स्कूले बालिकालाई खोलाले बगायो

स्कूले बालिकालाई खोलाले बगायो

मकवानपुरको राक्सिराङ गाउँपालिका-८ स्थित देवीटार आधारभूत विद्यालयबाट अध्ययन गरी फर्केकी १२ बर्षीया बालिकाको खोलाले बगाएर ज्यान गएको छ ।

आज दिउँसो साथीहरुसँगै खोला तरेकी मनिषा थिङलाई स्थानीय जिर्खी खोलाले बगाएको हो । उनको शव विद्यालयभन्दा ७ सय मीटर तल फेला परेको स्थानीय समाजसेवी बनस्तम थिङले बताउनुभयो ।

दिउँसो जिर्खी खोलाको शीरमा ठूलो पानी परेको र भेल बढ्ने क्रममै खोला तर्दा थिङलाई बगाएको बताइएको छ । साथीहरु हात समाएर खोला तर्दा सबैलाई बगाएपनि थिङ उठ्न नसकेको र अरु साथीहरुले खोला पार गरेको बताइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली जाँदै गरेको प्रहरीले जनाएको छ । पानी पर्दासमेत विद्यालयले जोखिमको पर्वाह नगरी विद्यार्थीलाई सहजै घर जान दिइएकाले घटना भएको बताइएको छ ।

टिप्पणीहरू