सरकारी, किन सधैं गुन्द्रुकको तरकारी ?

सरकारी, किन सधैं गुन्द्रुकको तरकारी ?

हरेक जिल्लामा गरिब जनताको छोराछोरी पढुन् भनेर दानीहरूले जग्गा दान दिएका हुन्छन् । आफ्नो निजी सम्पत्ति सबैलाई प्यारो हुन्छ । तर, आफूले पढ्न नपाए पनि आफ्नो जिल्ला, टोल, वडाका मान्छेले पढ्न पाउन्, आफ्नो जिल्लामा सरकारी स्कुल र क्याम्पस बनुन् भनेर जग्गा दान दिन्छन् । सरकारको नाममा जग्गा पास गरिदिएर त्यो ठाउँका जनतालाई अन्धकारबाट बचाउँछन् ।

पूरै जिल्लाका जनता शिक्षित हुनु नै देश विकास हनु हो । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै शिक्षकले स्कुलमा आफ्नो जिम्मेवारी वहन गर्नैपर्छ । कतिपय सरकारी स्कुलमा पढाउनेहरु हप्ता दिनमा स्कुल पुग्छन्, हाजिरचाहिँ एकैचोटि गर्छन् । बैठक कक्षमा गफ गर्नु कतिपय शिक्षकको दैनिकी बनेको छ ।

कतिपय चाहिँ हाजिर गर्न पाएको हुँदैन, मेरो आज काम छ भनेर घरतिर दौडिहाल्छन् । पार्टीको आमसभा र कार्यक्रम छ भनेर विद्यार्थी नपढाई कार्यक्रममा सहभागी हुन जाने शिक्षक, शिक्षिकाको पनि अभाव छैन ।

स्कुलको लापरबाहीले विद्यार्थी ट्यांकीमा डुबेर मरेको घटना पनि प्रशस्तै छन् । कति विद्यार्थी विद्यालयको शौचालयमा लडेर घाइते भएका छन् । विद्यार्थी कुटेर घाइते भएका घटना पनि छन् ।

आर्थिक कारण छोराछोरी स्कुल पठाउन नसक्नेलाई कसरी ल्याएर पढाउन सकिन्छ भनी रणनीति बनाउनु सरकारी स्कुलका शिक्षकको कर्तव्य हो । सरकारी शिक्षक, शिक्षिकाले जिम्मेवारी पूरा नगर्दा निजी बोर्डिङले यसको फाइदा उठाएका छन् ।

सरकारी स्कुल कमजोर बनाउने बोर्डिङको दाउ सरकारकै कर्मचारीले गर्दा पूरा भएको छ । सरकारी स्कुलमा पढेको विद्यार्थीले भोलिको दिनमा केही गर्न सक्दैनन् भनेर भ्रम फैलाउने काम पनि निजी विद्यालयबाट नभएका होइनन् ।

– प्रेमकुमार थापा

टिप्पणीहरू