दशैलाई लक्षित गरेर आजदेखि खुल्यो अग्रिम टिकट बुकिङ

दशैलाई लक्षित गरेर आजदेखि खुल्यो अग्रिम टिकट बुकिङ

दशैको लागि उपत्यका छोड्ने यात्रुहरुलाई लक्षित गरि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका बिभिन्न क्षेत्रबाट अध्ययन, व्यापार-व्यवसाय, रोजगारीको लागि काठमाडौँ आएकाहरुलाई दशैँमा घर फर्किन सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक काठमाडौँ छोड्नेको भीड बढ्ने भएकोले विगत केहि वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गर्ने गरिएको छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको छैन । कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेका कारण यो वर्ष काठमाण्डौ छोड्नेको संख्या कम हुने आँकलन गरिएको छ ।

अग्रीम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन देखिएको छ ।

कोरोना सङ्क्रमणका कारण गत वर्ष अग्रिम टिकट बुकिङ खुला नगरिएको भएपनि यसवर्ष भने समयमा नै बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । उनले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरु थप्दै जाने पनि बताएका छन् ।

नयाँ बसपार्क बाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने बताइएको छ ।

विश्वका विभिन्न देशसहित नेपालमा पनि कोरोना सङ्क्रमण यथावत रहेकाले टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालिले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना प्रहरी खटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू