बाटो चिप्लेर एकको मृत्यु,एक घाइते

बाटो चिप्लेर एकको मृत्यु,एक घाइते

तीब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो हुँदा हिजो भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा दुर्घटना भएको छ । बेलुका करिब साढे आठ बजेको समयमा मोटरसाइकल र भारततर्फ जाँदै गरेको १८ चक्के खाली टेलर गाडी ठोक्किएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना सामान्य उपचारपछि घर फर्केका छन् । अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौतर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरसाइकललाई सूर्यबिनायकबाट राधेराधेतर्फ जाँदै गरेको आर जे ०२ जिबी १९१७ नम्बरको भारतीय गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक जिल्ला भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ३ बालकोट बस्ने बर्ष ४५ को गणेश रजौरा र मोटरसाइकलमा पछाडि सवार जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने बर्ष २८ को अमृत सिलवाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मोटरसाइकल चालक गणेश रजौराको बेलुका ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल मोटरसाइकल, टेलर र टेलर चालक भारतको राजस्थान प्रदेश अलबर जिल्लाका ५० बर्षीय महादेव शर्मा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीले बताउनुभएको छ ।

टिप्पणीहरू