खाइरहनलाई खुइखुइ

कर्मचारीको अवकाश ५८ वर्ष उमेरको आधारमा गर्न नहुने माग राख्दै धर्नामा बस्दै आएका नेपाल राष्ट्र बैंकका दुई युनियनका कर्मचारीले श्रम ऐन २०७४ को ठाडो उल्लंघन गरेका छन् । उक्त ऐनबमोजिम आफ्नो अस्तित्व राखेका ती युनियनले सोही ऐनको बर्खिलाप गर्दा पनि चाल पाएका छैनन् । श्रम ऐनको खण्ड ६७ दफा ८ बमोजिम स्थापित र क्रियाशील बैंकका एमाले र कांग्रेस समर्थित कर्मचारी युनियनले सञ्चालन गरेको गैरकानुनी धर्नाले उनीहरूको धोती खुस्केर भित्रको वस्तुसमेत देखिएको छ । जसकारण सोही ऐनको दफा १४७ को ठाडो उल्लंघन भएको व्यवस्थापनले बताएको छ ।

उक्त ऐनको दफा १४७ मा अनिवार्य अवकाश व्यवस्था रहेको छ । जसमा नियमित रोजगारीमा रहेको श्रमिकले ५८ वर्षको उमेर पूरा भएपछि रोजगारीबाट अनिवार्य अवकाश पाउने स्पष्ट व्यवस्था गरिएको छ । तर, निजी स्वार्थबाट प्रेरित युनियनका पदाधिकारीले महिनौंदेखि सञ्चालन गर्दै आएको दुईघन्टे धर्नाको मूल उद्देश्य कर्मचारीको अवकाश ५८ वर्षको आधारमा हुन नहुने भन्ने छ ।

अर्कोतर्फ, नेपाल राष्ट्र बैंकले इजाजत दिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा समेत सोही ऐनबमोजिम अवकाश हुने व्यवस्था छ । सरकारी संस्थानका रूपमा अन्यत्रझैं कर्मचारी सञ्चयकोषमा पनि कर्मचारीको अवकाश ५८ वर्षको उमेरका आधारमा मात्र हुने गरेको छ । न्याय क्षेत्र र त्रिभुवन विश्वविद्यालयमा भने नेपाल सरकार र संवैधानिक अंगका कर्मचारीको ५८ वर्षको उमेरको आधारमा हुने अवकाशको व्यवस्थाभन्दा बढी ६३ र ६५ वर्ष रहेको छ ।

टिप्पणीहरू