​कांग्रेसलाई दुखेका कुरा

विराटनगरमा बसेर कांग्रेस नेता शेखर कोइराला भन्दै छन्, ‘वाम एलाइन्सले मुलुकमा राम्रै बहुमत ल्याउने खतरा देखियो ।’ स्रोतका अनुसार उनी मधेसीसँग गठबन्धन बन्न नसकेकोमा निकै दुःखी छन् । मधेसीलाई देउवाले ध्यान नदिएको उनको विश्लेषण छ ।

संविधान संशोधनका लागि संसद्मा पटक–पटक प्रस्ताव दर्ता गरियो । अनेक खालका काम भए तर आखिर मधेसी कांग्रेससँग खुसी त रहेनछन् भन्ने ठहर उनको रहेको बताइन्छ । अब सबैभन्दा बढी आशा गरेको २ नम्बर प्रदेशमा समेत कांग्रेसलाई गाह्रो भएको छ । उपेन्द्र यादवले बरु राम्रो नतिजा ल्याउने भए भन्ने चिन्ता उनले व्यक्त गर्दै रहेको बुझिएको छ । भारतसँग पनि कोइरालाको निकै ठूलो गुनासो छ । स्रोतका अनुसार आफ्ना निकटस्थहरूसँग उनी भन्छन्, ‘भारतले पनि अनावश्यक हस्तक्षेप ग¥यो र कांग्रेसको अन्ततः यो हालत भो, पार्टी बदनाम भो । एमाले र माओवादीबीच तालमेलमा समस्या होला भन्ने थियो तर त्यस्तो देखिएन, बरु हाम्रैमा पो धेरै सकस भो ।’

उता भोजपुरमा भने उपेन्द्र यादवको फोरमका लागि कांग्रेसले एक सिट छाडिदिएको छ । उपेन्द्र लामो समय मोरङ– ५, सुनसरी–४ वा सप्तरी–२ कहाँबाट उठ्ने भन्नेमा अन्योल थिए । उनी उठ्ने मोरङको क्षेत्रमा एमाले–माओवादी गठबन्धनबाट शिवकुमार मण्डल उठ्दै छन् भने सुनसरी–५ मा कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई उठाउने भएको छ । त्यहाँ ३५ हजार पहाडेमूलको मत छ, जहाँ स्थानीय चुनावमा सबै एमालेले जितेको हो । त्यस्तै, २० हजार मुस्लिम मत छ र त्यत्तिकै संख्यामा यादव समुदायको मत छ ।

यसअघि उपेन्द्र त्यही क्षेत्रबाट उठेका थिए । अहिले जफर जमालीलाई प्रदेशसभामा उठाएर उपेन्द्रले आफू केन्द्रीय संसद्मा उठ्ने तयारी गरेका हुन् । सप्तरी–२ मा यादवको १० हजार मत छ । जातीय रूपमा यादवहरू बढी भएको यो क्षेत्रमा राजविराज नगरपालिका पनि पर्छ । शरत्सिंह भण्डारी बर्दिबासभन्दा दक्षिणबाट उठ्ने भएका छन् । डेमोक्रेटिक एलायन्स मधेसमा राजपाले दुई तिहाइ र देशभर एकतिहाइ माग गरेपछि भाँडिएको हो । बाबुरामलाई कांग्रेसले गोर्खामा सघाइरहेको छ । जबकि प्रचण्ड र ओलीसँग बाबुरामले पार्टी एकताको कुरा गर्दाचाहिँ अनिष्ट भो भन्दै वाम अधिनायकत्वको सम्भावना त्यही कांग्रेसले देख्दै थियो । 

टिप्पणीहरू