​कांग्रेसभित्र बातैपिच्छे बिग्रिएका कुरा

मुलुकभर वाम गठबन्धनको लहर छाएपछि कांग्रेसभित्र आपसमै कुरा मिल्न छाडेको छ भने यता र उता गर्दै सभापति शेरबहादुर देउवा भत्भताउने क्रम बढेको छ । यसपालि डडेल्धुरा शेरबहादुरका लागि यति धेरै प्रतिकूल बनेको छ कि, काठमाडौंमै हिसाब निकाल्दा पनि जित्न मुस्किल पर्ने बुझेर प्रचण्डसँग कुरा गर्न थालेका छन्् । आफ्ना लागि त्यहाँका वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टलाई ब्रेक गराएर चुनाव जित्न शेरबहादुरले प्रचण्डसँग प्रस्ताव राखेका छन्, चितवन जिताउने गरी ।

प्रचण्डलाई त्यता सजिलो बनाउन विक्रम पाण्डेलाई धोका दिँदै कांग्रेसका मान्छेलाई प्रचण्डलाई मतदान गर्न लगाउने शेरबहादुरको प्रस्ताव छ । तर, प्रचण्ड डडेल्धुराका हकमा खगराजलाई ब्याक गराउन मानिरहेका छैनन् । यदि, त्यसो गरेमा चितवनमा एमालेको असहयोगको सम्भावना र त्यही कारण हार्नुपर्ने खतरा औँल्याइरहेका छन् । यदि, डडेल्धुरामा वाम गठबन्धनबाट एमालेका डा.तारा जोशी उठेको भए देउवाले यति पापड पेल्नु नपर्ने भन्ने गरेका छन् । चितवनको कुरा आउँदा प्रकाशमान पनि जोडिन्छन् । चितवनका सभापति जितनारायण श्रेष्ठ प्रकाशमान पक्षधर हुन् । उनी शेरबहादुरको कुरा लागू गराउन प्रचण्डसँग सम्पर्कमा छन् । तर, शेरबहादुरचाहिँ प्रकाशमानको चिन्ता गरिरहेका छैनन्, आफ्नो कुरा मात्रै भन्न लगाइरहेका छन् । उता, प्रचण्डलाई जिताएर डडेल्धुरामा आफूले जित्ने हो भने प्रकाशमानले काठमाडौंका प्रचण्डका उम्मेदवार हराउने खबर पठाएका छन् । यदि, त्यस्तोखाले सहमतिको सम्भावना भएमा प्रकाशमानका प्रतिस्पर्धी अनिल शर्मा र कांग्रेस छाडी अर्को पार्टी खोलेका हरिबोल भट्टराईलाई ब्याक गराउनुपर्ने प्रकाशमानको कुरा छ । रामचन्द्र पौडेललाई आफ्नोभन्दा अरू कसैको चिन्ता छैन । टिकट वितरणको बेला शशांकले तीर्थ लामा, सिबी लामा, विष्णु खत्रीहरूका पक्षमा बाहेक अरूका कुरामा अडान लिएनन् । उनी अहिले देउवाप्रति समर्पित भएर गुट पनि ध्वस्त पारेको भनिँदै छ ।

प्रधानमन्त्रीको पिर
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार हो भनेर शेरबहादुरले ताप्लेजुङबाट घोषणा गर्ने र त्यही घोषणा दार्चुलासम्म गर्दै जाने कांग्रेसको नीति हो । तर, ताप्लेजुङ पुग्दा शेरबहादुरलाई सम्झाउँदा सम्झाउँदै उनले पनि त्यो कुरा बोलेनन् । जबकि, शेरबहादुर आफैँले रामचन्द्रसँग ‘तपाईंलाई म प्रधानमन्त्री बनाउँछु, घोषणा नै गर्छु’ भनेका थिए । शशांकले बिबिसीमा ‘शेरबहादुरको विकल्प खोज्नुपर्छ । अब कि म कि रामचन्द्र पौडेल प्रधानमन्त्री हो’ भनेको कुराले गर्दा शेरबहादुर सहमतिबाट पछाडि हटेको बताइन्छ ।

शेरबहादुर ताप्लेजुङ जाने अघिल्लो दिनको अन्तर्वार्ता हो त्यो । यो अन्तर्वार्ताअघि शेरबहादुरले शशांकलाई भनेका थिए, ‘मैले रामचन्द्रजीलाई बचन दिइसक्या छु । अब तपाईंले रामचन्द्रजीकै नाम भन्नुस् भन्नुहुन्छ भने भनौँला । तर, खतरा के हो भने चुनावपछि रामचन्द्रले मेरो नाममा जनमत आएको भनेर प्रधानमन्त्रीको दाबी छाड्दैनन् । यदि, रामचन्द्रलाई रोक्नु छ भने आफैँले प्रधानमन्त्री घोषणा गर्नुस् । यसपछि तपाईंहरूको गुटमा विवाद हुन्छ । मलाई पनि सजिलो हुन्छ ।’ शशांकले बिबिसीमा यही सहमतिअनुसार बोलेका हुन् । यो कुरा पत्तो पाएपछि शेरबहादुरसँगै ताप्लेजुङ जानुपर्ने रामचन्द्र तनहुँबाट काठमाडौं नै आएनन् । सोध्नेहरूलाई ‘म जान्नँ । तनहुँतिरै लाग्नुपर्ने भयो’ भनी खबर पठाए । तर, शेरबहादुर ताप्लेजुङ उडिसकेपछि रामचन्द्र काठमाडौं आए । शेरबहादुर फर्किएको साँझ कुरा गरेर अस्ति सोमबार तनहुँ फर्किए ।

पटक–पटक प्रचण्ड
प्रकाशमान, रामचन्द्र, शशांकलाई प्रत्येक अवसरमा ४० प्रतिशतका दरले भाग दिने सहमति हो । अहिले शेरबहादुरको कुरा रामचन्द्र र शशांकले जस्ताको तस्तै मानिरहेका कारण उनीहरूलाई जिताउने काममा पनि शेरबहादुर लाग्नुपरेको छ । वाम गठबन्धनको घोषणा भएयता मात्रै शेरबहादुर र प्रचण्डको चार पटक भेट भइसक्यो । त्यसमध्ये दुईपटक त बालुवाटारमै भेट भएको हो । उनीहरूबीच फोनमा फ्रिक्वेन्टली कुरा भइरहेको छ । पिए भानु देउवासँग हुने फोनको रेकर्ड हेर्दा रामचन्द्र र शशांकसँग जत्तिकै शेरबहादुरको कुरा प्रचण्डसँग भएको देखिन्छ । अर्थात्, आफूसँगै शशांक र रामचन्द्रलाई जिताउने कुराका लागि हो, उनले प्रचण्डसँग कुरा मिलाउन खोजिरहेको ।

प्रचण्डको एउटै जवाफ छ, ‘यही कुरा केपीजीसँग पनि गर्नुस् न † उहाँसँग तपाईंले कुरा गरेपछि बल्ल मैले उहाँलाई कुरा राख्ने बाटो खुल्छ । मैले मात्रै कुरा राखेँ भने भर्खर तपाईंहरूसँगको गठबन्धन तोडेको, फेरि किन कुरा ल्यायो भनेर अविश्वास बढ्छ ।’ तर, काठमाडौं १ मा वाम गठबन्धनका उम्मेदवार अनिल शर्मालाई प्रचण्डले चाहँदा पनि ब्याक गराउन नसक्ने जवाफ दिइसकेका छन् । किनभने, उनी जनार्दन शर्माका भाइ हुन् ।

चिन्ता चर्को 
कांग्रेस छाडेर नेपाली कांग्रेस (बिपी) नामक पार्टी गठन गर्नेमध्येका सक्रिय नेता (महामन्त्री) सुशीलमान शेरचनको अन्तर्वार्ताका लागि जनआस्थाकर्मी गत शनिबार नयाँबानेश्वर पुग्दाको एउटा सन्दर्भ, जसले देउवा कति धेरै चिन्तित छन् भन्ने बुझाउँछ । बिहीबार उक्त पार्टीका सभापति तथा काठमाडौं–१ का उम्मेदवार हरिबोल भट्टराई चाहिएजति सबै कुरा तत्कालै दिने तर उम्मेदवारी फिर्ता लिनुस् भनेका देउवाको कुरा उनीहरूले मानेनन् । त्यसपछि जनआस्थाले सुशीलमानको अन्तर्वार्ता लिइरहँदा २५ मिनेटको बीचमा भानु देउवाले सुशीलमानलाई १६ पटक फोन गरे । तर, सुशीलले फोन उठाएनन् ।

फोनको घन्टी देखाउँदै उनले भने, ‘हेर्नस्, हामीले अब कुरा मिल्दैन भनेर शेरबहादुर दाइसँग कुरा गरिसक्यौँ । तर, भानुलाई फोन गर्न लगाइरहनुभएको छ ।’ फोन नउठाउनुको कारण उनले बताए, ‘केही पनि चाहिएन, हामी चुनाव लड्छौँ भन्दा पनि उहाँ हामीलाई अझै फकाउने ध्यानमा हुनुहुन्छ । तर, अब किन फोन उठाउने ? हामी धेरै अगाडि बढिसक्यौँ ।’ सार्वजनिक अभिव्यक्ति दिँदा कांग्रेस (बिपी) ले एक–डेढ सय भोट मात्र तल–माथि पार्ने भनिए पनि त्यही पार्टीले सिध्याउला भन्ने चिन्ता शेरबहादुरमा छ । (हेर्नुहोस्, अन्तर्वार्ता पृष्ठ ५ मा)

टिप्पणीहरू