स्मार्ट लाइसेन्सको पर्खाइमा ६ लाख,कहिले पाउने अत्तोपत्तो छैन

स्मार्ट लाइसेन्सको पर्खाइमा ६ लाख,कहिले पाउने अत्तोपत्तो छैन

यातायात व्यवस्था विभागको ढिलासुस्तीका कारण डेढ वर्षअघि लिखित र प्रयोगात्मक परीक्षा उत्तिर्ण गरेका करिब ६ लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । लाइसेन्स छाप्न कार्डको अभाव हुँदा समस्या भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

हाल यातायात व्यवस्था विभागले १४ लाख वटा स्मार्ट कार्ड प्राप्त गर्ने गरी फ्रान्सेली कम्पनीको टेन्डर स्वीकृत गरेको छ । आगामी एकदेखि डेढ महिनामा कार्ड छाप्ने र वितरण प्रक्रिया कार्यान्वयनमा आउने अनुमान गरिएको छ ।

अघिल्लो वर्षदेखि कोरोनाको कारण लामो समय कार्यालय बन्द रहेको दर्शाउँदै यातायात व्यवस्था विभागले नयाँ आवेदन बन्द गरेको बताइएको छ । दशैंपछि खोल्ने भनिएको नयाँ आवेदनसमेत खुल्ने सुरसार छैन । पहिलेकै आवेदनबमोजिम लाइसेन्स नछापिएसम्म नयाँ आवेदनमा रोक लगाइएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभएको छ ।

पहिलेका ६ लाख सेवाग्राहीको लाइसेन्स छाप्नै १० महिना लाग्न सक्ने भुसालको अनुमान छ । ट्रायल पास गरेको वर्षौंसम्म पनि लाइसेन्स नपाएको गुनासो सेवाग्राहीहरुले गरिरहेका छन् । अहिले यातायात व्यवस्था विभागले उपलब्ध गराएको रसिदको आधारमा सर्वसाधारणहरु सवारी चलाउन बाध्य छन् ।

स्मार्ट भन्दै खोलिएको लाइसेन्स प्रक्रिया अहिले सबैको लागि झन्झटिलो बन्न पुगेको छ । विभागको लापरबाहीको कारण धेरैको नाम र ठेगाना नै गलत छापिएर आउने गरेको गुनासो छ । यसबाट स्मार्ट लाइसेन्स छाप्ने कार्डको समेत समुचित प्रयोग नभएको स्पष्ट भएको छ ।

यतिखेर यातायात व्यवस्था विभागमा प्रतिघण्टा ४ सय ५० वटा कार्ड छाप्न सक्ने क्षमताको मेसिन छ । तर उक्त मेशिनले प्रतिघण्टा १ सय वटा कार्ड छाप्न पनि मुश्किल हुने कर्मचारीहरु बताउँछन् । विभागका अनुसार हालसम्म २० लाख सवारी चालकले मात्र स्मार्ट लाइसेन्स प्राप्त गरेका छन् ।

स्मार्ट चालक अनुमतिपत्र नेपालमा २०७२ साल पुसदेखि लागू भएको हो । यातायात व्यवस्था विभागले भित्र्याएको पहिलेको प्रिन्टिङ मेसिनले काम नगरेपछि पुनः २०७६ सालमा अर्को मेसिन खरिद गरेको थियो ।

यसरी वर्षैपिच्छे प्रिन्टिङ मेसिन खरिद गर्ने काम मात्र भएको तर काम भने सोचेअनुरुप नभएको सरोकारवालाहरुले बताएका छन् ।

टिप्पणीहरू