कांग्रेसमा पैसा खाएर क–कसले टिकट बेचे ?

  • सुशीलमान शेरचन, महामन्त्री, नेपाली कांग्रेस (वीपी)

बामगठबन्धनले त्यसै पनि पातलिएको नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा केही नेता बाहिरिएर अर्को पार्टी गठन गरेका छन्, नेपाली कांग्रेस (वीपी) । कांग्रेसका पुराना नेता तथा पञ्चायतकालीन काठमाडौं नगरपञ्चायतका प्रधानपञ्च हरिबोल भट्टराईको नेतृत्वमा गठन भएर निर्वाचनमा भाग लिइरहेको उक्त पार्टीका महामन्त्री हुन्, सुशीलमान शेरचन । कुनै बेला वीपीका दाहिने हात मानिने शहीद योगेन्द्रमान शेरचनका छोरा । उनी ०५१ को मध्यावधि निर्वाचनमा मुस्ताङबाट जितेका र पर्यटनमन्त्री पनि बनेका व्यक्ति हुन् । जीविकोपार्जनका लागि मुक्तिनाथ ओभरसिज नामक म्यानपावर कम्पनी चलाएका छन् । यसचोटि पनि प्रतिनिधिसभाका लागि मुस्ताङबाट टिकट पाइसकेका थिए । तर, आफैँले उम्मेदवार बन्न रुचाएनन् । बरु, अलग्गै पार्टी खोलेर पृथक दलीय हैसियतसहित नेता बने । आफू चुनाव लडेनन्, चुनाव लडेकाहरुको प्रचारमा सक्रिय छन् । 

० कांग्रेस फुटेको कि नयाँ पार्टी बनेको ?

– वीपी विचारधाराको प्रतिनिधित्व र नेतृत्व गर्ने, वीपीवादका आधारमा प्रजातान्त्रिक समाजवाद प्राप्तिको दिशातिर लम्किएको सक्कली कांग्रेस हामी हौँ । १३ महाधिवेशनसम्म नेपाली कांग्रेसको नाममा सक्रिय भयाँै । यो चुनावलगत्तै १४ औँ महाधिवेशन गरेर नेपाली कांग्रेस पुनर्गठन गर्ने र वीपीवादलाई अहिलेको पुस्तामा अझ व्यापकसँग प्रचार प्रसार गर्ने नीति छ । यो पार्टी फुटाएको र नयाँ बनाएको होइन, आफ्नो जीवन र जवानी नेपाली कांग्रेसमा सुम्पिएकाहरुमाथि उपेक्षाको उपज हो ।

० नेपाली कांग्रेसबाट के अपेक्षा थियो, जो पूरा भएन ?

– वीपीको विचारलाई तोडमोड गरेर कांग्रेसलाई कांग्रेसको रुपमा राखिएन । आज मेचीदेखि महाकालीसम्मका जनताले मौलिकतासहितको नेपाली कांग्रेस देख्न छाडे । कतै देउवा कांग्रेस, कतै रामचन्द्र कांग्रेस, कतै शेखर कांग्रेस र कतै सिटौला कांग्रेस । कांग्रेसको साइनबोर्ड झुण्ड्याएर आ–आफ्ना स्वार्थ पूरा गर्ने लोभीहरुको जमातमा परिणत भयो । त्यसले वीपी, गणेशमान, किसुनजीहरुको फोटो देखाएर उहाँहरूले कहिल्यै पनि अंगीकार नगरेको बाटोमा पार्टीलाई लग्यो । हामीले हाम्रो पार्टीको चारतारे झण्डाको डण्डा घुसाउने ठाउँमा सेतो हिमाल, खैरो पहाड र हरियो तराईको प्रतीक राखेका छौँ । कुनै सिण्डिकेट, कुनै ठेकेदार वा कुनै ग्याङको दादागिरी गर्ने अखडा नभएर वीपीले अगाडि सार्नुभएका विचारहरुको आधारमा मुलुकको विकास र समुन्नतिका लागि लड्ने नेपाली कांग्रेस (वीपी) हामीले गठन गरेका हौँ । 

० पार्टी छाड्नुअघि शेरबहादुर देउवासँग कुनै कुराकानी भएन ?

– चार महिनाअगाडि शेरबहादुरजीलाई खबर पठाएँ कि, हरिबोलजी, झलकनाथ वाग्लेजी, पुष्प पराजुलीजीहरुलाई बोलाएर कुरा गर्दा राम्रो हुन्छ । उहाँ कतिसम्म सुस्त भने चार महिनाअघि खबर पठाएँ, अस्ति बिहीबार बल्ल कुरा गर्न बोलाउनुभयो । उहाँहरुलाई संगठनमा पटक्कै लगाव छैन । पुराना, त्यागी मान्छेहरुको कुरा सुन्ने, तिनीहरुलाई संरक्षण गर्ने कुरामा पटक्कै ध्यान छैन । उहाँहरु डन र धनका पछि लाग्नुभयो । चाहे शेरबहादुरजी भन्नुस्, चाहे रामचन्द्र, शशांक, प्रकाशमान वा विमलेन्द्र निधी नै भन्नुस्, यी सबलाई पार्टीका त्यागी कार्यकर्ताको होइन, डन र धनको मात्रै मतलब छ ।

० चुनावमा कति उम्मेदवार उठाउनुभएको छ ?

– १०५ जना तयार पारेका थियौँ । पहिलो चरणमा तयार पारेका उम्मेदवारको नाम कांग्रेसका नेताहरुले सोधे । हामीले पनि सोझो तालले भन्यौँ । तर, हामीसँग हाम्रो उम्मेदवारको नाम लिँदै ती साथीहरुलाई उम्मेदवार बन्नबाट रोक्न उहाँहरुले अनेकन तिकडम रच्नुभयो । दोस्रो चरणको नोमिनेशनअगाडि नै प्लान बनायौँ, नाम नभन्ने भनेर । हरिबोलजीलाई फोन गर्नेलाई उहाँले थाहा छैन, सुशीललाई सोध्नुस् भन्ने, मलाई सोधेमा पुष्पजी र झलकनाथजीलाई थाहा छ भन्ने गरेर नामहरु गोप्य राख्यौँ । तर, हाम्रा थुपै साथीमाथि कांग्रेसका साथीहरुले दुव्र्यवहार गरेर नोमिनेशन गर्न दिएनन् । कतिपयलाई ज्यान मार्नेसम्मको धम्की दिइयो । दोस्रो चरणमा तय भएका ४५ जना उम्मेदवारले नोमिनेशन गर्नुभयो । तर, डर र त्रासका कारण केही साथीले फिर्ता लिनुभयो । अहिले मैदानमा हुनुहुन्छ २४/२५ जना । 

० शेरबहादुरले बोलाएर के भन्नुभयो ?

– उम्मेदवारी फिर्ता लिनुस् भन्नुभयो । जे माग्नुहुन्छ, त्यही गर्छु भन्नुभयो । तर, हामीले भन्यौँ, ‘अब ढिला भइसक्यो । चुनावमा गइसक्यौँ । कोही व्यक्तिको विरुद्ध चुनावमा गएका होइनौँ । नेपाली कांग्रेसको मौलिकता संरक्षण गर्न, जनतामा कांग्रेसप्रतिको आस्थालाई बचाएर राख्न चुनावमा भाग लिएका हौँ ।’

० अहिले वाम गठबन्धनका कारण त्यसै पनि कांग्रेस अप्ठेरोमा छ । त्यसमाथि तपाईंहरुले अर्को पार्टी बनाइदिँदा अप्ठेरोमा झन् अप्ठेरो थप्न खोजेको भनिँदैछ । किन यस्तो गर्नुभएको ? 

– योबीचमा नेपाली कांग्रेसले कस्ता–कस्ता पार्टीसँग गठबन्धन ग¥यो ? ती गठबन्धन कांग्रेस बचाउन गरियो कि केही निश्चित नेता बचाउन गरिएको हो ? खासमा शेरबहादुर देउवा, आरजु, रामचन्द्र पौडेल, सशांक कोइाराला, रामशरण र प्रकाशशरणहरुलाई बचाउन अपवित्र गठबन्धन गरिएको हो । 

० कम्युनिष्टहरुको यस्तो घेराबन्दीलाई त मिलेर सामना गर्नुपर्ने होइन र ?

– त्यो बेला बितिसक्यो । हामीले यो पार्टी नबनाएको भए पनि भोलिको सरकार बाम गठबन्धनकै हो । त्यो वातावरण कम्युनिष्टहरुले मिलेर बनाएका हैनन्, नेपाली कांग्रेस फितलो बनेर कम्युनिष्टहरु हौसिएका हुन् । त्यो वामपन्थी गठबन्धन पाँच वर्षसम्म जाँदैन । दुईदेखि तीन वर्षभित्र कम्युनिष्टहरु फेरि फुट्छन् र देशले अर्को निर्वाचन व्यहोर्नुपर्छ । त्यसैले चिन्ता कम्युनिष्टहरुले गठबन्धन गरेकोमा होइन, कांग्रेस कमजोर बनाउने गरी भएका तमाम कामहरुको हो । कम्युनिष्टहरु त आज न भोलि मिल्थे–मिल्थे । शेरबहादुरजीले नेपाली कांग्रेसलाई यस्तो पानीमरुवा पार्टी बनाइदिनुभयो कि कम्युनिष्टहरु मिले भनेर आत्तिनुपर्ने ! कांग्रेसको प्रतिस्पर्धा त जहिले पनि कम्युनिष्टहरुसँगै हो । दुनियाँका सारा तागतहरु मिल्दा पनि प्रजातान्त्रिक आन्दोलनको नेता नेपाली कांग्रेस भएको नाताले त्यो पार्टी कुनै गठबन्धनसँग डराउनुहुँदैन थियो । तर, आज कम्युनिष्टहरु मिले भनेर शेरबहादुरजी रुवाबासी गर्दै हिँड्नुभएको छ । वामपन्थी गठबन्धनसँग आत्तिएर राप्रपा र विभिन्न समूहसँग अनैतिक गठबन्धन गर्दै त्यागी र जनाधार भएका आफ्ना पार्टीका साथीहरुलाई किनारा लगाउनुभएको छ । आज धनराज गुरुङले धर्धरी रोएर हिँड्नुपर्ने दिन किन आयो ? धनराजजीको आँशु उहाँको आँखाबाट झरे पनि त्यसमा मेचीदेखि महाकालीसम्म कांग्रेसका त्यागी कार्यकर्ताको भावना बगेको छ । हेर्दै जानुस्, नेपाली कांग्रेसलाई त्यो आँशुले सराप्छ ।

० किन कांग्रेस यति कमजोर भएको ?

– डन र धनको सहारामा पार्टी चलाउँदा यस्तो हविगत भएको हो । संसद सकिएपछि अध्यादेशबाट शिक्षा विधेयक पास गरियो । किन ? पैसाका लागि † पद, पैसा र केही व्यक्तिका लागि जसरी एकपछि अर्को वीपीका आदर्श बेच्दै लगियो, त्यसबाट अन्ततः कांग्रेस कांग्रेस रहने अवस्था भएन । वीपीको आदर्श बोकेर चुनावमा गएको भए संसारका कम्युनिष्ट मिले पनि कांग्रेसलाई नेपालमा कसैले हराउन सक्दैन थिए । नेपाली कांग्रेससँग जनता छन् । ती जनता सधैँभरि उफ्रिएर हिँड्दैनन्, तर कांग्रेसलाई भोट हाल्छन् । आज कांग्रेसका मतदाताहरु बेला–बेलामा गरिएका अनैतिक गठबन्धनका कारण कांग्रेसलाई नै मतदान गर्ने स्थितिमा रहेनन् । हामीले तिनै जनताको मनोभावनालाई सम्मान गर्दै, ती कांग्रेसप्रेमी जनताको मतदान गर्ने आस्थाको केन्द्रबिन्दु जोगाइराख्न नेपाली कांग्रेस (वीपी) गठन गरेका हौँ । अहिले हाम्रा उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताबाट खतरा बढेको छ । प्रचारमा जान दिएका छैनन् । हातपात गरिएका छन् । प्रहरी–प्रशासन लगाएर हाम्रा साथीहरुलाई निर्वाध हिँड्डुल गर्न दिइएको छैन । स्याङ्जामा गोपालमानजीको क्षेत्रबाट चुनावमा उठ्नुभएका साथी रामभक्त भट्टराईको घरमा दिनरात ढुंगा हानिएको छ । उहाँ जिल्ला जान सक्ने अवस्था नै छैन । नेपाली कांग्रेस (वीपी) अलग पार्टी हो । हाम्रा उम्मेदवार कांग्रेसका बागी हैनन् । हामी वीपीको समाजवादका प्रचारक र अबलम्बन गर्ने जमात हौँ । उहाँहरु पद, प्रतिष्ठाका लागि वीपीको नाम बेचिरहनुभएको छ । डन र धन हावी नभएको भए आज न हामीले अर्को पार्टी बनाउनुपथ्र्यो, न कम्युनिष्टहरुको गठबन्धनले नै केही बिगाथ्र्यो । 

० कति सीट जित्ने अनुमान गर्नुभएको छ ?

– हामी कांग्रेस भनेर भोट हाल्ने, वीपीको आदर्शलाई समर्थन गर्ने जनसमुदायका लागि भोट हाल्ने ठाउँ नभएको कुरामा गम्भीर थियौँ । ती जनतालाई मतदान गर्न चुनाव चिह्न करुवा लिएर चुनावमा उत्रिएका छौँ । त्यसैले जित्नका लागिभन्दा बढी वीपी विचारको प्रचार गर्न यो चुनावमा छौँ । देशभरिका जनतालाई वीपीले कल्पना गरेको नेपाली कांग्रेस कतै न कतै बाँचेको छ भन्ने सन्देश दिन चाहन्छौँ । नेपाली कांग्रेसमा बस्न नसकेका कतिपय साथीहरु कोही एमालेमा गए, कोही माओवादीमा गए । ती साथीहरु आज हामीलाई भन्दै हुनुहुन्छ, बेलामा पार्टी गठन गरेको भए जाने ठाउँ पाउँथ्यौँ । चुनावपछि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ ।

० कांग्रेसमा लिगेसीको चलन छ । वीपीपुत्र, निधिपुत्र, गणेशमानपुत्र भन्ने । त्यस्तो लिगेसीबिनाको पार्टी कसरी टिक्ला ?

– म पञ्चायतकालीन अवस्थामा ज्यानको बाजी लगाएर नेपाली कांग्रेसलाई जोगाउने योद्धा योगेन्द्रमान शेरचनको सन्तान हुँ । तर, राजनीतिमा कसैले जन्म दियो भन्दैमा त्यसको लिगेसी हुँदैन । राजनीतिमा विचारको लिगेसी हुन्छ । हिजो मेरो बुबाले त्यत्रो हिम्मतका साथ नेपाली कांग्रेस जोगाउनुभयो । तर, आज मैले योगेन्द्रमानकै छोरो हुँ भन्ने लिगेसीका नाममा कांग्रेसलाई डरपोक पार्टी बनाउन थालेँ भने लिगेसीको के अर्थ हुन्छ ? त्यसैले वीर्यको हैन, विचारको लिगेसी हुन्छ राजनीतिमा । शेखर, शशांकहरुले वीपीको छोरा भएर वीपीको आदर्शलाई कहाँ पु¥याए ? देखिहाल्नुभयो । महेन्द्रनारायण निधीजस्तो आदर्शवान नेताको छोरा भएर विमलेन्द्रले त्यो आदर्शलाई कहाँ फ्याँके ? छर्लङ्ग छ । गणेशमानजस्तो त्यागी नेताको छोरा भएर प्रकाशनमानजीले कांग्रेस जोगाउन के भूमिका खेले ?

० यसपालि चुनावमा किन नउठ्नुभएको ?

– नयाँ पार्टी बनाएपछि साथीहरुले महामन्त्री हुनुप¥यो भन्नुभयो । मलाई मन थिएन । तर, साथीहरुले बस्नैपर्छ भनेपछि चुनाव लड्न मिलेन । किनभने, महामन्त्री भएर चुनाव उठेका साथीहरुको चुनावी कामको व्यवस्थापन गर्नुपर्ने भयो ।

० मुस्ताङबाट कांग्रेसले टिकट दिएको भए ?

– मैले टिकट नपाएर कांग्रेस छोडेको होइन । मलाई शेरबहादुर दाइ, गोपालमान, बालकृष्ण खाँण, एनपी साउदसम्मले केन्द्रमा लड्ने कि समानुपातिकमा राखाँै भनेर सोध्नुभएको हो । मैले भनेँ, म खल्तीको कांग्रेस बन्दिनँ । मलाई मुस्ताङबाट प्रतिनिधिसभाकै टिकट स्वयं शेरबहादुर दाइले दिनुभएको हो । तर, लिइनँ । किनभने, मेरो अस्तित्व वीपीको विचारमा छ, शेरबहादुरको विचारमा होइन ।

० मुस्ताङका कांग्रेसहरु एमाले प्रवेश गरेका छन् । किन ? 

– ५० वर्षदेखि मुस्ताङ त्यस्तो जिल्ला थियो, जहाँ कांग्रेसका नाममा लौरो उठाए पनि जितिन्थ्यो । मुस्ताङमा कांग्रेस बिगार्ने रामचन्द्र बाजे हो । उहाँले पैसा खाएर रोमी गौचनलाई टिकट दिनुभयो । रोमीले पार्टीलाई यसरी लग्यो कि, ऊबाहेक कांग्रेसमा कोही नभए पनि हुनेजस्तो । मुस्ताङमा अब १० करोड खर्च नगरी कसैले नजित्ने अवस्था भयो । रोमीलाई १८ महिनाका लागि मन्त्री बनाउन पनि रामचन्द्र पौडेलले नै पैसा लिनुभयो ।

० यस्तो खर्चिलो चुनावमा २४, २५ जनाको चुनावी खर्च कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

– हाम्रो चुनाव प्रचारात्मक हो । आक्रामक छैनौँ । सकेको खर्च गर्छौं । धेरै खर्च गरेर, तडकभडक देखाएर पाउनु केही छैन । वीपीको विचारको प्रचार गर्ने माध्यमका रुपमा यो चुनावलाई लिएका छौँ । 

टिप्पणीहरू