कालापानीतिर भारतीय ट्रकका ताँती

कालापानीतिर भारतीय ट्रकका ताँती

दुई शक्तिराष्ट्रको चेपुवामा परेको हाम्रो देशको उत्तरी सीमामा भाषाका कारण स–सानो समस्या, दक्षिणले कालापानीतिर दिनहुँ मालबाहक ट्रक दौडाउँदाको तनाव ! उत्तरी र दक्षिणी देशका चिल्लो, राम्रो बाटो । हाम्रा सेनाचाहिँ बल्ल बाटो खन्दैछन्, दिनहुँ बम ब्लाष्ट गरिरहेका छन् । भारतीय सुरक्षा फौजले कालापानीमा आफ्नो क्याम्प व्यवस्थापन गर्नका निम्ति हिजोआज दिनहुँ करिब ३५ वटाका दरले मालबाहक ट्रक दौडाइरहेको छ । ती ट्रक भारतीय सरहदमा पर्ने धार्चुला (नेपालको दार्चुलापारि) हुँदै कालापानीतर्फ उक्लिने गरेका छन् ।

तर, तिनले के–के ओसारिरहेका छन् ? यसबारे नेपाली पक्ष अनभिज्ञ छ । भारतीय ट्रक दौडिएको भूभागमा चिल्लो सडक छ । यता, नेपालतर्फ भने बाटो त के, ट्रयाक पनि बनाइसकिएको छैन । त्यसैले अहिले दार्चुलाको व्यास गाउँपालिका– २, दुम्लिङमा क्याम्प खडा गरेर नेपाली सेनाका ७५ जनाको जत्थाले दिनहुँ काम गरिरहेको छ ।

सेनाको इञ्जिनियरिङतर्फका मेजर रुपेन्द्र थापाको कमाण्डमा उनीहरू बम ब्लाष्टिङ गर्ने, बाटो सम्याउनेजस्ता काम गरिरहेका छन् । उक्त टोलीले आइतबारमात्रै १ सय २५ वटा बम विष्फोट गरी पहरा फोडेको छ । सेनाले तल्लो दुम्लिङ, कोठेघाट र लालगाउँसम्म पुग्ने बाटो बनाइरहेको हो । त्यहाँ जेसिभी लैजानका लागि सेनाले लेखापढी गरिरहेको छ । यो ९ वर्षभित्र काम सिध्याउने गरी शुरु भएको परियोजना हो ।

त्यहीँ सशस्त्र प्रहरीको ५० नं. गुल्म तैनाथ छ डिएसपी धीरेन्द्र शाहको कमाण्डमा । गुल्म त छ, तर उसका लागि लजिष्टिक सामान ढुवानीमा जटिल समस्या छ । त्यहाँबाट नेपाली बजार टाढा पर्छ, केही किन्नुपरेमा भारतीय भूमि पुग्नुपर्छ । केही समयअघि सुदूरपश्चिम बाहिनी मुख्यालयले ६ महिनाका लागि हेलिकोप्टरमा खाद्यान्न त लगिदियो । तर, त्यो पनि सकिन लागेको छ ।

उता, झण्डै १४ सय किलोमीटर भूभाग जोडिएको उत्तरी छिमेकी मुलुक चीनको सीमा नाकामा एउटा जटिल समस्या छ, भाषाको । सरदर प्रत्येक सय किलोमीटरमा जम्मा एउटा सीमास्तम्भ राखिएको छ । सत्तारुढ नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले हुम्लाको हिल्सामा चीनद्वारा सीमा मिचिएको कुरा ५ ठाउँका जुलुसमार्फत निकाल्नुका पछाडि कांग्रेस नेता विमलेन्द्र निधिको संलग्नता देखियो ।

महाधिवेशनबाट सभापति उठ्न खोजेको अवस्थामा उनलाई, ‘राष्ट्रियता’ त दुख्यो, तर हल्ला गरिएजस्तो स्थिति पाइएन । बरु, भाषाका कारण चिनियाँ सुरक्षाकर्मी तथा सीमा अधिकारीसँग सहज ढंगले सम्बन्ध निर्माण हुन नसक्दा १–२ दिनको तयारीपछि असमझदारी हटेको पाइन्छ ।

यो कुरालाई दृष्टिगत गर्दै सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले आफ्ना एक कर्मचारीलाई चिनियाँ भाषा पढ्न पठायो । तर, उनी छिट्टै नै अवकास पाएर घर जान लागेका छन् । उनी हुन्, एसपी मनहरि कुइँकेल । डिएसपी हुँदै एक वर्षे भाषा अध्ययनका लागि पाँच वर्षअघि चीन पठाइएका थिए । आउने वैशाख महिनामा जागिरबाट अवकाश पाएर घर जाँदै छन् । अर्थात्, उनीमाथि गरिएको लगानीबाट सशस्त्रले शून्य प्रतिफल पाउने भएको छ ।

हिल्साको घटनाचाहिँ यस्तो छ– नाम्खा गाउँपालिका– ५ हिल्सास्थित किट खोलामा नेपाल–चीन सीमास्तम्भ (बोर्डर मार्कर) ५ (१) र ५ (२) बाट पश्चिमतर्फ चिनियाँ पक्षले आफ्नै भूमिमा ढलजस्तो नाली तथा पानी ट्याङ्की निर्माण गर्न थालेको सूचना आयो । हिल्सास्थित बिओपीबाट भदौ २४ गते (सेप्टेम्बर ९) गस्ती टोली गयो । तर, दोभाषेको अभावमा द्विपक्षबीच कुराकानी हुन सकेन । २६ गते दोभाषे तथा नक्सासहित गएको टोलीसँगको छलफलपछि भदौ २८ गते बिहान ३ बजेतिर चिनियाँ टोली सर्लक्क फिर्ता भयो । भाषाले यस्तो सहज बनाउँछ सम्बन्धलाई ।

यसरी चीनसँग पटक–पटक सीमा वार्ता र समन्वय गर्नुपर्ने कारण सशस्त्र इन्स्पेक्टर देवराज राई र सुन्दर श्रेष्ठलाई भाषा पढ्न पठाइयो । उनीहरू कोभिड संक्रमणका कारण फर्किए । अहिले अनलाइन क्लास चल्दै छ । सशस्त्रको समस्या के छ भने, बिओपी (बोर्डर आउट पोष्ट) का कमाण्डर इन्स्पेक्टर हुन्छन् । त्यस्तै, पहाडी गुल्महरूमा डिएसपीले कमाण्ड गर्छन् । यदि पाँच–सात वर्ष जागिर खाएका नयाँ सई–असईलाई भाषा पढ्न पठाएको भए उनीहरूलाई दोभाषेकै काममा लगाउन सकिन्थ्यो ।

चीनसँगको १४ सय किलोमीटर लामो सीमा क्षेत्रमा देशभर करिव सय बिओपी छन् । तर, दोभाषे छैनन् । हिल्सामा के–के भयो भनेर होहल्ला गरिए पनि स्थानीय दोभाषेमार्फत कुराकानी गरेपछि चिनियाँहरू आफैँ आफ्नो भूमिवारि सर्लक्क फर्किएका छन् । भारतसँग यस्तै हुन्थ्यो र दोभाषे हुँदैन थिए भने गोली हानाहानसम्मको स्थिति हुन्थ्यो ।

टिप्पणीहरू