पहिरो पीडितलाई राहतको सट्टा धरौटी

पहिरो पीडितलाई राहतको सट्टा धरौटी

रुपन्देही,बुटवल–३, ज्योतिनगरको पहिरो अवलोकनमा गएका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने गणेश पँगेनी अस्ति साँझ प्रहरी हिरासतबाट मुक्त भएका छन् । भदौ ४ गते गएको पहिरो अवलोकन गर्न गएका सुवेदीमाथि मुक्का प्रहार गरेका उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरका अनुसार मेयरमाथि दुर्ब्यवहार गरेको आरोपमा कुनै पनि जाहेरी नपरेको तर प्रहरी प्रतिवेदनका आधारमा उनीमाथि सार्वजनिक शान्ति सुरक्षा सम्बन्धमा मुद्दा चलाएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो । तर, अस्ति मात्र उनलाई छाडिएको छ । मुक्का प्रहार गरेकै दिन पँगेनी पक्राउ परेका हुन् ।

मेयर सुवेदीलाई दुर्ब्यवहार गर्ने पँगेनी अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा बुटवल ज्योतिनगरका पहिरो पीडित हुन् । मुक्का प्रहारबारे भने मेयर सुवेदीले पँगेनीलाई एक पटक सुध्रने मौका दिएको बताउनुभएको थियो । तर उनलाई हिरासतमुक्त गराइदिन मेयरले लिखित निवेदन नदिएको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू