यशोदाहरूलाई कत्रो आपत !

बहालवाला मन्त्रीलाई मोसो दल्छौं भन्दै अस्ति आइतबार एकहुल सिंहदरबारभित्र पस्यो । घन्टौं लाइन लागेर भित्रबाट पास मगाएर उनीहरू भित्र छिर्दा मन्त्री गायव ! मन्त्रीविरुद्ध उनीहरूले त्यहीँ नाराबाजी गर्न थाले र उल्टै प्रहरीले उनीहरूलाई लाठो लगाएर खेद्यो ।

यस्तो विरहलाग्दो दृश्य देखिएको हो भूमिसुधार मन्त्रालयमा । त्यहाँको कमाण्ड शाहीकालीन सहायकमन्त्रीसमेत भएका गच्छदारका ‘यार’ गोपाल दहितले सम्हालिरहेका छन् । उनैले हो मुक्त कमैयाको पेटमा लात बजारेर तिनको नाममा आएको १८ करोड रकम हजम गरेपछि मुक्त कमैया आन्दोलित भएका । र, उनीहरू मन्त्रीलाई मोसो दल्छौं भन्दै घण्टौ लाइन लागेर सिंहदरवारभित्र पसे । बिहान ११ बजे २० जनाको समूहमा आएका मुक्त कमैया सिंहदरबारस्थित मन्त्री दहितको कार्यकक्षमा पुग्दा उनलाई प्रहरीले त्यहाँबाट भगाइसकेको थियो । उसो त मन्त्री दहित भूमाफियासँग चर्को रकम असुलेर पार्टीलाई बदनाम गराएको आरोप पार्टी पंक्तिभित्रैबाट लाग्न थालेको छ ।

विश्वेन्द्र पासवानकै शैलीमा यसअघि मन्त्री दहितले दाङका प्रमुख जिल्ला गजेन्द्रबहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख (एसपी) दुर्गा सिंहलाई आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा आरामदायी गाडी र झन्डाको व्यवस्था नगरेको भन्दै झाँको झारेका थिए । कांग्रेसमा विलय भएको गच्छदारको तर्फबाट प्रत्यक्षतर्फ पाँच सिटमध्ये जनक चौधरी, गोपाल दहित, रामजनम चौधरीसहित एक सिट गच्छदार आफैंले राखेर नाम पठाएका छन् । निवर्तमान सांसद, सुमित्रा चौधरी, पार्टी महासचिव भारतेन्द्र मल्लिकहरूको नाम सिफारिस गरिएको छ । यसअघि मोटो दाम चढाएर सांसद बनेका सेक्सोलोजिस्ट सुवोधकुमार पोखरेल, गीता राना, रोगले थलिएका र बूढा मान्छे भए पनि सांसदका हरेक बैठकमा सक्रिय रूपमा उपस्थिति जनाउने डा. बाबुराम पोखरेलहरूलाई बिल्लीबाठ पारिएको छ ।

पोखरेल तिनै व्यक्ति हुन् जसले गच्छदारको पार्टी सञ्चालनका लागि उनले एउटा भवन नै विजयलाई चढाएका थिए । गच्छदारको गद्दारी कतिसम्म छ भने यसअघि मोटो रकम बुझेर सांसद बनाइएकी गीता रानाको अचेल फोन नै उठाउन छाडेका छन् । गीता समानुपातिक कोटामा भए पनि÷नभए पनि कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्न तम्तयार छिन् तर तारन्तार फोन सम्पर्क गर्दा गच्छदारको फोन उठ्दैन । गच्छदारबाट सिफारिस पाउन सकेकी छैनन् । यो बीचमा कांग्रेसका शीर्षस्थ नेता भेटेकी पनि हुन्, कांग्रेस नेताबाट गच्छदारकै सिफारिस लिएर आउनुहोस् भन्दै फर्काउने गरेको गुनासो उनले निकटस्थहरूसँग पोख्ने गरेकी छन् ।

यता, गच्छदारको कारण राजनीतिक भविष्य नै चौपट बन्नेमा सोही पार्टीबाट राज्यमन्त्री बनेकी यशोदाकुमारी लामाहरू छन् । उनको राजनीतिक भविष्य नै गच्छदारहरूले सिध्याइदिएका चर्चासमेत गच्छदारकै पार्टीका मान्छेले गर्न थालेका छन् । राज्यमन्त्री बनाएको भए पनि गोपाल दहितले केही अधिकार नदिएर पेन्डुलम बनाइदिएपछि लामाले पार्टीभित्रैबाट संघर्षको तयारी थालेको बुझिन्छ । यता, गच्छदारका कारण पेन्डुलम बनेका पूर्वविज्ञानमन्त्री तथा बिबिसी नेपाली सेवामा कार्यरत महेश आचार्यका ससुरा शिवलाल थापा, भानु चौधरीहरूसम्म सोनम शेर्पाहरूसँग मिसिएका छन् । गच्छदार कांग्रेसमा विलय भएसँगै बहुमत सदस्य बोकेर सोनमले नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई पुनर्जीवन दिने तयारी गरिरहेका छन् । निर्वाचन आयोगमार्फत गच्छदारकै पार्टीको ब्यानरमा राजनीति गर्ने सोनमहरूको तयारी छ । 

टिप्पणीहरू