सेनापतिमा सर्लक्कै

सेनामा सामान्यतया प्रहरीजस्तो ठूलो चलखेल हुन पाउँदैन । सेना प्रमुख बन्नेमा को पछि कसको पालो आउँछ भनेर राजाको पालादेखि नै एउटा सिष्टम बनेको छ । यदाकदा गडबडी हुनु बेग्लै कुरा ! नेपाल प्रहरीमा पनि आइजीबाट बिदा हुने बेला धेरैले महानिर्देशक (डिजी) बन्ने प्रयत्न र्छन् । ३० वर्षे उमेर हद हटाउने कुरा चल्छ । सेनामा पनि त्यस्तै हो । यसभन्दा अगाडि भिक्टर राणा, पवनबहादुर पाँडे, नेपालभूषण चन्दहरूको पालामा पनि बहालवाला प्रमुख रिटायर्ड भएपछि आफू त्यो ठाउँमा उक्लन अनेक चलखेल भए । 

सोझो हिसाबले भन्दा सर्टिफिकेट काण्ड लागेका कोहीचाहिँ म्याद थपेर बस्ने कोही भने घर जान बाध्य हुने घटनाक्रम पनि देखिएकै छ । दोस्रो व्यक्तिको म्याद थपचाहिँ प्रधानसेनापतिको तजबिजी अधिकारजस्तो मात्रै भयो । यसबाट भोलिका रोलक्रमवालाहरू पीडित बन्ने खतरा छ । धर्मपालवरसिंह थापा चिफ हुँदा उनको धर्मपुत्रजस्तो मानिने अनुज बस्नेत, जो अंग्रेजी भाषा परीक्षामा फेल भए, उनको म्याद थप्दिनँ भनेर अहिलेका सेनापतिले भनेकै हो । तर, म्याद थप्न लागिँदै छ । अर्को वर्षदेखि उनी सेनाको सेकेन्डमेन हुँदै छन् ।

रक्षामन्त्रीदेखि ठूलो शक्ति लागेर उनको म्याद थपिँदा सेनामा भने रोलक्रममा ठूलै उथलपुथल हुने देखिँदै छ । देव सुवेदी, शरद गिरी, प्रह्लाद थापाहरूले अब बीचैमा घर जानुपर्ने भयो । कत्तिको वृत्तिविकासमा पूर्णविराम लाग्ने भयो । प्रह्लाद थापा इटहरीबाट भ्रष्टाचार काण्डमा परेका हुन् । बूढानीलकण्ठ घर भएका उनी कार्यालय जाँदैनन्, स्टाफ कलेज टोखामा । तलै घरमा फाइल मगाएर सदर गर्ने गरेको भन्दै प्रधानसेनापतिले यिनलाई हेडक्वार्टर बोलाएर गाली गरिसके । प्रकाश केसी, गंगा गुरुङ, रमेश महतलगायत जर्नेल घर गए भने भैरवनाथ काण्डवाला राजु बस्नेत पनि पालो कुरिरहेका छन् ।
अब प्रधानसेनापतिको लाइनमा प्रभुराम शर्माको बाटो खुलेको छ । पूर्णचन्द्र थापापछि शर्मा सेना प्रमुख बन्नेछन् । अपवादका रूपमा ब्रह्मण परिवारका मान्छेमध्येबाट सेनापति बन्ने अवसर उनले पाउने भएका छन् ।

टिप्पणीहरू