इस्लामावाद र न्यूयोर्कको स्थगित भेट आकस्मिक संयोग

इस्लामावाद र न्यूयोर्कको स्थगित भेट आकस्मिक संयोग

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग नेपाली राजदूत तापस अधिकारीले गत साता गर्नुभएको भेटलाई नियमित प्रक्रिया भनिएको छ । केही समयअघि नै तय भएको तालिकाबमोजिम गत साता इस्लामावादस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो ।

कतिपयले हाल न्यूयोर्कमा भइरहेको राष्ट्रसंघीय महासभाको क्रममा सार्क अध्यक्षको नाताले नेपालले अफगानिस्तानको उपस्थिति रोक्न भारतीय आग्रहमा स्थगित गरेको साइडलाइन भेटवार्तासँग जोडेर पनि इस्लामावादको भेटघाटलाई अर्थ्याउन खोजेका छन् । तर परराष्ट्र मन्त्रालयले त्यस्तो केही पनि नभएको जानकारी दिएको छ ।

नेपालका राजदूतले पाकिस्तानी प्रधानमन्त्रीसँग भेटघाटको लागि मागेको समय र न्यूयोर्कमा स्थगित भएको सार्कको साइडलाइन बैठकवीच आकस्मिक संयोग मात्र भएको बताइएको छ । स्रोत भन्छ, ‘त्यो भेटघाट आकस्मिक होइन, पूर्वनिर्धारित थियो ।’

कोरोना महामारीको समयमा नेपाललाई सहयोग गर्ने उद्देश्यले पाकिस्तानले चार करोड रुपैयाँ सहयोग गरेको छ । द्विपक्षीय सहयोग बढाउन र नेपाली जनतालाई पाकिस्तानी जनताको तर्फबाट महामारीमा थप सहयोग भन्दै पाकिस्तान सरकारले थप दुइ लाख डलर दिन चाहेको समेत परराष्ट्रको उच्च स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू