माओवादी राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर

माओवादी राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले टोल,वडा र पालिकास्तरीय भेला तथा सम्मेलनको मिति पछि सार्ने निर्णय गरेको हो ।

संगठन विभागले कार्यतालिका हेरफेरका लागि प्रस्ताव गरेको र त्यसैका आधारमा नयाँ मिति प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यता नवीकरणको मितिलाई असोज मसान्तसम्म थप गरेर स्थानीयस्तरका भेलाको मिति केही पर सार्ने बैठकले निर्णय गरेको छ । संशोधित कार्यतालिकाअनुसार टोल भेलाहरू कात्तिक ६ गतेका लागि सारिएको छ भने कात्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकास्तरीय भेला गरिनेछ ।

संगठन विभागले यसअघिको मितिमा सम्मेलन गर्न समय नपुग्ने बताएकाले कार्यतालिका संशोधन गरिएको उहाँले जानकारी दिनुभयो । ‘समय पुगेन,भ्याइएन,टाइम सार्नुपर्यो भन्ने कुरा संगठन विभागले भनेकाले मिति सार्नेबारे छलफल भयो,सोहीअनुसार नयाँ मिति प्रस्ताव गरिएको हो’, उहाँले भन्नुभयो ।

तल्ला कमिटीका भेला सरेपनि राष्ट्रिय सम्मेलनको मिति भने नसर्ने उहाँले बताउनुभयो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

आजको बैठकले क्याबिनेट विस्तारका लागि पार्टीको तर्फबाट पहल लिने निर्णयसमेत गरेको छ । नेता गुरुङका अनुसार क्याबिनेट विस्तारका लागि केही कानुनी जटिलता देखिएकाले त्यसलाई हल गरेर छिट्टै सरकारलाई पूर्णता: दिन पहल गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र सरकार विस्तारबारे ब्रिफिङ्ग गर्नुभएको थियो । सरकार विस्तारको प्रश्न कानुनी विषयमा जोडिएकाले केही अन्योलता रहेको गुरुङले बताउनुभयो ।

‘अध्यादेश फिर्ता लिएर पनि हाउसबाट निर्णय हुनुपर्छ । हाउसमा टेबल भैसकेको छ । त्यसैले यो राजनीतिक निर्णयका आधारमा हल हुने भन्दा पनि कानुनी विषय भएकाले तत्काल के हुन्छ भन्न सकिंदैन’, उहाँले भन्नुभयो । कानुनी जटिलता भएकाले गठवन्धनका शीर्ष नेता बसेर टुंगो लगाउने उहाँको भनाइ छ ।

टिप्पणीहरू