​पूरै असफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै बेला राजा ज्ञानेन्द्रले ‘असफल प्रधानमन्त्री’ भन्दै कुर्सीबाट हटाएका थिए । वास्तवमा उहाँलाई राजा ज्ञानेन्द्रले त्यसै हटाएको चाहिँ होइन रहेछ । साँच्चै असफलै भएकोले हटाएको रहेछ भन्ने कुरा अहिले आएर पुनः प्रमाणित भएको छ । 

खोज्ने नै हो भने त्यसको अनेकौं प्रमाण छन् । जस्तो कि उहाँले माओवादी अध्यक्षलाई साथमा लिएर सरकार बनाउनुभएको थियो । तर माओवादी अध्यक्षलाई एउटा चुनाव सकेर अर्को चुनावसम्म पनि साथमा लिन सक्नुभएन । माओवादीलाई आफ्नो साथमा राख्न उहाँ पूरै असफल हुनुभयो । 

अर्को, माओवादी र एमालेले वाम गठबन्धन बनाए पछि उहाँले पनि लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास गर्नुभएको थियो । तर प्रयास मात्रै गर्नुभयो बनाउन चाहिँ असफलै हुनुभयो । उहाँको लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अलग्गिने तयारी भइरहेको छ भने राप्रपा (प्रजातान्त्रिक) त अलग्गिनै सकेको छ । यसमा पनि उहाँ असफलै हुनुभयो । 

वाम गठबन्धन बने पछि उहाँले मंसिर हुन लागेको चुनावै सार्ने प्रयास गर्नुभएको थियो । चुनाव सार्न उहाँले के मात्रै गर्नुभएन ? राष्ट्रपतिलाई गुहार्नुभयो । सभामुखलाई भन्नुभयो । अन्तिममा सर्वोच्चबाट आदेश जारी गराउनुभयो । तर सक्नुभएन । निर्वाचन आयोगले दुइटा भए दुइटै मतपत्र छापौंला तर चुनाव चाहिँ तोकिएकै मितिमा गरौंला भन्ने निर्णय गरिदियो । 

यसरी चुनाव सार्न भगिरथ प्रयास गर्दा पनि प्रधानमन्त्री देउवा असफल नै हुनुभयो । ६३–६३ जनाको मन्त्रिमण्डल साथमा हुँदा पनि जाबो एउटा चुनाव सार्न उहाँ सफल हुनुभएन । यस्तो प्रधानमन्त्रीलाई के सफल प्रधानमन्त्री भन्ने ? अब उहाँको अन्तिम असफल हुने दिन नजिक आउँदै छ – मंसिर १० र मंसिर २१ गते । त्यसपछि उहाँ शायद असफलै हुन पनि सफल हुनुहुन्न होला ।     

टिप्पणीहरू