पत्रकार कुटिने क्रम बढ्यो

पत्रकार कुटिने क्रम बढ्यो

सञ्चारकर्मीमाथि पटक पटक हातपात हुँदा पनि दोषीलाई सम्बन्धित निकायले कानुनी दायरामा नल्याएकोमा नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ ।

केही दिनअघि रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित बिष्टमाथि कार्यालय हाताभित्रै हातपात भएको छ । कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिइएको छ ।

समाचारको स्रोत नखुलाई अनलाइनमा प्रकाशित गरेको भन्दै कालिकोटस्थित शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले सिम्खडामाथि कार्यालय हाताभित्रै हातपात गरेकी हुन् । उनका श्रीमानले सिम्खडालाई ज्यान मार्ने धम्कीसमेत दिएको महासंघको कालिकोट शाखाले जनाएको छ ।समाचार संकलनका क्रममा भाद्र १० गते नेपाली जनता अनलाइनका सम्पादक यज्ञ ढकालमाथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकालचौरको खरिद शाखाका प्रमुखसहित कर्मचारीले हातपात गरेका थिए । उक्त घटनाप्रति पनि पत्रकार महासंघले कडा आपत्ति जनाएको छ ।

कुनै पनि बहानामा सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्ति र उनका एकाघर परिवारबाट सञ्चारकर्मीमाथि यस किसिमको हर्कत हुनु आफैंमा निन्दनीय घटना हुनुका साथै प्रेसविरोधी काम रहेको पत्रकार महासंघको ठहर छ ।

ती सबै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार आचारसंहिताको पूर्णपालनासहित सञ्चारकर्ममा जुट्न महासंघले आह्वान गरेको छ ।

टिप्पणीहरू