​जे देखियो यसपटक माओवादी पकडको जिल्लामा « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

​जे देखियो यसपटक माओवादी पकडको जिल्लामा

प्रकाशित मिति :  ३ मंसिर २०७४, आईतवार १४:०१


  • सुदर्शन मंगोल

आफ्नै गाउँ खुंग्री हरिगाउँ र सदरमुकाम लिवाङको अलावा माओवादी केन्द्रको उपल्लो स्तरका नेता वर्षमान पुन अनन्तको गाउँ माडीचौरलाई पनि नजिकबाट साक्षात्कार गर्न पाइयो । जनयुद्धताका झन्डै हजारौं संख्यामा रोल्पालीले बलिदान गरे । तर के पाए ? तर, यही प्रश्न माओवादी केन्द्रका नेतालाई सोध्दा उनीहरूको रेडिमेड जवाफ हुन्छ– ‘परिवर्तन धेरै भएको छ । जनयुद्धका कारण गणतन्त्र आयो । गणतन्त्रपछि गाउँमा बाटो–घाटो पुगेको छ । मोबाइल फोनको सुविधा पुगेको छ । योभन्दा धेरै अरू के चाहियो ?’

कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, ओनसरी घर्तीलगायत थुप्रैलाई रोल्पाले जन्मायो र स्थापित ग¥यो । तर, आज यिनै नेता गाउँमा कच्ची बाटाहरू मात्र पुग्नु पनि ठूलो उपलव्धि हो भन्ने गर्छन् ।

०५७ तिर वर्षमान पुन अनन्तको गाउँ माडीचौर पुगेको थिएँ । र, यसपालि नजिकबाट हेर्ने अवसर पाएँ । त्यो बेलाको माडीचौर र यो बेलाको माडीचौरमा । मोटरबाटो पुग्नुबाहेक अरू कुनै परिवर्तन देखिएन । 

वर्षमान पुन आफैं पनि अर्थमन्त्री भएर देशको महŒवपूर्ण ठाउँमा पुगेकै हुन् । किन उनले आफ्नै गाउँलगायत आमरोल्पालीको जीवनमा परिवर्तन ल्याउन सकेनन् ? यसको सीधा र सत्य उत्तर छ–उनले जुन सत्ता परिवर्तन गर्न भनेर जनयुद्ध लडेका थिए, त्यो बाटो नै बिर्सिए । बुर्जुवा सत्तासँग सम्झौता गर्दाको परिणामस्वरुप वर्षमान र श्रीमती ओनसरीले राज्यको सुविधा धेरै वर्षसम्म लिए । तर, आमरोल्पालीले त्यसको सानो अंश पनि भोग गर्न पाएनन् । 

कृष्णबहादुर महराजीले त झन् धेरैपटक बुर्जुवा सत्ताभित्र मन्त्री पद पाए । तर, रोल्पाले के पायो ? सहिदका परिवारले के पाए ? घाइते–अपांगले के पाए ? जनयुद्ध लडेकाहरूले के हात पारे ?

गाउँका युवा रोजगारका लागि विदेश हान्निएका छन् । गाउँ खाली छ । यसलाई माओवादी केन्द्रका मान्छे परिवर्तन हो भन्ठान्छन् । तर, यो प्रतिगामी परिवर्तन हो ।

शान्तिप्रक्रियापछि रोल्पामा विकास निर्माणका स–साना काम नभएकै होइनन् । भएकै छन् । के यथार्थमा यिनै काम सबथोक हुन् ? 
माओवादी केन्द्रका यही भनाइलाई खण्डन गर्दै सदरमुकाम लिबाङमा सानो पसल राखेर बसिरहेकी एक महिला भन्दै थिइन्, ‘के मोटरबाटोले हामीलाई खान–लाउन दिन्छ ? स्वास्थ्योपचार र रोजगार दिन्छ ?’ उनको जवाफ महरा र वर्षमानको भन्दा कैयौं ओजपूर्ण थियो । उता, कोटगाउँका भीमबहादुर खड्का –७४ ले त्यही सानो विकासको काम मोटरबाटोसमेत आफ्नो गाउँमा नपुगेको दुखेसो पोखे । ‘हाम्रो गाउँमा माओवादी केन्द्रले धेरैपटक चुनाव जित्यो तर बाटो पु¥याएकै छैन । चुनावका बेला हामी जसरी पनि बाटो ल्याउँछांै भने तर १० वर्ष पुग्दा पनि उस्तै ।’

जेल्बाङ घर भएकी तर लिवाङमा सानो गाडा पसल राखेर गुजारा चलाइरहेकी मीनसरा घर्तीको पनि पीडा उस्तै छ । धेरैपटक भोट हाले पनि गरिबको जीवनमा कुनै परिवर्तन नआएको तीतो सत्य ओकलिन् । सुकीदह घर भई लिबाङमा भेटिएका शिक्षक भीमबहादुर खड्का क्षत्रीले यति महँगो चुनावले देशलाई धान्नै नसक्ने भन्दै गरिबको थाप्लोमा ऋणको भारी मात्रै थपिने वास्तविकता राखे । 

अहो, रोल्पाली जनता कति यथार्थवादी छन्, कतिसम्म निःस्वार्थी छन् ! संसदीय दलका नेता–कार्यकर्ताभन्दा स्थानीय जनताको चेतनास्तर धेरै माथि छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव कमरेड तिहारअगाडि रोल्पाको थवाङ पुगेर माओवादी केन्द्रका नेताको वास्तविक चेहरालाई छताछुल्ल पारिदिए । उनले भनेका थिए, ‘आज रोल्पाली माओवादी केन्द्रका केही नेता कांग्रेस र एमालेभन्दा गिरेर पैसा कमाउन थालेका छन् । पैसाका लागि जे पनि गर्दै छन् । गाउँका कैयौं डाँडो किनेर खाइसके ।’

सत्य के हो भने दुश्मनलाई हराउन या जित हासिल गर्न पुरानो तरिकाले लडेर सकिँदैन । त्यही भएर नेकपाले भनेको छ– अबको क्रान्तिको बाटो भनेकै एकीकृत जनक्रान्ति हो । त्यही जनक्रान्तिबाट मात्र रोल्पालगायत देशैभरिका क्रान्तिकारी जनताको सपना पूरा हुनेछ । 


प्रतिक्रिया दिनुहोस !