कहिले पालो दाइको, कहिले पालो भाइको

कहिले पालो दाइको, कहिले पालो भाइको

केपी ओली नेतृत्वको सरकारको पालामा दाइ र अहिलेको सरकारमा साख्खै भाइलाई एउटा सँवेदनशील सरकारी अड्डाको हाकिम बनाइएको छ । एकाघरका दाजुभाइलाई पालैपालो हाकिम बनाइएको अफिस भने पुल्चोकस्थित शक्तिशाली सम्पत्ति शुध्दिकरण अनुसन्धान विभाग हो ।

सत्ताले रिस साँध्ने काममा प्रयोग हुने उक्त विभागको महानिर्देशकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रेम भट्टराईलाई पठाएको छ । उनले पदभार समेत ग्रहण गरिसकेका छन् । अघिल्लो साता सरकारले एकै पटक ८५ जना सहसचिव सरुवा गर्दा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रहेका भट्टराईलाई एकाएक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको थियो ।

भट्टराईको ठाउँमा गुल्मीबाट रुद्रादेवी शर्मालाई भक्तपुर लगियो । जनआस्थाले दुई साताअघि भट्टराईलाई सम्पत्ति शुद्धिकरण विभागको नयाँ हाकिम बनाउने तयारी गरिएको खबर प्रकाशित गरेको थियो । विभागलाई पूर्वप्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभएको हो ।

सरकारी अड्डामध्ये शक्तिशाली निकायमध्येको एक मानिने उक्त विभागमा पठाइएका भट्टराई यसअघिका महानिर्देशक रुपनारायण भट्टराईका आफ्नै माइला भाइ हुन् । ५८ वर्षे उमेर हदबाट घर जान तीन महिना बाँकी रहेका रुपनारायणलाई यसअघि त्यहाँ लगिएको ५ महिनामै उपराष्ट्रपतिको कार्यालयमा व्यवस्थापन गरिएको थियो ।

त्यसपछि गजेन्द्र ठाकुरलाई हाकिम बनाइयो । ठाकुरलाई हटाएर यसअघि दाइ नै हाकिम भएको ठाउँमा भाइलाई पठाइएकोमा अहिले निजामती कर्मचारीहरुले कैफियत खोज्न थालेका छन् ।

उता,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा मतिना वैद्यलाई लगिएको छ । वैद्य यसअघि चिनी काण्डमा मुछिएकी थिइन् ।

टिप्पणीहरू