तिहार पछिको देउसी

तिहार सकेको त दुई हप्तै भइसक्यो । तर देउसी भने अझै जारी रहेछ । सबैजसो राजनीतिक पार्टीका कार्यालयहरूमा अहिले देउसी चलि नै रहेको छ । कार्यालय मात्र होइन कतिपय देउसेहरू त राजनीतिक दलका नेताहरूको घर घर मै गएर पनि देउसी मागिरहेका छन् । देशमा तिहार भन्दा पनि देउसी पो लोकप्रिय हुन थालेछ कि क्या हो ?
 
अहिले सबैभन्दा ठूलो देउसी त वालुवाटारमा चलिरहेको छ । ठीक्क तिहार कै दिन त्यहाँ डा. बाबुराम भट्टराई देउसी खेल्न आउनुभएको थियो । उहाँको देउसी राम्रै भएछ क्या रे उहाँ हाँसेर निस्किनुभएथ्यो । 
 
त्यसपछि उपेन्द्र यादव र महन्थ ठाकुरको पालो आयो । 
ठाकुर भट्याउनुहुन्छ – हे, भन भन भाइ हो ! 
 
यादव साथ दिनुहुन्छ – देउसी दो !
 
भन भन भाइ हो !  दो नम्बर दो !
 
भन भन भाइ हो !  पचास सिट दो !
 
उहाँहरू अझै पनि वालुवाटारमा बसेर देउसी भट्याइरहनु भएको छ । पूरा भएको छैन । शायद भट्याउँदा भट्याउँदा हैरान भएर होला, राप्रपा प्रजातान्त्रिक रिसाएर निस्केका छन् । 
 
कुनातिर एकजना ब्यापारी पनि भट्याइरहेको थियो । उनको भट्याई चाहिँ बेग्लै थियो । हातमा अलि ठूलो खाले शुटकेश बोकेका उनी भट्याउँदै थिए – ए, गन गन भाइ हो ! शुटकेश दे ! ए, राम्ररी गन ! टिकट ले ! 
 
यसरी सबैजसो साना ठूला दलका नेताहरूको घरमा देउसी चलि नै रहेको छ । खै, कति लामो देउसी होला यो ? 

टिप्पणीहरू