विदेशका छात्रवृत्तिप्रति नेपाली विद्यार्थीको घट्दो मोह

विदेशका छात्रवृत्तिप्रति नेपाली विद्यार्थीको घट्दो मोह

केही दशक अघिसम्म उच्च शिक्षाको लागि विदेशको छात्रवृत्तिमा योग्यताको हिसाबले घागडान विद्यार्थीहरुबीच चर्को प्रतिस्पर्धा हुन्थ्यो । सिमित मित्रराष्ट्र र कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्तिमा पढेर डाक्टर,इञ्जिनियर बन्ने सौख र चाहना त्यतिबेला थोरैले मात्र प्राप्त गर्थे । स्वदेशमा त्यस्तो विषय अध्ययन गर्ने व्यवस्था थिएन र पछि भए पनि थोरै सिटको कारण धेरैले मौका पाउँदैनथे ।

त्यतिबेला छिमेकी मित्रराष्ट्रहरु चीन, अमेरिका,भारत,पाकिस्तान, जापानलगायतका देशबाट धेरै नेपाली विद्यार्थीले उक्त अवसर पाएका हुन् । अहिले नेपालमै धेरै मेडिकल कलेज र इञ्जिनियरिङ कलेजको स्थापना भएकाले पनि विद्यार्थीहरुमा विदेशको छात्रवृत्ति रोजाइ कम भएको आँकलन गरिएको छ ।

पछिल्ला दिनमा अरु मुलुकमा झैँ पाकिस्तान सरकारले उपलब्ध गराउने छात्रवृत्तिमा जाने विद्यार्थीको संख्या केही घटेको बताइन्छ । स्वदेशमा चिकित्सा शिक्षा र इञ्जिनियरिङ अध्ययनका धेरै खालका अवसर,छात्रवृत्तिसमेत प्राप्त हुन थालेपछि विशेष खालका अध्ययनबाहेक अन्यमा नेपाली विद्यार्थीहरुले रुची कम राख्न थालेको अनुमान गरिएको छ ।

गत शनिबार काठमाडौंमा आयोजित पाकिस्तानबाट अध्ययन गरेर फर्केका विद्यार्थीहरुको एलुम्नाई भेलामा धेरैजसो चिकित्सक र इञ्जिनियरहरु थिए । अहिले भने त्यो संख्यामा छात्रवृत्तिमा अध्ययनको लागि त्यता गएको देखिँदैन ।

कुनैपनि देश वा क्षेत्रले अर्को मुलुकका विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिने भनेको सांस्कृतिक आदानप्रदानको उद्देश्य हो । जुन देशमा गएर विद्यार्थीले वर्षौंसम्म अध्ययन गरेर स्वदेश फर्कन्छन् त्यसपछि त्यो देशको सामाजिक, आर्थिक र कतिपय अवस्थामा राजनीतिक प्रणालीको एक हदसम्म अप्रत्यक्ष प्रचार प्रसार र प्रवर्धन हुन जाने भएकाले सम्बन्धित मुलुकले छात्रवृत्तिलाई महत्व दिएका हुन् ।

नयाँ सन्दर्भमा सम्बन्धित मुलुकहरुले परम्परागत शैलीको छात्रवृत्तिको व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने अवस्था देखिन थालेको बताइन्छ । कतिपय प्राविधिक विषयको अध्ययनमा विश्वका विभिन्न देशले आफ्नै ढंगले त्यसको मापदण्ड तोक्न थालेका छन् । पछिल्ला दिनमा छात्रवृत्तिमा अध्ययन गरेर फर्केका विद्यार्थीको मुलुकमा तोकिएको मापदण्डसँग उक्त विषयले मेल नखाएका कतिपय दृष्टान्तले पनि विद्यार्थीहरु पहिलेझैँ छात्रवृत्तितिर उत्साहित नभएको हुनसक्ने विज्ञहरु बताउँछन् ।

अहिले विदेशमा अध्ययन गरेर नेपाल फर्केका तर स्वदेशमा इन्टर्नशीप गर्न नपाएकाको दु:ख चर्को छ । मेडिकल काउन्सिलले तोकेको परीक्षा उत्तिर्ण हुन नसक्नेहरुको संख्या पनि धेरै छ । त्यसैले परम्परातग विषयमाभन्दा अहिलेको आवश्यकताअनुसारका नयाँ विषयमा अध्ययनको लागि छात्रवृत्ति खुलेमा पुनः त्यसप्रतिको आकर्षण बढ्ने विश्वास गर्न थालिएको छ ।

अहिले इञ्जिनियरिङमध्ये पनि न्युक्लियर,टनेललगायतका धेरै वटा विषय विश्वमा सर्वाधिक आकर्षक हुन थालेका छन् । ती विषयमा नेपाललगायतका देशमा उच्चअध्ययनको सम्भावना तत्काल देखिएको छैन । त्यसतर्फ छात्रवृत्ति उपलब्ध गराउन मित्रराष्ट्रहरुको ध्यान जानुपर्ने विदेशमा पढेर आएका पुराना विद्यार्थीहरुको बुझाइ छ ।

अर्कोतर्फ, अहिले विमान सेवाका सर्वसुलभ रुट हुँदा पनि नेपालबाट नजिकै रहेका केही मित्रराष्ट्रमा पुग्न लामो यात्रा गर्नुपर्ने झण्झट छ । त्यसैगरी कतिपय मुलुकमा भिसाको समस्या पनि ठूलै छ । यी सबै पक्षले पनि एक्काइसौं शताब्दीका विद्यार्थीमा प्रभाव पारेको हो भन्न सकिन्छ ।

टिप्पणीहरू