​भन्ने ‘राम’ हो, गर्ने काम हो

मंसिर १० गतेको पहिलो चरण निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । सरकारमा नरहेका दललाई निकै चर्काे गरी चुनाव लागिसकेको छ । तर, सरकार नेतृत्वकर्ता नेपाली  कांग्रेस भने जे–जसरी भए पनि मंसिर १० र २१ को तिथि सार्ने उपायको खोजीमै व्यस्त रहेको सहजै अनुमान गर्न सकिन्छ । धेरैले निकै अघिदेखि अनुमान गरेझैं सर्वाेच्चले चुनावलाई असर पर्ने गरी निर्वाचन आयोगलाई आदेश दिइसकेको छ । नेपालको सर्वाेच्च अदालतले व्यवहारवादको सिद्धान्तलाई स्वीकार गरेको धेरै उदाहरण छन् । त्यसैगरी, राजनीतिक संक्रमणकालमा कतिपय विषयलाई न्यायिक निरुपणको भन्दा पनि राजनीतिक निर्णयको आधारमा अघि बढाउँदा उपयुक्त हुने निष्कर्ष पनि धेरै पटक यो अदालतले निकालिसकेको छ ।

फेरि पनि प्रश्न के उठ्छ भने के सर्वाेच्च अदालत नै निर्धारित समयमा चुनाव नहोस् भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्दै छ ? त्यस्तो निचोड निकाल्नु अवश्य पनि गलत हुन्छ । तर, केचाहिँ ढुक्कसँग भन्न सकिन्छ भने नेपाली कांग्रेसलगायत केही दल जसरी हुन्छ चुनाव रोक्ने पक्षमा कसरत गरिहेका छन् । उनीहरूको पहिलो र सहज रोजाइ भनेको निर्वाचन आयोगलाई सर्वाेच्चले अंकुश लगाइदेओस् भन्ने नै हो । यता आमनेपाली जनता भने त्यसो नहोस् भन्ने चाहन्छन् । हुन पनि कुनै दलले चुनावी परिणाम आफ्नो पक्षमा नआउने र आफूविरुद्धको गठबन्धनले सहज जित हासिल गर्ने देखेपछि थापेको च्याँखेलाई अदालतले गम्भीरतापूर्वक नलिएकै राम्रो हुन्छ भन्ने आमटिप्पणी सान्दर्भिक छ । यदि, अन्यथा भयो भने उत्पन्न हुन सक्ने परिस्थितिको आकलन गर्न पनि जरुरी छ । 

आखिर निर्वाचन आयोग मंसिर १० र २१ मा चुनाव सम्पन्न गराएरै छाड्ने योजनासाथ जसरी क्रियाशील छ त्यसले के स्पष्ट देखाउँछ भने कुनै ठूलो भवितव्य नभए चुनाव हुन्छ । तर, नेपाली कांग्रेसलगायत कतिपय दल जसरी हुटिट्याउँले सगर थामिहाल्छ नि भनेर घातक हुने निश्चित छ । चुनावका लागि आवश्यक तयारी गर्नुभन्दा आखिर अदालतले रोकिहाल्छ भन्दै अन्य विषयमा आफूलाई केन्द्रित गराइरहेका छन् । त्यो परिस्थिति निर्माण हुने देखिँदैन । मानौं चुनाव रोकिएछ भने पनि यसरी आफू हार्ने चुनाव नगराएर लोकतन्त्रको खिल्ली उडाएको आरोप मात्र कांग्रेसलाई लाग्दैन बरु अझ बढी अलोकप्रिय बन्न सक्छ । त्यसैले सहज वातावरणमा चुनाव हुन दिने र स्वच्छ प्रतिस्पर्धामा उत्रने निर्णय नै सबैका लागि हितकारी बन्नेछ । नत्र जनताले भन्न सक्ने ‘राम राम’ मात्र हो काँध कसैले थाप्दैन ।

टिप्पणीहरू