महासचिवतिर खै किन गयो मन

महासचिवतिर खै किन गयो मन

के एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ सांसदमाथि गरिएको पूर्वाग्रही गतिविधिबाट कांग्रेस र माओवादी बेखुस छैनन् ? घटनाक्रमलाई नियाल्दा कहीँ न कहीँ असंगति देखिन्छ ।

छैटौँ संविधान दिवसका अवसरमा असोज ३ गते सरकारले राष्ट्रसेवकसहित विभिन्न पेशा, क्षेत्र र व्यवसायका ९ सय ३ जनालाई विभिन्न मान, पदवी, अलंकार, विभूषण दिने गरी नामावली सार्वजनिक ग¥यो । सामान्यतया कुशल कार्यसम्पादन गर्ने, क्षमतावान र योग्य कर्मचारीलाई यस्ता मान–पदवी दिने चलन छ । त्यसभित्र संसदका महासचिव भरतमणि गौतमको पनि नाम उल्लेख छ । उनी सुप्रवल जनसेवाश्रीबाट विभूषित भएका छन् ।

प्रश्न उठेको छ, आखिर यो सरकारले भरतमणिमा त्यस्तो के चमत्कारिक प्रतिभा देख्यो, जसलाई केही दिनअघिसम्म दिएका अनेकन दुःख–सास्ती बिर्सिएर विभूषित गर्नुप¥यो ? उनले अहिलेको राजनीतिक प्रक्रियालाई बिथोल्न विगतमा के–के गरे ? भर्खरै एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गर्दा त्यो चिठी हात पर्नासाथ ‘गरिहाल्नुपर्छ’ भनेर टिप्पणी लेख्ने हात हो, भरतमणिको ।

उनी पहिला प्रचण्ड–अग्नि सापकोटाहरूकै जोडबलमा संसदको महासचिव नियुक्त भए । तर, पुस ५ पछि तत्कालिन नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरूले प्रचण्डलाई संसदीय दलको नेता कायम गरियोस् भनी दिएको पत्रलाई कार्यान्वयन गरेनन् । अहिले फेरि प्रचण्डहरूले नै तक्मा दिएका छन् ।

यिनै भरतमणिले आफूलाई स्वतन्त्र सांसदका रुपमा राखियोस् भनी बेदुराम भुषालले दिएको निवेदनलाई पनि वास्ता गरेनन् । १४ जनामाथि कारवाही सिफारिस भएपछि ‘हामीलाई प्रष्टिकरण सोधेको छैन, कानुनतः कारवाही गर्ने अंगहरू पुगेका छैनन्’ भन्दै विरोध खतिवडाहरू भोलिपल्टै संसद सचिवालय जाँदा वास्ता नगर्ने पनि उनै हुन् ।

उता, एमालेको निरन्तर अवरोधका बाबजुद पनि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक चलाउने भूमिकामा नेपाल प्रहरीको उल्लेख्य योगदान रहेको संसद सचिवालयका हाकिमहरू बताउँछन् । संसदमा मर्यादापालक खटाउने नेपाल प्रहरीले हो । त्यहाँ सामान्यदेखि विशेष दिनमा फरक फरक मर्यादापालक खटाइन्छ । एमालेले अवरोध गर्ने र उस्तै परे बल प्रयोग गर्नुपर्ने अवस्था आउनसक्ने कारण कमाण्डो तालिमप्राप्त प्रहरीहरूको टोली तैनाथ गरिएको छ ।

टिप्पणीहरू