एमालेमा दश बुँदेको दु:ख

नेकपा एमालेको आन्तरिक एकता कायम गर्ने उद्देश्यले गरिएको १० बुँदे सम्झौता कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली उदासीन बनेपछि खटपट शुरु भएको छ ।

उपाध्यक्ष भीम रावलसहित पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले केन्द्रीय समिति बैठकमै १० बुँदे सम्झौता कार्यान्वयन नभएको गुनासो गरेपछि रावलको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।

कार्यदलको पहिलो बैठक हिजो बसेको छ । रावलको संयोजकत्वमा बसेको कार्यदलको बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल भएको बताइएको छ ।

५५ जना केन्द्रीय सदस्यले विद्रोहको बाटो रोजेपछि रिक्त स्थानमा थपिने केन्द्रीय सदस्यहरुको नामबारे बैठकमा छलफल भए पनि सहमति जुट्न नसकेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशको विवादवारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकपछि उपाध्यक्ष रावलले धेरै ठाउँमा १० बुँदे कार्यन्वयन भए पनि केही स्थानमा नभएकाले त्यो समेत छिट्टै कार्यान्वयन हुने सहमति भएको जानकारी दिनुभयो ।

थपिने केन्द्रीय सदस्यका बारेमा छलफल भए पनि निष्कर्षमा भने पुग्न नसकिएको बताइन्छ । खासगरी उपत्यका र बाग्मती प्रदेशबाट छानिने नाममा थप छलफल आवश्यक रहेको निष्कर्षमा एमाले नेताहरु पुगेका हुन् ।

बाग्मतीबाट एमाले छाडेका केहि नेताले पुनः फर्कने वातावरण बनाउन आग्रह गरेको समेत दाबी गरिएको छ । ‘त्यसैले अन्तिम सूची निकाल्न हतार नगरिएको हो,’ एमाले स्रोतले भन्यो ।

हिजोको बैठकमा महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र उपमहासचिव घनश्याम भुसालसहित नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्टको पनि सहभागिता थियो ।

टिप्पणीहरू