसेको गगन शाही अहिले मलाई कसरी हुन्छ सिध्याउन लागि परिरहेको छ ।” प्रनेशले अगाडि थपे- “ती व्यक्तिको समाचार आयो भन्नेमा मेरो कुनै आपत्ति छैन । संगठनको सूचना चुहाउनेमाथि कारबाही हुनैपर्छ तर, निस्वार्थका साथ काम गरिरहेको अवस्थामा मेरो मनोबल गिराउने कार्य भएकाले सम्बन्धित सबैलाई गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । प्रेस काउन्सिलले पनि पोहोर थुप्रै उजुरी आए भन्दै व्यापक पेलेपछि मैले पत्रकारिता छाडिसकेको छु  ।”

टिप्पणीहरू