न देउवा,न पौडेल-काँग्रेसमा पनि ‘तेस्रोधार’

न देउवा,न पौडेल-काँग्रेसमा पनि ‘तेस्रोधार’

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत स्थानीय तहको अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको देशव्यापी दबदबा रहँदा दाङमा भने तेस्रोधारका रुपमा स्वतन्त्र समूह पनि अस्तित्वमा आएको छ ।

शनिवार सम्पन्न अधिवेशनमा जिल्लाका १० वटा स्थानीय तहमै तेस्रोधारले बलियो उपस्थिति जनाएको हो । स्वतन्त्र भनिएको उक्त समूहले केही स्थानीय तहमा पदाधिकारी जितेको र हारेका ठाउँमा पनि संस्थापन र पौडेल पक्षलाई चुनौती दिएको दाबी गरिएको छ ।

संस्थापन र पौडेल पक्ष मिल्दा पनि केही स्थानीय तहमा आफूहरुले पदाधिकारी जितेको स्वतन्त्र समूहका एक नेताले बताए । उनका अनुसार उक्त समूहले लमही नगरपालिकामा उपाध्यक्ष,सचिव,सहसचिव हात पारेको छ भने अन्य स्थानीय तहमा पनि सम्मानजनक उपस्थिति जनाएको छ ।

लमहीमा संस्थापन पक्षले सभापतिसहित चार जना पदाधिकारी जितेको छ । सभापति जितेका सन्तोष बुढाथोकी देउवा निकट मानिन्छन् । गढवा गाउँपालिका,शान्तिनगर र राप्ति गाउँपालिका सर्वसम्मत नेतृत्व चयन हुँदा स्वतन्त्र समूहले आफ्नो उपस्थिति बढाएको छ ।

ती स्थानीय तहमा देउवा निकटले सभापति जितेको बताइएको छ । दुवै खेमामा नलागेका निष्ठावान काँग्रेसहरुको समूह दाबी गरिएको तेस्रोधारले माथिल्ला अधिवेशनमा संस्थापन र पौडेल पक्षलाई चुनौती दिने ती नेताले दाबी गरेका छन् ।

टिप्पणीहरू