फोन सम्पर्कबाट बसेको प्रेमले लियो पुष्पाको ज्यान « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

फोन सम्पर्कबाट बसेको प्रेमले लियो पुष्पाको ज्यान

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार ०८:४२


ताप्लेजुङको फक्ताङलुङ ३, लिमखिम बस्ने १८ वर्षीया पुष्पा तबेबुङ शुक्रबार बिहान फुङलिङ ७, दोखु निगालेमाथिको पाखामा मृत भेटिइन् । उनलाई घटनास्थलमा देख्नेहरुले शुरुदेखि नै घटना सुनियोजित भएको हुनसक्ने बताइरहेका थिए ।

त्यहि दिन अबेर प्रहरीको सर्जमिन मुचुल्कापछि पुष्पाको लाश उठाएर शवगृहमा राखियो । यता पुष्पाका अभिभावकले भने उनको हत्या नै भएको र हत्यारालाई पक्राउ गरी सार्वजनिक नगरुञ्जेल शव नबुझ्ने बताए ।

प्रहरीले अनुसन्धानको क्रममा फुङलिङ नगरपालिका १०, फुरुम्बुगढी डाँडा बस्ने वर्ष २४ का रामकुमार कार्कीलाई हिजो पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा पुष्पाको मृत्युको रहस्य खुलेको छ । ८/९ महिनाअगाडि पुष्पा तवेवुङ लिम्बु र कार्कीबीच चिनजान भएको थियो । फोन सम्पर्कको क्रममा प्रेम सम्बन्ध भई शारीरिक सम्पर्कसमेत भएको, बिबाह गरौंभन्दा नमानेको र सँधैजसो गालिगलौज गरेर मानसिक तनाव दिएको उनले बताएका छन् ।

त्यहि कारण मार्ने मनशायले शुक्रबार बिहान ३ बजे फोन गरेर फुङलिङ नगरपालिका ५, प्यारिज होटलदेखि केही पर सुकेटार जाने सडक बाटोमा बोलाएको कार्कीले बताएका छन् । उनले मोटरसाइकलमा हालेर फुङलिङ नगरपालिका ४, सेती चौतारा भन्ने स्थानमा लगी एक पटक करणी गरेको समेत स्वीकारेका छन् ।

त्यसपछि बिबाह गरौंभन्दा नमानेपछि केहीबेर विवाद भएकोे, विवादको क्रममा पुष्पाले तेरो इज्जतमा दाग लगाई दिन्छु भनेपछि ढुंगाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा उनी जमिनमा ढलेको कार्कीले साविती दिएका छन् । घाइते पुष्पाले नमार्न अनुरोध गरे पनि कार्कीले साथमा बोकेको बिषादीको बट्टाको बिर्को खोली निजको मुखमा जबरजस्ती खुवाएर भीरबाट झारेको समेत स्वीकारेका छन् ।

घटनास्थलमा रहेको पुष्पाको स्वीटर, चप्पल,विषादीको बट्टा र निजको मोबाईल समेत भीरमा फालिदिएका थिए । त्यसपछि पुष्पालाई हेर्न उनी भीरमा फुङलिङबाट चारपाटे गाउँ जाने बाटोमा पुग्दा उनी कोल्टे अवस्थामा रहेको र केही सास फेरिरहेको अवस्थामा देखेपछि पुनः त्यहाँबाट तलसम्म खसालेर डेरामा फर्की आएको अभियुक्तले बताएका छन् ।

यी सबै घटनाक्रमले पुष्पाको ज्यान झण्डै एक वर्षअघि देखिको प्रेमले लिएको रहस्य खुलेको छ । यता पुष्पाका अभिभावकले भने हत्यारालाई पक्राउ नगरुञ्जेल शव नबुझ्ने बताएका छन् । आइतबार अभियुक्त हत्यारालाई सार्वजनिक गरेपछि पोष्टमार्टमपश्चात शव बुझेर अभिभावकले लगेका छन् ।

पक्राउ गरिएका रामकुमारलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !