हामी समाजवादी, हाम्रो समाजवाद

हामी समाजवादी, हाम्रो समाजवाद

गोली खाँदा एउटाको मुखबाट निस्कियो राम !
अर्काको मुखबाट निस्कियो माओ !
अनि तेस्रोलाई ड्याम्म गोली लाग्दा
उसको मुखबाट निस्कियो रोटी !
पोष्टमार्टम रिपोर्ट भन्छ अघिल्ला दुईको पेट टन्न भरिएको थियो ।

भेटघाटका क्रममा होस् या प्रशिक्षण वा सार्वजनिक लेखनमा– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रायः दोहो¥याइरहने यी शब्द आज अकारण उब्जिएका होइनन् । संविधानले समाजवादी बाटो पक्रिएको ६ वर्ष कटिसक्यो । अहिले त राजनीतिक दलको टुप्पोमा समाजवादी फुर्को झुण्ड्याउने लहरै चलेको छ ।

देशैभर नारा समाजवादका घन्किएका छन् । बहस, पैरवीमा पनि समाजवाद नै सुनिन्छ । जता जाऊँ नेताले जुम्लो हात गरेर समाजवादकै भजन गाएका देखिन्छन् । विद्वान्हरूका झरनाजस्तै कल कल बग्ने लेक्चरमा समाजवादकै कल कल ध्वनि सुनिन्छ । तर, शहरिया उच्च वर्गले नयाँ–नयाँ जेनेराका ल्यापटप र मोबाइलमा फाइव जीसँग सफर गरिरहँदा दूरदराजका विद्यार्थीहरू थोत्रो मोबाइल बोकेर रूखका टुप्पामा चढी अनलाइन कक्षा लिन विवश छन् । प्रमाण खोज्न टाढा कतै जानु परेन केही दिनदेखि समाचार बनिरहेको एउटै तस्बिर काफी छ । रूखको टुप्पोमा बसेर कक्षा लिन विवश ती विद्यार्थीलाई हाम्रो समाजवादले देख्छ÷देख्दैन, सवाल यहाँनिर हो ।

हामी समाजवादमा झुमिरहँदा नेपालको समाजवादउन्मुख उक्त संविधान जारी गर्दाका भावुक तस्बिर नसम्झने को होला र ? राष्ट्रपति महोदयले टपक्क निधारमा जोडेर ढोग्दै सार्वजनिक गर्दाको त्यो क्षण कम्ती मर्मस्पर्शी थिएन ।

तर, मेरो संविधानको समाजवाद त्यहीँबाट च्यातिने क्रम शुरु भयो । म मेरो देशका प्रथम राष्ट्रपतिको आलोचना गर्न परहेज गर्दछु । मेरो चाह मेरा सम्माननीयले यति गरिदिएको भए माहोल अर्कै हुन्थ्यो कि भन्ने मात्र हो । किनकि दुनियाँमा यस्ता उदाहरण थुप्रै छन् । टाढा जानै परेन दक्षिणको हाम्रै छिमेकका सम्माननीय राष्ट्रपति एपिजे अब्दुल कलाम आजाद हाम्रैअगाडि उदाहरण हुँदा मेरा सम्माननीयबाट मैले यस्तै उदाहरणको अपेक्षा गर्नु स्वाभाविक हो । कलामले दोस्रो कार्यकालको आग्रह नमानेर फेरि विश्वविद्यालयमा विद्यार्थीसँग रमाउने निर्णय गर्नु कम्ती मर्मस्पर्शी थिएन । अझ कलामले आफ्नो अन्तिम श्वास तिनै विद्यार्थीमाझ फेर्दाको त्यो क्षण सम्झँदा मात्रै पनि उहाँप्रतिको आस्था अझ उचो भएर ठडिन्छ ।

त्यसको उल्टो औषधी र चिकित्सा विज्ञानका महारथ मेरा सम्माननीयले कलाम पथ अँगाल्दिनुभएन । मेरो सानो सोँच भन्छ– सम्माननीयसँग विज्ञता थियो । पुख्र्यौली सम्पत्ति प्रशस्त थियो । उहाँले चाहेको भए नेपाली राजनीतिले एउटा मिसाइल पाउने पक्का थियो । उहाँ उदाहरण भइदिएको भए भविष्यका सम्माननीयहरूलाई पनि मार्गदर्शन पक्कै हुन्थ्यो । एकातिर राज्यकोषको बचत हुने, अर्काेतिर सर्वसाधारणले सम्माननीयको हातबाट सेवा पाउने कति गजव हुन्थ्यो होला त्यो पल !

उहाँ मात्रै होइन, यस्ता थुप्रै सम्माननीय र माननीय हुनुहुन्छ जोसँग आफूभित्र विशेष क्षमता छ अनि राज्यको ढुकुटीबिना पनि धेरै गर्न सक्ने आफ्नै ढुकुटी छ । यति हँुदाहुँदै हामी हाम्रा सम्माननीयको उदाहरण दिएर छाती ठूलो बनाउन पाइरहेका छैनौँ ।

बरु हाम्रो वर्तमानमाथिको कवितामा जस्तै रोटी भन्न विवश छाँै । बाबुआमाको गरिबीको घाउमा मलम लगाउन परदेशिएको सन्तान कफिनमा बेरिएर फर्किएको हेर्न विवश छाँै । एउटा विद्यालयको छात्र आफ्नो पढ्ने जिजिविषा पूरा गर्न रूखमा लहरिएर नेटवर्क खोज्न विवश छ ।

अनि हामी उरुग्वेका जोसेहरूको उदाहरण दिएर मितव्ययिता खोजिरहेछौँ । बाराक ओवामालाई देखाएर कामको सम्मानको यात्रा गरिरहेछाैँ । आदर्शमा कलाम मात्रै देख्न बाध्य छौँ । के यहाँ यादव, भण्डारी, ओली, कोइराला र देउवाको उपस्थिति छैन ? संविधानमा समाजवाद लेखेर नआउने समाजवाद र व्यवहारमा देखेर भाग्ने समाजवादको यो कथा रोटी माग्नेहरूका लागि कहिले आउला ?

टिप्पणीहरू