​यत्र–तत्र अलपत्र

चलचित्र विकास बोर्ड नेतृत्वविहीन हुँदा असार १६ गते नै राष्ट्रपतिको हातबाट वितरण हुनुपर्ने राष्ट्रिय चलचित्र अवार्ड अलपत्र परेको छ । वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरिको उत्कृष्ट चलचित्र, नायक, नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायत विधामा पुरस्कार प्रदान गरिँदै आएको थियो । पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारको राशि एक लाख रुपैयाँको छ । 

 बोर्डको अध्यक्ष छनोटका लागि भदौ २५ गते सकिए पनि अध्यक्ष नियुक्ति हुन सकेको छैन । अध्यक्षका लागि प्रतिस्पर्धामा १३ जनाले सञ्चार मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । जसमा केही गैरफिल्मकर्मीसमेत थिए । निकिता पौडेल, सुचित्रा श्रेष्ठ, होतराज शर्मा, विशाल श्रेष्ठ, आलोककुमार तिवारी, नरेशकुमार केसी, मनीष पण्डीत, सुदीपकुमार रेग्मी, चोपेन्द्र सागर पराजुली, योगेश घिमिरे, आयुष रिजाल, सुष्मा कार्कीलगायत थिए । सो नाममध्ये सञ्चार मन्त्रालयले तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो ।

यद्यपि, मन्त्री मोहन बस्नेतले भने राप्रपा कोषाध्यक्ष उद्धव पौडेलकी छोरीलाई बोर्ड अध्यक्ष बनाउन चाहेपछि कांग्रेस निकटका चलचित्रकर्मी मन्त्री बस्नेतसँग आगो भएका छन् । उता, सञ्चारमन्त्री शेरधन राई हुँदाकै समयमा बोर्ड अध्यक्ष बन्न कम्तीमा स्तातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनेपछि तिलमिलाएका पूर्वअध्यक्ष राजकुमार राई भने आफू निकटकी सुचित्रा श्रेष्ठलाई अध्यक्ष बनाउने लबिङमा छन् । 

टिप्पणीहरू