बालिका जब डकैती छाडेर नेता बनिन्

बालिका जब डकैती छाडेर नेता बनिन्

सीमा परिहार भारतीय राजनीतिज्ञ हुन् । अखिलेश यादवको नेतृत्व रहेको समाजवादी पार्टीकी सदस्य । सन् २०१० मा भारतको चर्चित शो ‘बिग बोस’ मा समेत भाग लिएकी । बिग बोस अभिनेता सलमान खानद्वारा सञ्चालित शो हो ।

जन्म उत्तरप्रदेशको औरिया नगरनजिक गाउँमा भएको हो । गरिब परिवार । सन् १९८३ मा १३ वर्षकी हुँदा एक रात बाविने गाउँमा डाँकाहरू आए । सबैको हातमा एकनाले, दुईनाले बन्दुक र घोडा चढेर आएका । एकैछिनमा गाउँलेले झ्याल, ढोका बन्द गरे । डरले थरथर काँपेर बसे । उनीहरू सबैलाई घरबाहिर नआए पूरै बस्तीमा आगो लगाउने धम्की दिइयो । गाउँले राति अर्धनग्न अवस्थामा थिए, तैपनि लालाबालालाई सम्हाल्दै निस्के । डाँकाहरू सबैको घरभित्र पसे । भेटेजति धनमाल लुटे । अनि फर्कने तरखर गर्न थाले ।

डाँकाको सरदार थिए – लालाराम । अचानक उनको नजर १३ वर्षकी सीमामा प¥यो । सीमा पातलो लुगामा थिइन् । उनलाई देखेर लालाको मन लोभियो । उनले आफ्ना सहयोगीलाई सीमालाई पनि उठाएर लान आदेश दिए । डाँकाहरू आफू नजिक आएको देखेपछि सीमा आमाको पछाडि लुक्न पुगिन् । आमाले छोरीलाई नछुन लाख बिन्ती गरिन् तर उनीहरूका अगाडि कसैको केही सीप चलेन । उनीहरूमध्ये बलिष्ठ शरीर भएको एक जनाले सीमालाई जुरुक्क उचाल्यो र घोडामा राख्योे । अनि आफू घोडामाथि सीमाको पछाडि बस्यो । सीमाकी आमालगायत गाउँले रुन, कराउन थाले । तर, लालाराममा दया पलाएन । उनीहरू सीमालाई लिएर हिँडे ।

सीमा डाँकुहरूकै बीच हुर्कन थालिन् । यद्यपि, उनीमाथि त्यहाँ कुनै यौनजन्य व्यवहार नभएको बताउँछिन् । शुरुमा लालाको गिद्देदृष्टि परे पनि पछि उनैले सीमाको संरक्षण गर्न थाले । सन् १९८६ मा १६ वर्षकी भइन् । चम्बलघाटीका कुख्यात डाँकु निर्भय सिंहले मन पराए । चम्बलका शेर मानिने उनले उत्तरप्रदेश र मध्यप्रदेशमा ३१ वर्षसम्म आतंक मच्चाएका थिए । संगसंगैको खानपान, उठबस, हिँडाइले दुबै भावनात्मक तवरमा नजिकिए । सीमा पनि निर्भयलाई मन पराउन थालिन् । अन्त्यमा, दुबैको सम्बन्ध बिहे गर्ने तहसम्म पुग्यो । चम्बलमै दुबैको बिहे भयो । कन्यादान उनै सरदार लालारामले गरे ।

फुलन देवीलाई आदर्श मानेर डाँकु बनेकी सीमा खाकी बर्दी लगाएर निधारमा कालो ठूलो टीका र टाउकोमा रातो फित्ता बाँधी, हातले दुइनाले बन्दुक समाएर आतंक मच्चाउँथिन् । लोग्ने निर्भयको साथ पाएर झन् सिंहनी बनिन् । करिब ६ लाख एकड भूमिलाई आफ्नो नियन्त्रण क्षेत्र बनाइन् । चम्बलका खुंखार डाँकु उनको सामु कमजोर बने । उत्तरप्रदेशको बिहड गाउँदेखि चम्बलसम्मका जनता उनको नाम मात्र सुनेर पनि थरथर काँप्न थाले । नागरिकको ज्यान लिन, अपहरण गर्न र धनमाल लुट्न सीमा अलिकति पनि हिच्किचाउँदिनथिन् ।

तर जतिसुकै खुंखार भए पनि चम्बलका शेर निर्भयले बिहडकी शेरनी सीमाको मनलाई सधैंका लागि बाँधेर राख्न सकेनन् । सीमा निर्भयको व्यवहार र देहबाट सन्तुष्ट बन्न सकिनन् । केही समयपछि लालारामकै समूहमा फर्किइन् । अचम्मको कुरा, शुरुमा सीमाको देहप्रति आकर्षित, तर पछि उनै सीमालाई छोरी मानेर कन्यादान समेत गरेका लाला पछिल्लोसमय फेरि सीमालाई चाहन थाले र श्रीमती नै बनाए । सीमालालाको तर्फबाट एउटा छोराको आमासमेत बनिन् । निर्भय सीमाले आफूलाई छाडेर गएको मान्छन् तर लालासँग दोस्रो बिहे गरेको मान्दैनन् । तर, सीमाले लाला आफ्नो दोस्रो लोग्ने भएको कहिल्यै अस्वीकार गरिनन् ।

भारतीय चलचित्र निर्देशक कृष्णा मिश्राले सन् २००७ मा एउटा चलचित्र बनाएका छन् ‘वुन्डेड’ (घाइते) । सीमाकै जीवनीमा आधारित उक्त चलचित्रमा सीमाको भूमिका उनी आफैँले निभाएकी छन् । हिन्दी र अंग्रेजी भाषामा एकैपटक प्रदर्शित यो चलचित्र बनाउँदा पनि निर्भयले सीमाको बिहे लालासित भएको प्रसंग नदेखाउन निर्देशक मिश्रालाई चेतावनी दिँदै भनेका थिए– ‘यदि त्यसो नगरेमा जुन जुन सिनेमा हलमा सो चलचित्र देखाइनेछ सबैतिर आगो लगाइनेछ ।’

चलचित्रमा अभिनेता कन्हैया लालारामको भूमिकामा थिए भने इंग्ल्यान्डको लाइसेस्टरमा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सो चलचित्रले क्रिटिक्स अवार्डसमेत जितेको थियो ।  सीमाकै कारण पछि लालाराम र निर्भयबीच शत्रुता बढ्यो । एकअर्काको सीमा मिचेर डाँका डाल्न थाले । यसैबीच सन् २००० मा निर्भयसित भएको भिडन्तमा लालाराम मारिए । लालारामको मृत्युपछि उक्त समूहको नेतृत्व सीमाले सम्हालिन् । सरदार बनेपछि झन् बढी खुंखार बनिन् ।

सीमाको आतंक बढेर जनतामा डर फैलिएपछि उत्तरप्रदेश राज्य सरकारले उनलाई जिउँदो वा म्रर्दा फेला पार्नेलाई भारू ४० लाख दिने घोषणा ग¥यो । उनी दिउँसै लुटपाट गर्थिन् । दर्जनौं पटक प्रहरीसित जम्काभेट भयो । भिडन्त भयो तर सधैं भाग्न सफल भइन् । हतियार चलाउन र बम फ्याँक्न माहिर थिइन् । उनले १८ वर्ष आतंक मच्चाइन् ।

सीमा जुन वर्ष अपहरणमा परिन्, सोही वर्ष फुलनदेवीले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । फुलनकै बाटो पछ्याउँदै सन् २००० मा प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । यसबीच, उनीविरुद्ध प्रहरी थानामा ३० ठूला लुटपाट, डकैती, ७० जनाको हत्या र २ सयभन्दा बढीको अपहरण गरेको उजुरी परिसकेको थियो । उनी जेल परिन् ।

सन् २००५ मा प्रहरीसितको भिडन्तमा निर्भय सिंह पनि मारिए । उनको शव हस्तान्तरण गर्न सीमाले माग गरिन् तर सरकार शव दिन तयार भएन । सीमाले चम्बल छाडेर बिहड फर्केपछि निर्भयले दोस्रो बिहे गरेका थिए । निर्भयकी उनै दोस्री पत्नी निलम गुप्ताले पनि शवमाथि दाबी गरेकी थिइन् ।

आत्मसमर्पणलगत्तै सीमाले राजनीतिमा लाग्ने इच्छा व्यक्त गरिन् । सन् २००१ को विधानसभा चुनावमा शिवसेनालाई समर्थन गरिन् । सन् २००६ मा इण्डियन जस्टिस पार्टीको सदस्यता लिइन् भने पछि लोकजन पार्टीको । समाजवादी पार्टीको तर्फबाट लोकसभाको चुनावमा उठ्ने घोषणासमेत गरेकी थिइन् ।

स्मरणीय छ, निर्भयकी पत्नी निलमले पनि आत्मसमर्पण गरी इटावा नगरपालिकाको चुनाव लडिसकेकी छन् । उनी पनि सीमाजस्तै सन् २००१ मा अपहरणमा परेकी थिइन् । उनलाई निर्भय सिंहले अपहरण गरेका थिए । त्यसबेला उनी १२ वर्षकी थिइन् र ६ कक्षामा पढ्दै थिइन् । पछि निर्भयले उनैलाई पत्नी बनाए । सन् २०१७ मा जेलबाट निस्केपछि निलम राजनीतिमा सक्रिय भइन् ।

डाँकुको जीवनबाट वाक्कदिक्क लागेर प्रहरीसमक्ष आत्मसमर्पण गरी जेलबाट छुटेपछि राजनीतिमा लागेकी अर्की महिला डाँकु रेणु यादव पनि हुन् । रेणु औरिया जिल्ला, जमालिपुरकी थिइन् । पढाइमा अब्बल उनी सन् २००३ मा स्कुल जाँदै गर्दा बाटोबाटै अपहरणमा परेकी हुन् । डाँकु चन्दनले उनको बदलामा १० लाख भारु मागे । रेणुका पिता साधारण किसान थिए यसर्थ फिरौती रकम भर्न सकेनन् ।

उता, अपहरणमा परेकी रेणुमाथि दैहिकलगायत अन्य यातना शुरु भयो । अन्त्यमा केही सीप नलागेपछि रेणुले पनि हतियार उठाइन् र डाँकु बनिन् । सन् २००५ मा चन्दन र रामवीर गुर्जरबीच ग्याङवार भयो । चन्दन मारिए । रेणु रामवीरको बन्दी बनिन् । बन्दी बनेलगत्तै रामवीरको हत्या गरिदिइन् । त्यहाँबाट छुटेपछि सर्वप्रथम आफ्नो घर गइन् । अनि प्रहरीसमक्ष आत्मसमर्पण गरिन् ।

सन् १९८३ मा आत्मसमर्पण गरेकी फुलनदेवीको भने सन् २००१ मा हत्या भइसकेको छ । दुईपटक लोकसभाको सदस्यमा समेत निर्वाचित उनी र उनका पति उम्मद सिंहले पछि बुद्धधर्म अंगीकार गरेका थिए । उनी ११ वर्ष जेल बसेकी थिइन् ।

टिप्पणीहरू