विदेशमा बितेका,हराएका र अलपत्र परेकालाई कसरी उद्धार गर्ने ?

विदेशमा बितेका,हराएका र अलपत्र परेकालाई कसरी उद्धार गर्ने ?

प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले वैदेशिक रोजगारमा गएका र उतै अलपत्र परेका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल बनाउन माग गरेका छन् । सांसदहरु देवेन्द्र पौडेल,विमलप्रसाद श्रीवास्तवलगायतले गैरकानुनी ढंगले विदेश गई मृत्यु भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा समेत विशेष केन्द्रित हुन सरकारलाई सचेत गराउनुभएको छ ।

आज संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैरकानुनी ढंगले गएका तर विभिन्न देशमा बेपत्ता भएका नागरिकहरुको खोजी र पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले एक वर्ष बितिसक्दा समेत उतै निधन भएका नेपालीको शव ल्याउने व्यवस्था नभएकाले त्यस्तो अवस्था आउन नदिन सरकारले आवश्यक संयन्त्रको निर्माणमा ढिलाई गर्न नहुने भन्दै स्पष्ट पार्नुभएको छ ।

समितिको सभापतिसमेत रहनु भएका सांसद श्रीवास्तवले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराउनु भएको छ । उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखीकरण कार्यक्रमसमेत सञ्चालन गरिरहेको समितिलाई जानकारी गराउनुभयो । उहाँले भिजिट भिसामा गएका नेपालीहरुको भने मन्त्रालयसँग आबद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न समस्या रहेको उल्लेख गर्नुभएको छ ।

सचिव गौतमले सरकारले श्रम स्वीकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने नगरेको भन्दै स्पष्ट पार्नुभएको छ ।

टिप्पणीहरू