एमालेको विधान महाधिवेशन: प्रयोग नयाँ तर यात्रा उल्टो

एमालेको विधान महाधिवेशन: प्रयोग नयाँ तर यात्रा उल्टो

नेकपा एमालेले विधान महाधिवेशन र नेतृत्व महाधिवेशन फरक फरक समयमा हुने तयारी गरेर नेपाली राजनीतिमा नयाँ सुरुवातको सङकेत दिएको छ । एमालेको यो तयारीसँगै नीति र नेतृत्व महाधिवेशन फरक फरक समयमा किन गर्ने ? भन्नेमा बहसको थालनीसमेत भएको छ ।

देशकै मुख्य विपक्षी दलले शुरु गरेको यस परम्परामा विभिन्न खाले प्रतिक्रिया आएका छन् । सत्ताको नेतृत्व गरेको नेपाली काङग्रेसले नीति र नेतृत्व महाधिवेशनलाई सकारात्मक रुपमा लिएको छ । सँगै एमालेले गरेको यो सुरुवातलाई खाली अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउने प्रपन्च नहोस् भनेर खवरदारी समेत गरेको छ ।

अध्यक्ष ओलीले आफू ७० वर्ष पुग्नै लाग्दा गर्न थालेको विधान महाधिवेशन आफू जोगिने र आफूसँगै प्रतिष्पर्धीहरुलाई अवकास दिलाउने रणनीतिभन्दा माथि उठ्नुपर्ने काङग्रेसको सुझाव रहेको छ ।

सरकारमा रहेको दोश्रो ठूलो दल एनेकपा माओवादी पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ । उसले पनि आफ्नो सम्मेलनलाई नीति केन्द्रित बनाउने बताएको छ । माओवादी पार्टीका नेता नारायणकाजी श्रेष्ठ नीति र नेतृत्व महाधिवेशन फरक फरक समयमा गर्दा विषय केन्द्रित भएर बहस गर्न सकिने बताउँछन् ।

यो विषय माओवादीले फरक तरिकाले पहिल्यैदेखि कार्यान्वयन गर्दै आएको उनको दावी छ । माओवादीले विगतमा गरेका सम्मेलनहरु नीति र कार्यक्रममा छलफल गर्ने मन्च बनेको स्मरण गर्दै यस्ता अधिवेशनहरु फरक समयमा हुने हुँदा दुईवटै काम सहज र गहन हुने बुझाइ श्रेष्ठको रहेको छ ।

तराई केन्द्रित दलहरुले पनि एमालेले फरक फरक समयमा गर्न लागेको विधान र नेतृत्व महाधिवेशनलाई चासोका साथ हेरेको बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा यो नयाँ सुरुवातलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।

वामपन्थी विश्लेषक श्याम श्रेष्ठले एमालेको आसन्न विधान महाधिवेहनलाई गोरु पछाडि,गाडा अगाडिको संज्ञा दिए । एमालेमा विचारको मृत्यु भइसकेकोले त्यसलाई छोप्न विधान महाधिवेशनको ढोँग गरेको आरोप पनि लगाए । श्रेष्ठ भन्छन्- एमालेले विश्व कम्युनिष्ट आन्दोलनमा कहिँ कसैले नगरेको नयाँ काम गर्न खोजेको तर यो उसको उल्टो यात्रा हो । नयाँ तर उल्टो बाटोमा एमाले हिँडेको श्रेष्ठको ठहर छ ।

यसैवीच आज ओलीले सम्पादकसँग अन्तर्कृया गर्न लागेका छन् । अल्फा हाउस बानेश्वरमा दिउँसो सवा चार बजेका लागि सम्पादकहरुलाई निम्ता पठाइएको छ ।

पछिल्लो समय अध्यक्ष ओली मिडियाबाट टाढिएको जस्तो देखिएका वेला सम्पादकसँग अन्तर्किया कार्यक्रम राखिएको छ । सम्पादकहरुलाई पठाइएको छोटो निम्तापत्रमा अन्तर्कृयामा छलफलका विषय भने नखुलाइएको एक सम्पादकले जानकारी दिए । आजको छलफलमा ओलीले एमालेले गरिरहेको सँसद अवरोधवारे स्पष्ट पार्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू