बुद्ध एअरकै जहाजमा किन यति धेरै समस्या ?

बुद्ध एअरकै जहाजमा किन यति धेरै समस्या ?

काठमाडौंबाट बिराटनगरका लागि आज बिहानै उडेको बुध्द एअरको विमान दाहिने पट्टीको चक्का नखुल्दा काठमाडौँ नै फर्कियो । काठमाडौं फिर्ता भएको उक्त विमान सहज अवतरण हुन सकेन र आकाशमै निकै बेर फन्को मार्नुपर्यो । अन्ततः चालकको कुशलताका कारण जहाज सुरक्षित अवतरण भयो र ठूलो दुर्घटना टरेको छ ।

आजै काठमाडौंबाट पोखराका लागि उडेको बुध्द एयरकै अर्को जहाज ककपिटमा धुवाँ निस्किएपछि काठमाडौं फिर्ता भएको छ । बिहान साढे ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको उक्त जहाज अचानक पाइलटको क्याबिनबाट धुँवा आउन थालेपछि पोखरा नपुगी वीच बाटोबाटै काठमाडौं फिर्ता भएको हो ।

बुध्द एअरकै अर्को जहाज काठमाडौं–धनगढी उडानमा रहँदा हिजो त्यस्तै समस्या देखिएको बताइन्छ । उडिरहेको विमानभित्र सामान्य समस्या आउँदा पनि त्यसलाई निकै संवेदशनशील मानिन्छ । तर,बुध्द एअरले भने ती सबै घटनालाई सामान्य प्राविधिक समस्या भनेको छ । ‘सामान्य टेक्निकल एरर हो,यसलाई ठूलो रुपमा लिनु हुँदैन,’ एअरलाइन्सका एक प्राविधिकले भने ।

जहाज उड्नुअघि चेक गर्दा सबै ठीक देखिएको तर,एक्कासी इण्डिकेटरमा समस्या आएकाले मात्र ११ मीनेटमै अवतरण गराइएको भने उनले पुष्टि गरेका छन् । पाइलटको सावधानी र आफूहरुको प्रयासले सम्भावित दुर्घटनाबाट बचेको पनि प्राविधिकले बताए । ‘कहिलेकाँही यस्ता टेक्निकल एररहरु आउँछन् तर आत्तिनुपर्ने ठूलो समस्या होइन । हवाई सुरक्षामा हामी संवेदनशील छौँ,’ उनले भने ।

पछिल्लो २४ घण्टामा तीनवटा उडानमा समस्या आएपछि भरपर्दोमध्येको वायुसेवा मानिने बुद्ध एअरको विश्वसनीयतामाथि प्रश्न भने उठेको छ । यसै पनि हवाई उडानका लागि पश्चिमा राष्ट्रहरुले नेपाली आकाशलाई सुरक्षित मानेका छैनन् । बुध्दका जहाजमा देखिएका पछिल्ला समस्याले दुर्घटनाको खतरा बढाएको हवाई क्षेत्रका जानकारहरुको भनाइ छ । बुद्धले भने जहाज पुराना भएकाले प्राविधिक समस्या आएको भन्ने कुरा सत्य नभएको दाबी गरेको छ ।

नेपालको हवाई सुरक्षामाथि अन्तर्राष्ट्रियस्तरमै प्रश्न उठिरहेको छ । युरोपियन युनियन (ईयु) ले नेपालको उड्ययन क्षेत्र सुरक्षित नरहेको भन्दै लामो समय कालोसूचीमा समेत राखेको थियो । नेपालमा वायुयान दुर्घटना दर अधिक रहेको र नियमन पनि प्रभावकारी नभएको इयुले पटक पटक निष्कर्ष निकालेको छ ।

टिप्पणीहरू