नेपाली आकाश सुरक्षित रहेको वरिष्ठ पाइलट शेखर काफ्लेको दाबी « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

नेपाली आकाश सुरक्षित रहेको वरिष्ठ पाइलट शेखर काफ्लेको दाबी

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार १४:३०


नेपालमा हवाई सुरक्षाको विषयलाई लिएर मौसमी बहस हुने गरेका छन् । जब हवाई दुर्घटना हुन्छ,त्यतिबेला चर्को रुपमा उठ्ने त्यस्ता बहसपछि क्रमशः सेलाउँदै जान्छ र अर्को दुर्घटनापश्चात् फेरि चर्किन्छ । हवाई सुरक्षा आफैंमा संवेदनशील विषय हो । त्यसैले प्रत्येक मुलुकले हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर उडान गरिरहेका छन् ।

नेपालको हवाई सुरक्षामाथि अन्तर्राष्ट्रियस्तरमै प्रश्नसमेत उठिरहेको छ । युरोपेली युनियन (ईयु) ले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै लामो समयदेखि कालोसूचीमा राखेको छ । नेपालमा वायुयान दुर्घटना दर अधिक रहेको र नियमनसमेत प्रभावकारी नभएको इयुले पटक पटक निश्कर्ष निकालेको छ ।

काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक ३ सय वटा जहाज उडान र अवतरण हुने गरेको छ । ५ माइलको रेडियोभित्र ३ सय वटा जहाज छिराउनुपर्छ । यो सामान्य अवस्था होइन ।

पछिल्लो ४८ घण्टाको अवधिमा बुद्ध एअरका तीन वटा जहाज आकाशमा छँदा समस्या देखिएपछि हवाई सुरक्षालाई लिएर आमरुपमा चिन्ता र चासो प्रकट भइरहेको छ । यसले नेपालको आन्तरिक उडानमा भरपर्दोमध्येको एउटा वायुसेवा मानिने बुध्दको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ । जहाज र उडान क्षेत्र थपिरहने तर भएकै जहाजको मर्मत सम्भारमा ध्यान नदिने कुराले साहुहरुमा मुनाफाको मनस्थिति बढेको आरोप छ । यात्रुको जीवन जे भए पनि विमान कम्पनीले हेरिहाल्छ,आफ्नो के जान्छ भन्ने सोच नै घातक रहेको पाइन्छ ।

बुध्दको जहाजमा देखिएका पछिल्ला समस्याले दुर्घटनाको खतरा बढाएको भन्दै आम रुपमै चिन्ता भइरहेको बेला ३० वर्षदेखि आन्तरिक उडानमा संलग्न क्याप्टेन शेखर काफ्लेले त्यसलाई पूर्णतः अस्वीकार गर्नुभएको छ । विगत २४ वर्षदेखि बुध्द एअरको जहाज उडाइरहनु भएका पाइलट काफ्ले हवाई क्षेत्रलाई सतही रुपमा बुझ्ने गरिएकाले यस्ता धारणा आउने गरेको बताउनुहुन्छ ।

पहाडै पहाडको बीचबाट जहाज उडाउनु पर्छ । मौसमको उतारचढाव सँधै हुन्छ । केही जोखिम छ,तर आज हामीसँग मौसमसम्बन्धी उपकरण पनि छ ।

नेपालमा हवाई सुरक्षाको अवस्था र अस्तिको घटनालाई लिएर अनुभवीमध्येका एक मानिएका पाइलट काफ्लेसँग जनआस्थाका लागि साहस न्यौपानेले गरेको कुराकानी :

नेपालमा हवाई सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ,के नेपाली आकाश असुरक्षित नै हो ?

-होइन । नेपाली आकाश असुरक्षित छैन । हाम्रो बुझाइमा समस्या हो । सबै चिजको विकास एकैचोटी हुँदैन । केही वर्ष अघिसम्म हामी ककपिटबाट भुईं हेरेर जहाज उडाउने अवस्थामा थियौँ । मैले नै सिमरा,तुम्लिङटार जाँदा त्यसरी उडाएको छु । त्यसकारण त्यतिबेला दुर्घटना पनि धेरै हुने गरेका थिए । तर आज हामी त्योभन्दा फरक अवस्थामा पुगिसकेका छौं । आज भुईं हेरेर जहाज उडाउनुपर्ने अवस्था छैन । हिजो जहाजलाई बाटो देखाउने भिओआर र एनडिपी पनि थिएन । आज हामीसँग ग्लोबल सिस्टम छ,नाइटभिजन छ । त्यसकारण हिजोकै अवस्थालाई हेरेर आज पनि नेपालको उडान क्षेत्र असुरक्षित छ भन्नु गलत हुन्छ ।

त्यसो भए युरोपेली युनियन (ईयू) ले नेपाली आकाशलाई असुरक्षित भनेर कालोसूचीमा किन राखेको होला ?

-हेर्नुस्, यसमा के छ भने अन्तराष्ट्रियस्तरमा जुन विकास भएको छ, हामी अझै त्यहिस्तरमा पुगिसकेका छौँ भनेर दाबी गर्नु हुँदैन । तर, पहिलेको भन्दा हामी प्राविधिक हिसाबले अत्याधुनिक भइसकेका छौं । इयूले कालोसूचीमा राखेको आज होइन पहिले नै हो । मलाई लाग्छ उसले छिट्टै हटाउँदै छ । हामीले गरेका सुधार हेरेर नै उसले कालोसूचीबाट हटाउने तयारी गरेको मैले बुझेको छु ।

बुद्ध एअरको कुरा गरौँ, २४ घण्टाको अवधिमा तीन वटा जहाजमा प्राविधिक समस्या देखियो । यसले त प्रश्न उठायो नि ?

-हाम्रा पत्रकार साथीहरुलाई जहाजको टेक्निकल पक्षमा निकै कम जानकारी रहेको मैले पाएको छु । उहाँहरुले विषय राम्रोसँग नबुझी समाचार लेख्दा आममानिसमा भ्रम पर्ने गरेको छ । त्यसैले सबैभन्दा पहिले जहाजको टेक्निकल स्वरुपलाई बुझ्नुपर्ने हुन्छ । जस्तो कहिलेकाहीँ हिँड्दाहिँड्दै हाम्रो खुट्टा मर्किन सक्छ तर हामी त मर्दैनौं नि । त्यहाँ विकल्पको रुपमा अर्को खुट्टा पनि हुन्छ । जहाजको प्राविधिक कुरा पनि त्यस्तै हो ।

त्यसोभए अस्तिको घटनालाई सामान्य प्राविधिक समस्या मात्रै हो भनेर भन्नुभएको हो ?

-हो । जहाजमा प्राविधिक समस्या आउँदा तीनवटा अवस्था हुन्छ । नर्मल,एबनर्मल र इमर्जेन्सी (सामान्य,असामान्य र आपतकालिन) । अस्तिको घटना एबनर्मल हो, इमर्जेन्सी होइन । सबैभन्दा पहिले यो कुरा बुझ्नुपर्यो । अब अस्तिको कुरा गरौँ जहाजमा ल्यान्डिङ गेयर झर्नु नर्मल प्रक्रिया हो भने नझर्नु एबनर्मल अर्थात असामान्य हो । नर्मल हुँदा र एबनर्मल हुँदा के गर्ने भन्ने कुरा पाइलटलाई थाहा हुन्छ । यस्तो अवस्थामा ल्याण्ड अर्थात् अवतरण गर्ने प्रक्रिया अलग्गै हुन्छ । फ्युल (इन्धन) कम गर्नुपर्ने हुन्छ,सिजी कम गरिन्छ । आकाशमा धेरैबेर फन्को मारेको भनियो,त्यो चाहिँ फ्युल कम गरिएको हो ।

सामान्य प्राविधिक समस्या हो भने विराटनगरमै किन अवतरण गर्न सकेन ? काठमाडौँ फर्काउनु पर्ने अवस्थाचाहिँ किन आयो ?

-हो,बुझ्नुपर्ने कुरा नै यहाँ छ । जब हामी एबनर्मल प्रक्रियाबाट जहाज ल्याण्ड गराउँदै छौँ भने त्यहाँ केही सावधानी अपनाउनु जरुरी हुन्छ । त्यसका लागि फ्यासिलेटेड (सबै सुविधा भएको) विमानस्थलमा ल्याण्ड गराउनु सुरक्षाका दृष्टिले बढी भरपर्दो मानिन्छ । फ्यासिलिटीका हिसाबले हरेक एअरपोर्टलाई वर्गीकरण गरिएको हुन्छ । नेपालका विमानस्थलमध्ये त्रिभुवन विमानस्थल सबैभन्दा फ्यासिलेटेड छ । त्यसकारण काठमाडौँ फर्काइएको हो । यसको मतलब विराटनगरमा ल्याण्ड नै हुँदैनथ्यो भन्ने होइन । पाइलटले थप सुरक्षित विमानस्थल खोजेको मात्र हो ।

एबनर्मल सिचुयसनमा सुरक्षित अवतरणको तुलनात्मक अवस्था कस्तो हुन्छ ?

-बुद्धको केसमा बेली ल्यान्डिङ गर्नुपर्ने थियो । त्यहि मापदण्डभित्र रहेर ल्याण्ड गराउनु पाइलटको जिम्मेवारी हुन आउँछ । यस्तो अवस्थामा पाइलटले एअर ट्राफिक कन्ट्रोल (एटिसी) लाई सबै कुराको जानकारी गराउँछ । त्यसपछि ग्राउण्ड सेफ्टी,बुध्दको सेफ्टी आउँछ र ल्याण्ड गराइन्छ । नर्मलमा सतप्रतिशत सुरक्षित अवतरण हुन्छ भने एबनर्मलमा ९९ प्रतिशत सुरक्षित अवतरण हुन्छ ।

बुद्धको सेकेण्ड ह्याण्ड ल्याइएको सस्तो जहाज पुराना भएकाले बारम्बार प्राविधिक समस्या आइरहेको भन्ने पनि छ,त्यस्तै हो ?

– जहाज कहिल्यै पनि पुरानो हुँदैन । जहाजमा इञ्जिनको आवर हुन्छ । यति घण्टा उडेपछि नयाँ इञ्जिन फेर्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । सामान्यतयाः ६ हजार घण्टा उडेपछि नयाँ इञ्जिन फेर्ने गरिन्छ । ल्यान्डिङ गरेको साइकल हेरेर नयाँ गियर हाल्नुपर्छ । बढीमा एक हजार घण्टामा जहाजका सबै प्राविधिक जाँच गरिन्छ । त्यसको रिपोर्ट नागरिक उड्डयन प्राधिकरणको सेफ्टी डिपार्टमेण्टलाई पठाइएको हुन्छ । उसले सबै अनुगमन गरिरहेको हुन्छ । त्यसो हुँदा अब जहाज कसरी पुरानो भयो ?

जहाजका अरु भाग कहिल्यै पुरानो हुँदैन ?

-हुन्छ, त्यसैले ५० हजार घण्टा उडेपछि ती भाग पनि कवाडीमा जान्छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजबाहेक अरु सबै त्यसैगरी कवाडीमा गएका छन् ।

हवाई ट्राफिकका कारण असुरक्षा बढेको भन्ने कुरालाई कति सत्य मान्न सकिन्छ ?

-यसमा चाहिँ हामी अलि बढी संवेदनशील बन्नैपर्छ । नेपालमा काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक ३ सय वटा जहाज उडान र अवतरण हुने गरेको छ । ५ माइलको रेडियोभित्र ३ सय वटा जहाज छिराउनुपर्छ । यो सामान्य अवस्था होइन । तर,आमनागरिकले यो कुरा बुझ्दैनन् । अनि यति घण्टा आकाशमा होल्ड भयो भनेर आलोचना गर्ने गरिन्छ ।

एउटा पाइलटलाई बढीमा लगातार ३ घण्टा मात्र जहाज उडाउन दिइन्छ ।

तर, सकारात्मक पक्ष भनेको आज हामीसँग ट्राफिक देखाउने उपकरण छ । हिजो थिएन । यदि हिजो पनि हुन्थ्यो भने सायद पाकिस्तान एअरलाइन्स र थाई एअरवेज दुर्घटना हुँदैनथ्यो । त्यसैले हवाई ट्राफिकका कारण धेरै असुरक्षित भयो भन्ने भन्दा पनि आकाशमा होल्ड गर्नुपर्ने,ल्याण्ड गर्न समय लाग्ने जस्ता कुरा चाहिँ सत्य हुन् । अप्ठेरो छ तर खतरा छैन ।

नेपालमा हवाई दुर्घटना हुनुमा प्राविधिक,प्राकृतिक र मानवीय पक्ष कुन बढी जिम्मेवार देखिएको छ ?

-प्राविधिक कुरा मैले माथि नै गरिसकेँ । हामी हिजोभन्दा आज प्राविधिक रुपले व्यवस्थित र विकसित भएका छौँ । त्यसकारण दुर्घटना पनि घटेको छ । प्राकृतिक कुरा त हाम्रो पहाडी र भूपरिवेष्ठित मुलुक हो । पहाडै पहाडको बीचबाट जहाज उडाउनु पर्छ । मौसमको उतारचढाव सँधै हुन्छ । केही जोखिम छ,तर आज हामीसँग मौसमसम्बन्धी उपकरण पनि छ । तर,प्रकृतिलाई मेसिनले जित्न कहिल्यै पनि सक्दैन । यद्यपि जोखिम न्यूनीकरणमा सहयोग भने पुग्ने गरेको छ ।

मानवीय पक्ष भनेको मुख्य रुपमा पाइलट नै हो । अरु पनि छन् तर पाइलट नै मुख्य हो । अब पछिल्लो समय पाइलटको क्षमता बढाउन तालिमहरु हुने गरेको छ । बुध्दकै कुरा गर्नुहुन्छ भने यति धेरै तालिम दिएको छ कि प्रत्येक ६ महिनामा हामी पेरिसमा गएर तालिम लिन्छौं । बुद्धले तालिममा मात्रै ५ देखि ६ करोड खर्च गर्छ । अरुले पनि गरेका छन् ।

पाइलटलाई कस्ता तालिम दिइन्छ ?

-हिजोको जस्तो समस्या आए कसरी समाधान गर्ने भन्ने तालिम दिइएको हुन्छ । समस्या आउँदा पाइलटले कसरी त्यसलाई सजिलैसँग पार लगाउने भनेर पुनर्ताजगी गराइन्छ । अर्को पिपिसी (पाइलट प्राक्टिस चेक) तालिम पनि हुन्छ । ती तालिम धेरै महंगा हुन्छन् तर हवाई सुरक्षासँग मुख्य रुपमा जोडिने भएकाले यसमा हवाई कम्पनीहरुले कम्प्रोमाइज गर्नु हुँदैन र गरिएको पनि छैन भन्ने लाग्छ ।

अर्को कुरा पाइलटको हरेक पाँचदेखि छ घण्टामा स्वास्थ्य जाँच गरिन्छ । उसलाई स्वस्थ नभए जहाज उडाउन दिँइदैन । उच्च रक्तचाप भए पनि ग्राउण्डेड गरिन्छ । एउटा पाइलटलाई बढीमा लगातार ३ घण्टा मात्र जहाज उडाउन दिइन्छ । सुरक्षा सावधानी अपनाएकै कारण यो सब गरिएको हो । तर,यति गर्दागर्दै पनि कहिलेकाहीँ दुर्घटना हुनसक्छ ।

अस्तिको घटनालाई सामान्य भनेर त्यसै छोड्न त मिल्दैन होला नि ?

मिल्दैन,यसबारे छलफल हुन्छ । बाहिरबाट हेर्दा पाइलटले उसको क्षमता देखाएकै देखिन्छ । तर,बिस्तृत रुपमा पाइलट,सिनियर गुरुहरु,बुद्धको व्यवस्थापन र नागरिक उड्डयन प्राधिकरणमा बसेर छलफल हुन्छ होला । आगामी दिनमा यस्ता समस्या आउन नदिने र समस्या आउँदा कसरी सुरक्षित हुने भन्नेबारे पक्कै पनि छलफल हुन्छ ।


प्रतिक्रिया दिनुहोस !