कतै पनि नलागेर वामदेव गौतमको नयाँ पार्टी

कतै पनि नलागेर वामदेव गौतमको नयाँ पार्टी

एमाले उपाध्यक्ष छाडेर निस्क्रिय बस्नुभएका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टीको अवधारणा अघि सार्नुभएको छ । आफ्ना विश्वासपात्रहरुसँगको हालैको भेटमा गौतमले नयाँ पुस्ताका युवालाई समेटेर नयाँ दल हाँक्ने संकेत गर्नुभएको हो ।

एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बन्ने चर्चालाई पनि उहाँले होइन भन्नुभएको छ । एकीकृत समाजवादीले आफ्नो विधानमा मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद नलेखेसम्म उक्त पार्टीमा नजाने गौतमको अडान रहेको छ । त्यही क्रममा उहाँले बरु नयाँ पार्टी गठन गरेर अघि बढ्ने बताउनुभएको हो ।

गौतमको नयाँ पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको बुझिएको छ । आयोगमा पहिले नै दर्ता भएको कुनै एउटा पार्टीलाई आफ्नो नेतृत्वमा अघि बढाउन उहाँले कुरो गर्नुभएको स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘उहाँले कम्युनिष्ट पार्टी उल्लेख नगर्ने तर नयाँ पार्टीको सिध्दान्त मार्क्सवाद लेनिनवाद हुने बताउनुभएको छ ।’

यसअघिका पुराना साथीहरुले छाडे पनि नयाँ पुस्ताको ठूलै डफ्फा आफ्नो नेतृत्वमा अघि बढ्न तयार रहेको गौतमको बुझाई छ । उहाँले एमाले छाडेर उपाध्यक्ष भीम रावल समेत आउने कुरो गर्नुुभएको हो । रावलले एमाले छाड्ने विश्वासमा वामदेव गौतम हुनुहन्छ ।

तर,अरुले भने रावलको भनाइमा विश्वास गर्नुहुँदैन,२ दिनमै काटामार शुरु हुन्छ है भनेर सम्झाएका छन् ।

टिप्पणीहरू