इलामका नेताहरु कतै पहिरो, कतै भरिलो

इलामका नेताहरु कतै पहिरो, कतै भरिलो

इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ दुई हेभीवेट नेताको जिल्ला हो । प्रतिनिधिसभा निर्वाचन यिनै पनि यी हेबीवेट नेताहरूले नै जितिरहेका छन् ।

नेकपा (एमाले)बाट नेकपा एकीकृत समाजवादी (एस) विभाजित हुँदा जिल्लाका यी नेता दुईतिर बाँडिएसँगै जिल्लामा विभाजनको असर देखिएको छ । तर, यी दुवैकाको आ–आफ्नो निर्वाचन क्षेत्रमा मात्र वर्चस्व रहेको देखियो ।

खनालको निर्वाचन क्षेत्रमा एक प्रदेश सांसद र दुई पालिका प्रमुखसहित ५७ जना जनप्रतिनिधिले नेकपा एस रोजिरहँदा नेम्वाङको निर्वाचन क्षेत्रबाट भने जम्मा तीन जना वडा सदस्य मात्र त्यता गएका छन् ।

नेम्वाङको निर्वाचन क्षेत्रमा बरु नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नै एमालेमा यसअघि प्रवेश गरेको र नेकपा माओवादीका कार्यकर्ता रामबहादुर थापा बादलसँगै एमालेतिर रहेपछि एमाले बलियो बनेको बताइएको छ ।

यसरी नै पूर्व सांसद मणिकुमार लिम्बू हिजो झलनाथ खनालतिर थिए । तर, पार्टी विभाजनपछि आफूतिरै रहेकाले पनि इलामको क्षेत्र नं. २ सुरक्षित मात्र होइन अझ बलियो बनेको एमाले नेताहरूको दाबी छ ।

उता क्षेत्र नं. १ खनालको निर्वाचन क्षेत्रमा भने सूर्योदय नगरपालिका प्रमुखसहित एक वडाध्यक्षबाहेक सबैले एस रोजेका छन् भने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले पनि एस रोजेका कारण खनालको प्रभाव आफ्नो निर्वाचन क्षेत्रमा देखिएको छ ।

नेम्वाङको क्षेत्रबाट जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेत नेकपा एसतिर खुलेका छन् । उनी माङसेबुङ गाउँपालिका–२ को वडासदस्यमा निर्वाचित भएपछि जिसस सदस्य भएका हुन् ।

त्यस्तै इलाम नगरपालिकामा एक जना वडासदस्यले नेकपा एसपट्टि सनाखत गरेका छन् । १ का वडासदस्य टेकबहादुर कटुवालले नेकपा एस रोजेका हुन् । त्यस्तै, देउमाई नगरपालिका देनपा ९ का वडासदस्य हेमराज लिम्बूले पनि नेकपा एस रोजेका छन् ।

हालसम्म इलाममा ५८ जना जनप्रतिनिधि नेकपा एसको पक्षमा खुलेका छन् । इलामको चार पालिकामा भने नेकपा एस रोज्नेको संख्या एक/एक छ । इलाम नगरपालिकाका, रोङ गाउँपालिका, देउमाई नगरपालिकाका, सन्दकपुर गाउँपालिकाका एक एक जना वडासदस्यले नेकपा रोजेका हुन् । चुलाचुुली माई, फाकफोकथुम, गाउँपालिकामा स्थानीय तहमा निर्वाचित कसैले पनि नेकपा एसमा सनाखत गराएनन् ।

टिप्पणीहरू