स्कूल,कलेजवालाहरुवीच कमाउनेमा कोलाहल अभिभावकको रकम नाश, विद्यार्थीको भविष्य बर्बाद ।

स्कूल,कलेजवालाहरुवीच कमाउनेमा कोलाहल अभिभावकको रकम नाश, विद्यार्थीको भविष्य बर्बाद ।

लाहुरेको शहरको रुपमा चिनिएको धरानको हिमालय बोर्डिङ स्कूलका सञ्चालक साहुहरुवीच सेयर बाँडफाँडको लफडा सार्वजनिक भएको छ ।

पीडित पार्टनरहरुले स्कूल खोल्न सेयरवापत लगानी गरिएको २ करोड २२ लाख रुपैयाँ हिमालय बोर्डिङ स्कूल सुनसरी प्रा. लि.का अध्यक्ष कैलाश लिम्बु आङदेम्बेले एक्लै हजम बनाएको आरोप लगाएका छन् ।

अध्यक्ष आङदेम्बेले सेयरवापतको दायित्व रकम भुक्तानी गर्दा पनि अन्य सेयर सदस्यको नाममा सेयर कायम नगरेको बताएका छन् । उनीहरुले आङदेम्बेले एकलौटी आफ्नो नाममा ९४ प्रतिशत र बाँकी ६ प्रतिशत सेयर पूजा अग्रवालको नाममा राखेर अरु लगानीकर्ताहरुलाई ‘खिस्स दाँत’ देखाउने बनाएका छन् ।

धरान १२ स्थित हिमालय बोर्डिङ स्कूलमा १५ जना सेयर सदस्य छन् । जसमा प्रतिव्यक्ति १५ लाख ५० हजारका दरले सेयरवापतको रकम आङदेम्बेले संकलन गरेको दावी पीडित भनिएका अन्य सञ्चालकले गरेका छन् ।

उनीहरुले कम्पनीको नाममा रहेको धरान १२ कित्ता नम्बर ३४५ को करिब १८ धुर र कि. नं. चारआना, त्यस जग्गामा निर्मित ३ तले पक्कीसमेत बराबर हुने गरी सेयर बाँडफाँड हुनु पर्ने दावी गरेका छन् ।

तर अध्यक्ष आङदेम्बेले २०७७ मंसिर २० गतेका निर्णयविरुद्ध सबैको आँखामा छारो हाल्दै विद्यालय सञ्चालनको लागि खरिद गरेको जग्गा र अन्य कुराको स्वामित्व लिदालिदैं पनि विद्यालयका प्रिन्सिपल मोहनप्रसाद पाठकलाई समेत जानकारी नदिई कम्पनीको नाममा हुनु पर्ने जग्गा उपाध्यक्ष अर्जुन घिमिरेकी श्रीमती तुलसा महत र हिमालय बोर्डिङ स्कूलका शिक्षक भाष्कर पौडेलकी श्रीमति उर्मी शर्माको नाममा भदौ २४ गते पास गरेका छन् ।

यी सबै जग्गा र भवन हिमालयन बोर्डिङ स्कूल सुनसरी प्रा.लि.को नाममा हुनु पर्ने जिकिर अन्य सेयर सदस्य दावी गर्नेहरुको छ । यो घरजग्गा सेयरवापत दिएको रकमले खरिद गरेकोले दावी पीडितहरुले गरेका छन् ।

सो कम्पनीको सेयर बाँडफाँडको विषयमा पटक पटक बैठक बसे पनि निर्णय कार्यान्वयन गर्नुको बदला आफूखुशी अन्यलाई निश्कासन गरी एकलौटी सेयर बनाएर किर्ते काम गरेको देखिन्छ । पीडित साहुहरुले गत भदौ १७ गतेदेखि विद्यालयमा तालाबन्दीको निर्णयसमेत गरेका थिए । तर पनि कुनै सुुुनुवाइ नभएपछि प्रचारवाजीमा ओर्लिएका छन् ।

सेयर विवादले खुलेको ठगी धन्दा ?

सेयर सम्पत्तिको विवाद सतहमा आएपछि अन्य साहुहरु पनि ‘कालेकाले मिलेर खाउँ भाले’ हुन नसक्दा सेयर सम्पत्ति विवादकै निहुँमा भए पनि अभिभावक र विद्यार्थी लुट्ने योजनमा पीडित र पीडक सबैको सहमति रहेको कुरा बाहिर आएको छ ।

सेयर नपाउने साहुहरुका अनुसार ‘आधिकारिक रुपमा कक्षा ११ सम्मको सम्बन्धन हिमालय बोर्डिङ स्कूल प्रा.लि.को नामा रहेको र स्नातक तहको सम्बन्धन अल्पाईन कालेज प्रा.लि.को र अहिलेसम्म मेघा कलेजले कुनै पनि कानुनी मान्यता प्राप्त नगरेको’ जानकारी गराएका छन् ।

सेयर नपाउने साहुहरुका अनुसार विद्यालय तथा कलेजले ‘कानुनी रुपमा कुनै पनि मान्यता र सम्बन्धन प्राप्त नगरेको धरान मेघा कलेजको नाममा विभिन्न मिडिया तथा सामाजिक सन्जालमा अनावश्यक प्रचारप्रसार गरी विद्यार्थीलाई भर्ना गरी शुल्क उठाउँदै आएको’ पनि जानकारी गराएका छन् ।

स्वीकृति नै नलिई खोलिएको मेघा कलेज र प्लस १२ को हिमालयको नाममा सात हजारदेखि दशहजारसम्म शुल्क उठाउँदै आएका छन् । अभिभावक र विद्यार्थी ठग्ने धन्दा यतिमा मात्रै सिमित देखिन्न ।

यो कम्पनीले गत वर्ष हिमालयन बोर्डिङ स्कुल सुनसरी प्रा.लि.को नाममा विज्ञान विषय मात्रै अध्ययन गराउने सम्वन्ध लिएकोमा यस आर्थिक वर्षमा सम्वन्धन नैं प्राप्त नगरेको व्यवस्थापन र होटल व्यवस्थापनसम्वन्धी दर्ता नै नभएको मेघा कलेजको नामा विज्ञापन गरेर चर्को शुल्क निर्धारण गरी विद्यार्थीहरुबाट अग्रिम रकम लिएको आरोप पनि लगाएका छन् ।

यसले अभिभावक र विद्यार्थीहरुसँग शैक्षिक उन्नयनको लागि वाचा गर्ने सबै सेयरधनीहरु ठग्न नपाएका इज्जतिला देखिने प्रयास गरेको चर्चा सुरु भएको छ । एकथरी धरानेले भने कलेज खोलेर अभिभावकको सम्पत्ति लुट्ने र सम्वन्धन नलिइकन विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने पीडक र पीडित भनिएका सबै सञ्चालक साहुलाई पाता फर्काउनु पर्ने बताएका छन् ।

सेयर बाँडफाँडमा कुरा नमिल्दा मात्र अभिभावक र विद्यार्थी ठग्ने धन्दा बाहिरिएकोले गर्दा मेघा कलेजमा व्यवस्थापन र होटल व्यवस्थापन पढ्ने विद्यार्थीहरु भने ‘हाँस्नु न रुनु’को अवस्थामा छन् ।

उनीहरुले धरान उपमहानगरपालिकाको शैक्षिक विषयसँग सम्वन्धित राजपत्र भाग २ वर्ष १ संख्या ५ र २०७४ ।०९।२३ अनुसार विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्थालाई समेत बवास्ता गरेको बताएका छन् ।

धरान राजपत्रको ४ र ५ दफामा विद्यालय खोल्नको लागि पूर्वाधार खडा गर्नु पर्ने र जाँचबुझपछि विद्यालय सञ्चालन गर्ने अनुमति लिनु पर्ने प्रावधान रहेको छ ।

टिप्पणीहरू