​छिन्ताङ दुख्ने वाडाङ्मीको छाल « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

​छिन्ताङ दुख्ने वाडाङ्मीको छाल

प्रकाशित मिति :  १९ कार्तिक २०७४, आईतवार १४:०९


  • ईश्वर थापा

तिहारलगत्तै सुरु हुने वाडाङ्मी चाड स्थानीयको घर आँगनमा आउनै लागेको छ । धनकुटा जिल्लाको खाल्सा सहिदभूमि गाउँपालिका तथा प्रचलित खाल्सा क्षेत्र (खोकु, छिन्ताङ र आँखीसल्ला) मा मात्र मानिने यस क्षेत्रको प्रमुख चाड हो, वाडाङ्मी । जब वाडाङ्मी आउनै लाग्छ तब खाल्साली जनताहरूको मनमा पुरानो घाउले पोल्न थाल्छ ।

०३६ सालमा तत्कालीन पञ्चायती सरकारले खोकु छिन्ताङ हत्याकाण्ड मच्चाएर १६ जना स्थानीयको निर्ममतापूर्वक हत्या गरेको थियोे । त्यही ०३६ सालको काण्डलाई नुनचुक छर्न अरूबेला देखा नपर्ने राजनीतिक दलका नेताहरू छिन्ताङ पुगेर पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए । महान् छन्, छिन्ताङे सहिदहरू,’ । वर्षैभरि सुनसान रहने छिन्ताङमा हरेक वर्ष कात्तिक २३ देखि २९ सम्म एक साता पुनः ०३६ सालको घाउ दोहोरिन्छ तर निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका खाल्साली सहिदहरू राज्यको नजरमा कहिल्यै सहिद हुन सकेका छैनन् । सहिद परिवारहरू ३७ वर्षदेखि त्यही दिनको प्रतीक्षामा छन् तर राज्यको नजरमा छिन्ताङमा सहादत प्राप्त गरेका गोपालआनन्द राई, भैरबहादुर राई, बलबहादुर खत्री, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाँखिमा राई (साहिँली), पुत्रमान राई, झगेन्द्र रार्ई, चन्द्रबहादुर दमाई र गंगाबहादुर तुप्रिहाङ राई कहिल्यै राष्ट्रिय सहिद भएनन् ।

निरंकुश पञ्चायतका विरुद्धको आन्दोलनमा होमिएका ती अथक् योद्धाहरूलाई अहिले राज्य गणतान्त्रिक भइसक्दा पनि राज्यले सम्मान गर्न सकेको छैन । अरुणको सुसेलीको कुनै प्रवाह थिएन, देउसी र भैलो खेल्नभन्दा निरंकुशताविरुद्धका गीत गुञ्जाउन उनीहरू लालायीत थिए । त्यसैको फलस्वरूप ती वीर योद्धाहरूले ०३६ देखि सधैंका लागि अरुणको सुसेली सुन्नुपरेको छैन । जब प्रत्येक नेपालीको घरमा देउसी–भैलो खेलेर प्रत्येक घरमा दीपावलीको रमझम भइरहेको थियो, कैयौं चेलीबेटीहरूले उनेर राखेको सयपत्री र मखमली त्यसै ओइलाएको थियो, अनि खाल्सा क्षेत्रको प्रसिद्ध सांस्कृतिक नाच वाडाङ्मीमा ढोल र झ्यालीका ठाउँमा बम र संगीन नाचेर तिनै युद्धको रगतको होली खेलिएको थियो । तिनै सहिदहरू अहिलेसम्म राष्ट्रिय सम्मान पाउन नसक्नु विडम्बना नै मान्नुपर्छ । त्यसैले होला युवा गायक किशोर थुलुङले त्यो घटना र ती महान् सहिदहरूको सम्झनामा सुरिलो स्वरमा नेपाली जनतालाई सधैंभरि झकझक्याउने गरी पोखे– ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा ।’ गायक थुलुङले गीतमा भनेझैं २०३६ सालदेखि लगातार अरुण र तमोर सुसाइरहेका छन् । त्यो सुसाइ सुन्ने जो कोही नेपालीको मन दुःख बिसाउने ठाउँ पाउँदैन ।

खोकु, छिन्ताङ त्यस समयमा पनि दुख्छ जब प्रत्येक वर्ष नेपालीका चाडपर्वहरू सुरु हुन्छन् अनि मनाउँदै रहन्छ, दसैं–तिहार वाडाङ्मी । त्यतिबेला धनकुटाका छिन्ताङ, खोकु र आँखीसल्ला गाविसका जनताहरूमा एक वर्षसम्ममा खाटो बस्तै गरेको चोट पुनः दोहोरिन पुग्छ । यो क्रम सुरु भएको पनि तीन दशक बितिसकेको छ । दण्डहीनताको पराकाष्ठाका रूपमा रहेको यो घाउ निको हुन या इतिहास मेटिनुपर्छ या त दोषीहरूलाई कानुनको कठघरामा ल्याएर सजाय दिइनुपर्छ । अझ महत्वपूर्ण कुरा त देश र जनताको स्वतन्त्रताको खातिर आफ्नो ज्यान र परिवारको प्रवाह नगरी लड्ने महान् योद्धाहरूलाई राज्यले सहिद घोषणा गर्नुपर्छ । चार महिना बितिसक्दा पनि एउटा सरकार त बनाउन नसक्ने हाम्रा राजनेताहरूले त्यो काम अहिले नै गर्छन् भन्ने कुरा पत्याउन गाह्रो छ । हाम्रा राज्य सञ्चालन गर्ने अहिलेको नेतृत्वले ३१ वर्षसम्म हुन नसकेको काम अहिलेको अवस्थामा तत्कालै हुन्छ भन्ने सोच्नु पनि मूर्खता नै हो । जब प्रत्येक सालका सहिद सप्ताह सुरु हुन्छ तब छिन्ताङका सहिद परिवारको मनमा भक्कानो फुटेर आउँछ ।

अनि त्यहाँ मानवीय संवेदनाको भक्कानो फुटाउन राजनीतिक दलका नेताहरू तँछाडमछाड गर्दै रहन्छन् । जब यी चार दिन बित्छन् अनि छिन्ताङ फेरि एक वर्षसम्म पूर्ववत् अवस्थामा फर्कन्छ । त्यो खाल्सा क्षेत्र देशबाट टाढिन्छ, प्रदेशबाट टाढिन्छ, जिल्लाबाट टाढिन्छ अनि सदरमुकामबाट २६ किलोमिटर उत्तर–पश्चिममा नै रहन्छ, अरुण सुसाइरहन्छ । हरेक वर्षका दसैं–तिहार र वाडाङ्गी वर्षहरूमा खोकु, छिन्ताङ आँखीसल्ला पिरोलिन्छन् । २०३६ साल कात्तिक महिनाका अन्तिम दिनहरू खोकु, छिन्ताङ आँखीसल्लालाई मात्र होइन धनकुटालाई सधैं स्मरण गराउने महिना हो । त्यसबेलाको पीडा, चीत्कार सुन्नेहरू इतिहासका ज्युँदा साक्षीहरू अझै छन् । दुःख पाउनेहरू अझै जीवितै छन् । सहिद परिवार वर्ष दिनमा एक पटक दोसल्लाको भागी हुन्छन् । दोसल्लाबाहेक उनीहरूको मनभित्र पीडा हुँडलिएर आउँछ । तर, राजनीतिक दलहरू सहिद दिवसलाई पनि राजनीतिक एजेन्डा बनाएर छिन्ताङका सहिदको आत्मालाई पिरोलिरहेका छन् । विगतमा माले–एमाले विभाजनका बेला छुट्टै कार्यक्रम भए, माले–एमाले एकीकरणपछि एमाले र माओवादीबीच छुट्टाछुट्टै सहिद दिवस मनाइए, त्यो दिवसमा एक पार्टीले अर्को पार्टीलाई दोषारोपण गर्नेभन्दा बढी काम भनेकै दुवैले सहिद परिवारलाई दोसल्ला ओढाउँछन् ।

पूर्वको कम्युनिस्ट आन्दोलनको उद्गम स्थलको रूपमा रहेको छिन्ताङमा रहेको सहिदहरूको अर्धकदमा प्रत्येक वर्ष पुष्पगुच्छा चढाउनुसिवाय न्यायिक अनुभूति केही हुन सकेको छैन । भौतिक रूपमा केही विकास निर्माणका काम भएतापनि सहिद परिवार पूर्ववत् अवस्थामा नै छन् । पञ्चायतकालको ज्युँदो इतिहासलाई बोकेको खोकु, छिन्ताङ, आँखीसल्ला अहिले पनि त्यही बिलौना गरिरहेको छ, जतिबेला खाल्साको मुटुमा संगीन धारले रेटी–रेटी निर्दोष जनतालाई मारिएको थियो, छातीमा गोली ठोकी पानी पनि खान नदिई भीरबाट खसालेर मारिएको थियो, ज्युँदै ओडारमा लगेर आगो लगाइएको थियो । सुत्केरी महिलालाई असह्य हुने गरी पीडा दिएर मारिएको थियो । त्यो चित्कार र पीडा सुन्ने र देख्ने इतिहासका ज्युँदा मानिस साक्षी छन् ।

त्यही धनकुटाको कम्युनिस्ट आन्दोलनको सुरुआत भएको छिन्ताङ विगत धेरै वर्षदेखि सहिदको अर्धकदलाई लिएर नयाँ युगको प्रतीक्षामा बसिरहेको छ । देशको सर्वोच्च निकाय व्यवस्थापिकामा कम्युनिस्टहरूको दुई तिहाइ बहुमत भइरहेको बेलामा छिन्ताङ दण्डहीनताको अन्त्यका लागि लडिरहेको थियो तर केही पाएन । सहिदहरूको अर्धकद सालिकबाट खाल्सा क्षेत्र (खोकु, छिन्ताङ र आँखीसल्ला) का जनतालाई विधिको शासन र दण्डहीनताको पराकाष्ठासँग जुध्न प्रेरणा गरिरहेका छन् । नयाँ संविधानसँगै नया“ युगको प्रतीक्षामा आत्मालाई बचाइरहेका छन् । सहिदहरू अर्धकद सालिकबाट खाल्सा क्षेत्रका जनतालाई विधिको शासन र दण्डहीनताको पराकाष्ठासँग जुध्न प्रेरणा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !