​छोरो हुनु त अर्को लोकमानको जस्तो

पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरूपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको एउटा राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो । घर र मन्दिरभन्दा पार्टी प्यालेसहरूमै यस्ता भोज बढीजसो हुने गरेका छन् । सहजता र सरलता दुवै हिसाबले ।

अर्को पनि महŒवपूर्ण कुरा छ, त्यो के भने यो व्यवसायमा कर लाग्दैन । त्यसैले यसमा आकर्षण पनि बढ्दो छ । यही धन्दामा संलग्न एकजना भिआइपीका छोराले प्रहरी प्रमुख निवासको ठ्याक्कै अगाडिपट्टि नक्साल ब्याँक्वेट सात वर्षदेखि सञ्चालन गर्दै आएका थिए । त्यो जमिनमा साम्राज्य समशेरको दरबार थियो निकै पहिले । पछि सोनाम तामाङ नामका व्यापारीले किने । उनी प्रायः विदेशतिरै बस्ने । उनको नाममा रहेको उक्त जग्गामा पार्टी प्यालेस गतिलै फस्टाएको छ । त्यहाँ राम्रो होटल पनि चल्ने देखेपछि भाडामा दिएको करार सकिएको अवस्थामा छाड्न अनुरोध गरे । ‘म होटल खोल्छु, जग्गा खाली गरिदेऊ’ भनेका मात्र थिए, उनीविरुद्ध सम्पत्ति शुद्दीकरण विभागमा मुद्दा परिहाल्यो । सोनाम तामाङ तिब्बती नागरिक हो, यसले कसरी नेपाली नागरिकता पायो ? यत्रो सम्पत्ति कसरी कमायो ? कहाँबाट आयो ? भन्नेजस्ता प्रश्न उठाउँदै उजुरी परेको हो । झण्डै पारसले चढ्नेभन्दा पनि महँगो मोटरसाइकल चढ्छन् ती ब्यांक्वेट मालिक तर उता लामाविरुद्ध चाहिँ ‘कतै विदेशी पैसाको अवैध ओसारपसार त होइन ?’ भन्दै प्रश्न उठाइयो । 

कमल नाम गरेका ती ब्यांक्वेट मालिकले करार सकिन लाग्दा सोनामको समेत चाहना बुझेर होला, दह्रैसँग अत्याए । बाघ कराउनु, बाख्रा हराउनुझैं एकातिर करार सकिन लाग्दा मुद्दा प¥यो भने अर्कोतिर विभिन्न च्यानलमार्फत ती भोटेलाई यसरी थर्काइयो कि उनी बाध्यतावश १० वर्ष करार अवधि थप गरेको कागजमा ल्याप्चे हान्न तयार भए । त्यसपछि जग्गा कसरी किने भन्ने आरोपचाहिँ उनी झिटिगुण्टा र सुन व्यापारी भएको, नियमित कर नतिरेको प्रमाणको आधारमा सफाइमा पुगेर टुंगियो । 

उनले प्रमाण पेश गरेकै आधारमा मात्र उन्मुक्ति पाएका हुन् । खोज्दै जाँदा ०३६ सालमा नै बाबुले र उनले ०४४ सालमा नागरिकता लिएको पनि देखियो । जबकि सम्पत्ति शुद्दीकरण ऐन ०६४ सालमा मात्र बनेको हो । त्यसमाथि त्यो जग्गाको क्षेत्रफल जम्मा ६ रोपनी १० आना मात्र हो तर सम्पत्ति शुद्दीकरण विभागमा १० रोपनी भनेर उजुर हालिएको थियो । यसरी भिभिआइपी बाबुका एक्ला छोरा कमलले सोझा व्यापारीलाई यसरी बाध्य पारे कि उनीसमक्ष सायद अन्य विकल्पै थिएन । छोराले आफ्नो व्यावसायिक स्वार्थका निम्ति शक्ति प्रयोग गर्न सक्ने हैसियतवाला बाबु को होलान् ? उनी संवैधानिक अंगमा छन् । लोकमानजस्तै हैसियतमा । तर, उनलाई चिन्ने जिम्मा भने आदरणीय पाठकहरूलाई नै !

टिप्पणीहरू