​लाइसेन्स खुल्यो

सवारी साधनको लाइसेन्स लिन अस्ति विराटनगरमा २० हजार मानिसको लाइन लागेछ । लाइन करिब पाँच किलोमिटर लामो रहेछ । त्यो लाइन देखेर मलाई लाग्यो, यहाँ त मोटरसाइकल चलाउने लाइसेन्स होइन देशै चलाउने लाइसेन्स पो दिन लाग्या हो कि क्या हो ?

सुन्नमा आए अनुसार लाइसेन्सको फाराम भर्ने यो मेला पूरा नौ महिना पछि खुलेको रहेछ । नौ महिनासम्म लाइसेन्स बन्दै थियो । त्यही भएर यो लाइन भएको रहेछ । हुन त यो गाडी चलाउने लाइसेन्सको लाइन हो । तर यो लाइनले गर्दा अरु धेरै कुराहरूको लाइसेन्स भने राम्ररी नै खोलिदिएको छ । जस्तो कि यही लाइनले गर्दा यातायात व्यवस्था विभागका कर्मचारीलाई घूस खाने लाइसेन्स खोलिदिएको छ । ट्राफिकलाई कमिशन खाने लाइसेन्स खोलिदिएको छ । बिचौलियालाई पैसा खाने लाइसेन्स खोलिदिएको छ । साथ साथै स्वास्थ्य जाँच गरेको नाममा, फाराम भरेको नाममा, भनसुन गरेको नाममा, छिटो काम सकाएको नाममा सेवाग्राहीलाई लुट्ने लाइसेन्स पनि खोलिदिएको छ । 

हैन, लाइसेन्स दिने नाममा जनतालाई दुःख दिने यो लाइसेन्स चाहिँ यातायात व्यवस्था विभागलाई कसले दियो हाँ ?

टिप्पणीहरू